कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालिका हत्याका अभियुक्त समातिएनन्

रवीन्द्र उप्रेती

महाेत्तरी — औरही नगरपालिकामा दुधे बालिकाको अपहरणपछि हत्या भएको तीन साता बित्दा पनि प्रहरीले अपराधी पक्राउ गर्न सकेको छैन । प्रहरीले घटना भएदेखि नै अपराधीको खोजी जारी रहेको बताउँछन् ।

बालिका हत्याका अभियुक्त समातिएनन्

औरही उत्तरको बर्दिवासदेखि दक्षिणको भारतीय सीमासम्म प्रहरी र सशस्त्र प्रहरीलाई व्यापक रूपमा परिचालन गरी अपराधीको खोजी गरिरहेको छ । सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको सुरक्षा स्रोतको दाबी छ । यसक्रममा प्रहरीले शंकास्पद दर्जन बढीलाई सोधपुछपछि छाडेको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले अपराधीको खोजीमा स्थानीयले समेत प्रहरीलाई सघाएकाले अपराधी धेरै दिन उम्कन नसकने दाबी गर्छन् । अपराधीको तत्कालै पहिचान र सीसीटीभी फुटेजसमेत प्राप्त भइसकेकाले अब पक्राउ पर्न मात्र बाँकी रहेको एसपी कार्कीको भनाइ छ । ‘अपराधीको हुलिया र पहिचान खुलिसकेकाले अब धेरै दिन लुकिछिपी बस्न सक्दैन,’ कार्कीले भने ।

नगिरपालिकाको वडा नम्बर १ स्थित औरही बजारका फैन्सी तथा कस्मेटिक पसल गर्ने संतोष चौधरीकी ९ महिने छोरी सोनाक्षीको रक्षाबन्धनको दिन भदौ १० गते अपरान्ह पसलबाटै अपहरण भएको थियो । अपहरण भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले गरेको उनकै पसलमा रहेको सीसीटीभी फुटेजबाट खुलेको थियो ।

बालिकाको शव भोलिपल्ट अपरान्ह भंगाहा नगारपालिका–७ स्थित फेकु चौधरीको आँप बगैंचामा हत्या गरी फालेको अवस्थामा फेला परेपछि औरही शोकमा डुवेको थियो । प्रहरीले भने साहलाई पक्राउ गर्न कुनै कसर बाँकी नराखेको दाबी गर्छन् । ऊ लुक्न सक्ने सम्भावित सवै ठाउँमा खोजी–निगरानीदेखि छापा मार्ने कामसमेत गर्दै आएको प्रहरीले जनाएको छ ।

गौशालाको भरतपुरमा रहेको मामाघर, हतिसर्वामा रहेकी फुपूको घर, लोहरपट्टिको भमरपुरामा रहेकी २ दिदीबहिनीको घर, धनुषाकी सानिमादेखि बलवा सरपल्लोमा घर भएकी बहिनीको नन्दको घरमासमेत प्रहरीले खोजतलास गरेको थियो । ती स्थानलाई अहिले पनि सुरक्षा निगरानीमा राखेको प्रहरी उपरीक्षक कार्कीले जनाए ।

यस अतिरिक्त साहको पुराना ‘हिस्ट्री’, गतिविधि र बानीबेहोरा पत्तो लगाएर प्रहरीले काठमाडौंको गौशालादेखि भारतका काउन्टरपार्टससँग समन्वय गरी खोजतलास र सूचना आदानप्रदान जारी राखेको छ । खोजतलासका क्रममा साहसँग हुलिया मिल्ने अहिलेसम्म १५/१६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरी छाडेको कार्कीले जनाए ।

यसक्रममा साह लागूऔषधको कुलतमा फसेको रहस्य खुलेको छ । अपहरणको २ दिनअघि (शुक्रबार) जलेश्वरपारिको सीमावर्ती श्रीखण्डी भित्री बजारस्थित एक औषधि पसलबाट साहले दुव्र्यसनीले प्रयोग गर्ने ‘नाइट्राभेट’ ट्यावलेट लिएर आएको रहस्य खुलेको छ । यसैका आधारमा सुरक्षाकर्मीले दुव्र्यसनी लुक्नसक्ने सम्भावित स्थानमा खोजी र निगरानी बढाएको छ ।

साहका नातागोतामा पर्नेलेसमेत उसको लागूऔषध सेवन गर्ने कुलतले गर्दा परिवारदेखि इष्टमित्र र नाता सम्बन्धितको घरमा केही समयले आउजाउ बन्द भएको जनाएका छन् । जसको घरमा गयो उसैको चोरी गर्ने हँुदा साहलाई कसैले मन नपराउने गरेको आफन्तजनले प्रहरीलाई बताएका थिए । यस्ता कुलतले गर्दा साह विगत ८/९ महिनादेखि घर छाडेर कहिले काठमाडाैं कहिले जनकपुर लगायतका ठाउँमा बरालिदै हिँड्ने गरेको स्थानीयको भनाइ छ । ती स्थानमा पनि प्रहरीले खोजी जारी राखेको कार्कीले जनाए । साहले जहाँ पुग्यो त्यहाँ टापटिपे चोरी गर्दे आएको औरहीस्थित स्थानीयको भनाइ छ ।

‘तर अपहरण र हत्या गर्ला भन्ने कसैले कल्पनासमेत गरेको थिएन,’ औरही १ का वडाध्यक्ष राजकिशोर चौधरीले भने । प्रहरीदेखि स्थानीयसम्मले खोजी गर्दासमेत अहिलेसम्म अपराधी फेला नपर्नु आफैंमा रहस्य बनेको छ ।

प्रकाशित : आश्विन २, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?