दुई सय ऋण तिर्न नसक्दा जेल गएका खंगलाई उच्च अदालतमा हाजिर गराउन आदेश  

श्यामसुन्दर शशि

जनकपुर — साहुलाई दुई सय तिर्न नसक्दा एक वर्षका लागि जेल चलान गरिएका जनकपुर उपमहानगर पालिका १८ कुवा रामपुरका ६० वर्षिय राधाकृष्ण खंग(खत्वे) लाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश उच्च अदालत जनकपुरले सुनाएको छ ।

आफ्नो समस्या सुनाउन शनिबार आयोजित पत्रकार सम्मेलनमा राधाकृष्ण खंग । तस्बिर : श्यामसुन्दर शशि/कान्तिपुर

खंगलाई गैरकानूनी थुनामा राखिएको उल्लेख गर्दै प्रदेश २ मुख्य न्यायाधिवक्ताको कार्यालयले सोमबार उच्च अदालत जनकपुरमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएको थियो ।

मंगलबार निवेदनमाथि भएको बहस पश्च्यात् उच्च अदालत जनकपुरका न्यायाधिश ध्रुवराज नन्दको एकल इजलासले खंगलाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउन विपक्षीहरु धनुषा जिल्ला अदालत,जिल्ला प्रहरी कार्यालय धनुषा ,जिल्ला काराकार महोत्तरी र साहु बिक्रु भन्ने बिक्रम यादवको नाममा आदेश जारी गरेको हो । निवेदनमाथि प्रदेश २ का मुख्यन्याधिवक्ता दीपेन्द्र झा स्वयंले बहस गरेका थिए ।

न्यायाधिश चन्दले सुनाएको आदेशमा बन्दीसंग सम्बन्धित लेनदेन मुद्दा र बिगो मुद्दाको सक्कल मिसिल सहितका कागजात साथै राखी उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत विपक्षी नम्बर १ ( धनुषा जिल्ला अदालत, धनुषा, जनकपुर)ले जवाफ पेस गर्नु र विपक्षी नम्बर २ र ३ (जिप्रका धनुषा र जिल्ला कारागार महोत्तरी)ले बन्दी राधाकृष्ण खंग (खत्वे)लाई उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत लिखित जवाफ साथै उपस्थित हुन आउनु भनि विपक्षीहरुको नाउमा उच्च अदालत नियमावली २०७३ को नियम ३७ वमोजिम यो आदेश जारी गरी दिएको उल्लेख छ ।

प्रदेश २ का मुख्यन्याधिवक्ता दीपेन्द्र झा राधाकृष्ण खंग कारागारमुक्त हुने विश्वास व्यक्त गरेका छन् । कान्तिपुरसँगको भेटमा उनले भने, ‘देवानी संघीताको धारा ४८१ मा सावा भन्दा बढी व्याज लिन नपाउने व्यवस्था छ । दुई सयको सावा र ब्याज १ लाख ६५ हजार कसरी भयो ? सम्मानित अदालतले खंगलाई न्याय दिन्छ भने मेरो विश्वास हो ।’

जनकपुर उपमहानगर पालिका १८ कै बिक्रु भन्ने बिक्रम यादवसँगको लेनदेन मुद्दामा जिल्ला अदालत धनुषाले जेल सजाय सुनाएको राधाकृष्ण खंग (खत्वे) आईतवार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए । खंगले गाउँकै बिक्रु भन्ने बिक्रम यादवसंग २०४६ साल श्रावण १५ गते घर खर्चको लागी १ हजार ऋण लिएको तथा ९ महिना पछि ८ सय चुक्ता गरी सकेको बताएका थिए ।

रिक्सा चलाएर जीवन यापन गर्ने खंगको परिवारमा श्रीमति, दुई छोरा र दुई छोरी छन् । विवाह पछि दुबै छोरी ससुरामा छिन् । दुबै छोरा अ–आफ्ना परिवार सहित छुट्टै बस्छन् ।

प्रकाशित : आश्विन २, २०७५ १७:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मलेसियामा ४ नेपालीसहित ७ जनाको रहस्यमय मृत्यु 

१३ नेपाली उपचाररत
घटनाबारे बुझ्दै छौं : नेपाली दूतावास
कान्तिपुर संवाददाता

क्वालालम्पुर — मलेसियामा चार जना नेपालीसहित सात जनाको रहस्यमय मृत्यु भएको छ । उनीहरूको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हुन सक्ने आंशका गरिएको छ । 

मलेसियाको अंग्रेजी दैनिक द स्टारको अनलाइन संस्करणअनुसार मृत्यु हुनेमा चार नेपाली, एक बंगली, एक भारतीय र एक जना स्थानीय गरी सात जनाको मृत्यु भएको हो।

त्यस घटनामा थप १३ नेपालीसहित दुई बंगलादेशी, एक स्थानीय नागरिक बिरामी भएका छन्। उनीहरूको क्वालालम्पुर, सुंगाइबुलो, आम्पाङ, बान्तिङ र क्लाङस्थित अस्पतालमा उपचार भइरहेको अनलाइनले जनाएको छ।

‘विषाक्त मदिरा सेवन गर्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका छ,’ सेलाङरका प्रहरी अधिकारीको भनाइ उद्धत गर्दै अनलाइनमा उल्लेख छ, ‘मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।’

मृतक र बिरामीको पूरा विवरण सार्वजनिक गरिएको छैन।

क्वालालम्पुरस्थित नेपाली दूतावासले घटनाबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ। घटनाबारे छानबिन भइरहेको जनाइएको छ।

प्रकाशित : आश्विन २, २०७५ १७:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT