दुई सय ऋण तिर्न नसक्दा जेल गएका खंगलाई उच्च अदालतमा हाजिर गराउन आदेश  

श्यामसुन्दर शशि

जनकपुर — साहुलाई दुई सय तिर्न नसक्दा एक वर्षका लागि जेल चलान गरिएका जनकपुर उपमहानगर पालिका १८ कुवा रामपुरका ६० वर्षिय राधाकृष्ण खंग(खत्वे) लाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश उच्च अदालत जनकपुरले सुनाएको छ ।

दुई सय ऋण तिर्न नसक्दा जेल गएका खंगलाई उच्च अदालतमा हाजिर गराउन आदेश  

खंगलाई गैरकानूनी थुनामा राखिएको उल्लेख गर्दै प्रदेश २ मुख्य न्यायाधिवक्ताको कार्यालयले सोमबार उच्च अदालत जनकपुरमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएको थियो ।


मंगलबार निवेदनमाथि भएको बहस पश्च्यात् उच्च अदालत जनकपुरका न्यायाधिश ध्रुवराज नन्दको एकल इजलासले खंगलाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउन विपक्षीहरु धनुषा जिल्ला अदालत,जिल्ला प्रहरी कार्यालय धनुषा ,जिल्ला काराकार महोत्तरी र साहु बिक्रु भन्ने बिक्रम यादवको नाममा आदेश जारी गरेको हो । निवेदनमाथि प्रदेश २ का मुख्यन्याधिवक्ता दीपेन्द्र झा स्वयंले बहस गरेका थिए ।


न्यायाधिश चन्दले सुनाएको आदेशमा बन्दीसंग सम्बन्धित लेनदेन मुद्दा र बिगो मुद्दाको सक्कल मिसिल सहितका कागजात साथै राखी उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत विपक्षी नम्बर १ ( धनुषा जिल्ला अदालत, धनुषा, जनकपुर)ले जवाफ पेस गर्नु र विपक्षी नम्बर २ र ३ (जिप्रका धनुषा र जिल्ला कारागार महोत्तरी)ले बन्दी राधाकृष्ण खंग (खत्वे)लाई उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत लिखित जवाफ साथै उपस्थित हुन आउनु भनि विपक्षीहरुको नाउमा उच्च अदालत नियमावली २०७३ को नियम ३७ वमोजिम यो आदेश जारी गरी दिएको उल्लेख छ ।


प्रदेश २ का मुख्यन्याधिवक्ता दीपेन्द्र झा राधाकृष्ण खंग कारागारमुक्त हुने विश्वास व्यक्त गरेका छन् । कान्तिपुरसँगको भेटमा उनले भने, ‘देवानी संघीताको धारा ४८१ मा सावा भन्दा बढी व्याज लिन नपाउने व्यवस्था छ । दुई सयको सावा र ब्याज १ लाख ६५ हजार कसरी भयो ? सम्मानित अदालतले खंगलाई न्याय दिन्छ भने मेरो विश्वास हो ।’


जनकपुर उपमहानगर पालिका १८ कै बिक्रु भन्ने बिक्रम यादवसँगको लेनदेन मुद्दामा जिल्ला अदालत धनुषाले जेल सजाय सुनाएको राधाकृष्ण खंग (खत्वे) आईतवार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए । खंगले गाउँकै बिक्रु भन्ने बिक्रम यादवसंग २०४६ साल श्रावण १५ गते घर खर्चको लागी १ हजार ऋण लिएको तथा ९ महिना पछि ८ सय चुक्ता गरी सकेको बताएका थिए ।


रिक्सा चलाएर जीवन यापन गर्ने खंगको परिवारमा श्रीमति, दुई छोरा र दुई छोरी छन् । विवाह पछि दुबै छोरी ससुरामा छिन् । दुबै छोरा अ–आफ्ना परिवार सहित छुट्टै बस्छन् ।

प्रकाशित : आश्विन २, २०७५ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?