१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निर्दोष समाएको भन्दै प्रहरी घेराउ

शिव पुरी

रौतहट — प्रहरीले निर्दोषलाई पक्रेर मुद्दा चलाएको भन्दै स्थानीयले सोमबार यहाँको बृन्दावन नगरपालिकास्थित बिश्रामपुरमा रहेको प्रहरी चौकी घेराउ गरेका छन् ।

निर्दोष समाएको भन्दै प्रहरी घेराउ

चन्द्रपुर नगरपालिकास्थित डुमरिया क्षेत्रमा जिल्लाबाट सादा पोसाकमा खटेको प्रहरीको टोलीले आइतबार साँझ हतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । दुबैलाई झूटो आरोपमा प्रहरीले फसाएको स्थानीयको आरोप छ ।

बृन्दावन नगरपालिकाको बिश्रामपुर गाउँबाट चन्द्रनिगाहपुर आउन लागेका दोजेलाल पटेलको मोटरसाइकलमा सहयोग मागेर आएका सन्तोष पटेलको झोलाबाट प्रहरीले नलकटुवा पेस्तोल फेला परेपछि प्रहरीले दुबैलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गौर लगेको थियो । आफूलाई नेपाल प्रहरीको घुमुवा बताउने चन्द्रपुर नगरपालिका–१० का रामबाबु पटेलले सन्तोषलाई झोला दिएको र प्रहरीलाई खबर गरेर पक्राउ गर्न लगाएको भन्दै स्थानीयले बिहान झन्डै एक घण्टा चौकी घेराउ गरे ।

सन्तोषले उक्त हतियार रामबाबुकै भएको बताएका छन् । घटनापछि स्थानीयले रामबाबुलाई समेत नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । उनलाई इलाका प्रहरी गरुडा लैजाने क्रममा प्रहरीसित सामान्य विवाद भएको थियो ।

पक्राउ परेका दोजेलाल र सन्तोष निर्दोष भएको स्थानीयको दाबी छ । दुबैलाई रामबाबुले फसाएको आरोप छ । दुबैलाई नछाडेसम्म राबबाबुलाई गरुडा लैजान नदिने स्थानीयले अडान राखेपछि केही समय विवाद भएको थियो ।

गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले रामबाबुलाई जिल्ला प्रहरी गौर पठाइएको बताए । उक्त हतियार रामबाबुकै भएको स्थानीयको भनाइ छ । बृन्दावन नगरपालिकाका मेयर रामस्नेही राय यादवले प्रहरीको घुमुवा भनेर रामबाबुले गाउँका धेरैसित रकम असुल्ने गरेको बताए ।

‘सोझो मानिसलाई झोलामा हतियार राखेर उल्टै प्रहरीलाई खबर गरी पक्राउ गर्न लगायो,’ उनले भने, ‘जसले पैसा दिदैन त्यसलाई हतियार बोकाएर फसाउने काम गर्छन् । यसको राम्ररी अनुसन्धान हुनुपर्छ ।’ पक्राउ परेका दुबै निर्दोष भएको भन्दै मेयर यादव जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

रामबाबुले स्थानीयसमक्ष प्रहरीले बरामद गरेको हतियार आफ्नो भएको स्विकारेका थिए । प्रहरीले पक्राउ गरेका दुबै जनालाई हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाएको छ । जिल्ला प्रहरीका डीएसपी महेन्द्र मरासिनीले पक्राउ परेका दुबै जना निर्दोष हुन् वा होइन भन्ने अनुसन्धान भइरहेको बताए ।

‘हामी घटनाको अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘निर्दोषलाई कुनै हालतमा कारबाही हुन्न ।’ रामबाबुमाथि पनि सोमबार जिल्ला अदालतबाट म्याद थप गरी मुद्दा चलाइएको प्रहरीले जनायो ।

प्रकाशित : आश्विन ३, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?