२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चालक आन्दोलनले यातायात ठप्प

एल पवन यादव

काठमाडौँ — सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबार आहवान गरेको अनिश्चितकालीन आन्दोलनले जनजीवन प्रभावित भएको छ ।

चालक आन्दोलनले यातायात ठप्प

कलैयाबाट चल्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन भएनन् । यहाँ बस, ट्रक, ट्यांकर, टेम्पो, ईरिक्सा समेत ठप्प रह्यो ।
पूर्व–पश्चिम राजमार्ग समेत दिनभर सुनसान रह्यो । सवारी साधन नचलेपछि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरू मर्कामा परेका छन् ।

आन्दोलनलाई सफल बनाउन ट्यांकर चालक भरत राउत कुर्मीको नेतृत्वमा २ दर्जन बढी चालक तथा सहचालकले मटिअर्वा–मानमथ सडक खण्डको उत्तर झिटकैयामा सडकमै टायर बालेर सरकारविरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

सरकारले सवारी ऐन संशोधन नगरेसम्म आन्दोलनलाई कडा बनाउँदै लैजाने चेतावनी चालकहसंचालनले दिएका छन । ‘सरकारले सवारी ऐनमार्फत चालकलाई अपराधी सरह व्यवहार प्रस्तुत गरेको छ,’ बरौनी काठमाडौं रुटमा पेट्रोल बोक्ने ट्यांकर चलाउँदै आएका चालक उद्धव प्रसाद यादवले भने, ‘हामीले जानेर कहिले मान्छे मार्दैनौं ।’ साँघुरो सडक र साना सवारी चालकको लापरवाहीले दुर्घटना हुने गरेको उनले दाबी गरे ।

रोकी राखेको ठूला सवारी साना सवारी आफैँ आएर ठोकिए पनि ठूला सवारीका चालकले कारवाहीको भागिदार बन्ने ? कहाँको न्याय हो यो ? चालकहसंचालनले सरकारसँग प्रश्न गरे । दुर्घटनामा दोषी देखिएका चालकलाई कारवाही हुनुपर्नेमा गल्ती नै नगर्ने चालकलाई सजायको भागिदार बनाउन कानुन ल्याउनु गलत भएको चालकहरूको भनाइ छ ।

सवारी दुर्घटनाको प्रमुख कारण साँघुरो र बिग्रेको सडक रहेको अर्का ट्यांकर चालक उमेश यादवले बताए । ‘सडकमा अट्न नसकेको बढदो सवारी चापलाई नियन्त्रण गर्ने काम सरकारको हो,’ उनले भने, ‘आफ्नो कमजोरी सरकारले हेर्दै नहेर्ने र चालकलाई मात्र दोषी देखाउने ।’ सरकारको गलत कदमलाई अब हामी चालकले सहदैनौं । ज्यान मार्ने अपराधी र सवारी दुर्घटनामा मर्ने व्यक्तिको घटनालाई एउटै दाजोमा राख्न नमिल्ने उनले बताए ।

सवारी चलाउने क्रममा लापरवाही देखिएका चालकलाई घटनाको अनुसन्धान गरेर कारवाही हुनुपर्छ । तर सबै चालकलाई एउटै दाजोमा राख्न मिल्दैन । तर दोषी चालकलाई कारवाही गर्ने कानुन नै अव्यावहारिक भएको चालकहरूको जोड छ ।

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका केन्द्रीय संयोजक बसन्त शर्माले सिमराबाट देशभरका चालकहरूलाई सम्बोधन गर्दै सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको वर्तमान कानुन सरकारले संशोधन नगरेसम्म आाफूहरूले सवारी नचलाउने घोषणा गरेका छन् । वर्तमान ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्मकैदसम्मको फैसला गर्ने व्यवस्था गरेको प्रति असन्तुष्टी जनाए ।

‘सवारी ऐन तुरुन्त सच्याउनुपर्छ,’ उनले भने, ‘ऐन नसच्याइएसम्म आन्दोलन रोकिदैन ।’ चाँडोभन्दा चाँडो कानुन नसच्याइए आन्दोलनका कार्यक्रमलाई अझ कडा बनाउने चेतावनी समेत उनले दिए ।

ऐन संशोधन नभएसम्म संघर्ष जारी रहने भन्दै समितिका सहसंयोजक अर्जुन अधिकारीले सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको कानुन संशोधन नभए चालक अनुमतिपत्र सरकारलाई बुझाएर पेसा परिवर्तन गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

समितिका सहसंयोजक अधिकारीले आन्दोलनका क्रममा गाडी चलाउनेहरूलाई कुनै अवरोध नगरिने भन्दै आाफूहरूको आन्दोलन आफ्नै लागि भएकाले सोचेर कदम चाल्न चालकहरूलाई आग्रह गरे । आन्दोलनका नाममा सडकमा उत्रने तथा जबर्जस्ती सवारी बन्द गर्न लगाउने आफूहरूको कार्यक्रम नरहेको अधिकारीले स्पष्ट पारे ।


बाराको सिमरामा भेला भएका सयौं सवारी चालकहरूले सरकारले कानुन संशोधनको माग पूरा नगरेसम्म आफूहरू गाडीको स्टेरिङमा नबस्ने घोषणा गर्दै सरकारको विरोध गरेका थिए । सवारी चालकहरूले सवारी थन्काएर आन्दोलन सुरु गरेपछि बारा, पर्सा, रौतहट लगायत प्रदेश २ मा सार्वजनिक सवारी सञ्चालनमा आउन सकेनन । सार्वजनिक सवारी नचल्दा सडक सुनसान भएको छ ।

चालक आन्दोलनको कारण देशभरका सार्वजनिक सवारी चलाउने चालकहरूले मंगलबारबाट सवारी नचलाउने घोषणा गरेका हुन् ।

ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले सवारी चालकको माग पुरा नभएसम्म यातायात नचलाएर सहयोग गर्न देशभरका सवारी चालकहरूसंग आग्रह समेत गरेको छ ।

प्रकाशित : आश्विन ३, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?