कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अध्यक्षको निर्देशनलाई चुनौती दिँदै फोरमका नेताहरु कालो दिन मनाउँदै

अवधेशकुमार झा

राजविराज — पार्टी अध्यक्ष उपेन्द्र यादवले कालो दिन नमाउन दिएको निर्देशन विपरीत संघीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताहरु सामाजिक सञ्जाल मार्फत् आफूहरु बुधबार कालो दिन मनाइरहेको बताएका छन् । 

अध्यक्षको निर्देशनलाई चुनौती दिँदै फोरमका नेताहरु कालो दिन मनाउँदै

फोरम अध्यक्ष यादवले मंगलबार राजविराजमा कालो दिन नमनाउने र संविधान दिवस मनाउने बेला पनि नभएको बताएका छन् । अध्यक्ष यादवको उक्त कुरालाई चुनौती दिँदै पार्टीकी केन्द्रिय उपाध्यक्ष रेणुकुमारी यादवले विभेदकारी संविधान संशोधन नहुञ्जेलसम्म आफूहरु असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउने बताएकी छन् ।


समाजिक सञ्जाल फेसबुकमा कालोपटी र कालो झण्डासहित आफ्नो फोटो समेत राख्दै उपाध्यक्ष यादवले लेखेकी छन्, ‘विभेदकारी संविधान संशोधन नहुञ्जेलसम्म असोज ३ लाई कालो दिनको रुपमा मनाउने ।’

उपाध्यक्ष यादव फोरम नेपालको तराई मधेश प्रादेशिक समितिकी अध्यक्ष समेत हुन् । उनको अध्यक्षतामा केहीदिन अघि बसेको प्रादेशिक कार्य सम्पादन समितिको बैठकले असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णय गर्दे कार्यक्रम सार्वजनिक गरेको थियो ।


तर अध्यक्ष उपेन्द्र यादवले मंगलबार राजविराजमा कालो दिन नमनाउन निर्देशन दिएपछि उपेन्द्र सहभागी कार्यक्रममै रेणुले भनेकी थिइन्, ‘अध्यक्षजी जनविश्वास र कार्यकर्ताको विश्वासमा खरो उत्रनुस् नभए जनताले साथ छोड्न सक्छन् ।’


‘फोरम नेपाल सरकारमा गएको तीन महिना भयो, खै भयो त संशोधन ?’ रेणुले भनिन्, ‘फोरम नेपाल झण्डा र गाडीका लागि सरकारमा गएको होइन्, दुईतिहाई पुर्‍याएर संविधान संशोधन गर्न सरकारमा गएको हो तर संशोधनको सिन्को भाँचिएको छैन् ।’

रेणुका छोरा तथा प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य अभिषेककुमार यादवले पनि फेसबुकमा संशोधन नहुन्जेलसम्म असोज ३ लाई कालो दिनकै रुपमा मनाउने बताएका छन् । फोरमका अन्य नेताहरुपनि आफुहरु असोज ३ लाई कालो दिनको रुपमा मनाईरहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : आश्विन ३, २०७५ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?