कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अंगरक्षकसहित 'कालो दिन' मनाउँदै प्रदेश मन्त्री

अवधेशकुमार झा

राजविराज — संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको राष्ट्रिय जनता पार्टी नेपालले बुधबार सप्तरी सदरमुकाम राजविराजमा कालो झण्डासहित बृहत प्रदर्शन गरेको छ ।

अंगरक्षकसहित 'कालो दिन' मनाउँदै प्रदेश मन्त्री

प्रदर्शनमा राजपाका महासचिव समेत रहेका प्रदेश नम्बर २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल समेत सहभागी भए ।

बिहानै राजविराज आएका मनत्री सोनल जिल्ला सबन्मय समितिका संयोजक प्रभाकर यादवको सरकारी निवासमा बसेका थिए । दिउँसो ३ बजे स्थानीय शिव मन्दिर अगाडिबाट कालो झण्डासहित प्रदर्शन सुरु भएपछि मन्त्री सोनल सशस्त्र प्रहरीका आफ्ना दुई अंगरक्षकसहित विरोध जुलुसमा सहभागी भएका थिए ।


प्रदर्शनमा प्रदेशसभा सदस्यद्वय बिदेश्वर यादव बिक्की, नेत्रबिक्रम साह, जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झा, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिषकुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवसहित जिल्लामा राजपाबाट निर्वाचित जनप्रतिनधीहरु समेत सहभागी भएका थिए ।


प्रदर्शन पश्चात स्थानीय जन–आन्दोलनचोकमा आयोजित कार्यक्रममा मन्त्री सोनलसहित राजपाका केन्द्रिय र जिल्ला स्तरका नेताहरुले मधेशी जनताको माग बमोजिम संविधान संसोधन नभएसम्म असोज ३ लाई कालो दिनकै रुपमा मनाउने बताए ।


सरकारी कार्यालयमा कालोझण्डा

राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार सप्तरी जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा गाडेका छन् । मधेशी जनतालाई दमन गरी ०७२ साल असोज ३ गते संविधान जारी गरिएको भन्दै राजपाले असोज ३ गते कालो दिन मनाउने कार्यक्रम अन्तरगत सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेको राजपाका सहमहामन्त्री गजेन्द्र मण्डलले बताए ।


बुधबार बिहानैदेखि सदरमुकाम राजविराजसहितका जिल्लाका प्रमुख बजारहरुमा राजपाका नेता कार्यकर्ताहरु कालोझण्डासहित प्रदर्शन गरेका छन् । प्रदर्शन र सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने कार्यक्रममा राजपाबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधीहरु समेत सामेल छन् ।


उनीहरुले विभिन्न स्थानीय तहको कार्यालयमा समेत कालो झण्डा गाडेका छन् । राजपाले कालो झण्डासहित प्रदर्शन गरिरहँदा जिल्लामा सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । अघिल्ला दिनहरु भन्दा बजार र ग्रामिण क्षेत्रमा सुरक्षाकर्मीहरुको उपस्थिती बाक्लो रहेको थियो ।


प्रकाशित : आश्विन ३, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?