कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

धान व्यापारीको ५ लाख लुटियो

महाेत्तरी — हतियारधारी समूहले मनरासिसवा नगरपालिका–२ का ४० वर्षीय विनोद चौधरीका साथबाट मंलबार ५ लाख रुपैयाँ लुटेको छ ।

धान व्यापारीको ५ लाख लुटियो

गौशाला नगरपालिका–१० स्थित सेलर मिलबाट धान बेचेर घरतर्फ फर्कंदै गरेका उनलाई मोटरसाइकलबाट पछ्याउँदै ३ जनाले गौशाला र वटौआको बीचमा पर्ने मडाहा खोलामा लुटपाट गरेको प्रहरीले जनाएको छ । 

पीडित चौधरीलाई उद्धृत गर्दै गौशालास्थित इलाका प्रहरीका निरीक्षक भोला भट्टले जनाएअनुसार समूहले चौधरी चढेको मोटरसाइकल लडाएर साथमा राखेको ब्यागबाट सबै रुपैयाँ लुटी लगेको थियो । लुटपाटपछि गौशाला प्रहरी कार्यालय पुगेका चौधरी अझै त्रासमा छन् । गौशाला नपा १० का विसुनदेव यादव लुटपाट हुँदाहँुदै घटनास्थल पुगेका थिए । उनी गौशाला बजारबाट टायरगाडा चढेर सोही बाटो हुँदै घरतर्फ जाँदै थिए । उनले लुटेराको हातमा पेस्तोल देखेको जनाए ।

‘मलाई देखनासाथ पेस्तोल तेस्र्याउँदै लुटेरामध्येको एक जनाले हल्ला नगर्न धम्की दिएपछि म पनि डराएँ,’ उनले भने । चौधरी र यादवसँग प्रहरीले घटनाबारे जानकारी लिन थालेको छ । उनीहरूसँग अपराधीको हुलिया र घटना विवरणबारे जानकारी लिइरहेको भट्टले जनाए ।घटना जानकारी लगत्तै एरिया घेराबन्दी गरी प्रहरीले जंगली क्षेत्रदेखि सर्लाही सीमासम्म खोजतलासका क्रममा फेला परेका शंकास्पद ४ जनालाई सोधपुछ गरिरहेको छ ।

महोत्तरीमा सडक लुटपाटको घटना यो पहिलो हैन । चैतदेखि असोजसम्मको अवधिमा महोत्तरीमा सडक डकैतीका ३ घटनामा ३५ लाख बढी नगद लुटिएको छ । गत चैत ८ गते चारकोसे झाडीको गौशाला रोडमा सूर्या चुरोटका डिलर श्यामराजा सिंहको गाडी घेरेर १२ लाख ९४ हजार लुटिएको थियो ।

त्यसपछि असार २६ गते जलेश्वरका लक्ष्मी र प्रभु बैंकबाट रुपैयाँ झिकेर फर्कंदै गरेका मनरासिसवा ६ का मनी ट्रान्सफर सञ्चालक सञ्जीव साहलाई जलेश्वर वर्दिवास सडक खण्डको सरपल्लो नजिकबाट नियन्त्रणमा लिई १७ लाख २५ हजार लुटेका थिए । तीनवटै घटनाका लुटेरा मोटरसाइकलमा आएका थिए भने लुटपाट व्यस्त सडकमा भएको घटनाक्रमले देखाएको छ ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?