कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हड्तालले जनजीवन प्रभावित

रवीन्द्र उप्रेती

महाेत्तरी — सरकारले जारी गरेको सवारी ऐन चालकमैत्री नभएको भन्दै यहाँका सवारी चालकको मंलबारदेखि सार्वजनिक आवागमन ठप्प पारेका छन् । लगातार दुई दिनदेखिको बन्दका कारण महोत्तरीलगायतका छिमेकी जिल्लाको जनजीवन प्रभावित छ ।

हड्तालले जनजीवन प्रभावित

जिल्लाका पूर्वपश्चिम राजमार्ग, हुलाकी सडक र वीपी राजमार्गमा विहानैदेखि सार्वजनिक सवारी गुडेनन् । जनकपुर अंचल बस चालक भलाई संगठनले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण यात्रु वस, हाइस, टाटासुमो मालवाहक ट्रकले सेवा दिन बन्द गरेपछि यात्रु आवागमनदेखि ढुवानी सेवासमेत ठप्प छ ।

वर्दिवासस्थित जिल्ला ट्राफिक कार्यालयका प्रमुख डिल्लीप्रसाद मैनालीका अनुसार मंलवारको तुलनामा बुधवार यात्रु बोकेका पूर्वका केही साना सवारीले वीपी राजमार्ग हुदै काठमाडौं गएका थिए । तर ती सवारीलाई वर्दिवास चोकमा निगरानी गरिरहेको स्थानीय चालक समुहले रोकेर आफनै पेसागत हकहितकालागि आह्वान गरिएको बन्दको अवज्ञा नगर्न आग्रह गरेकाले बन्द थप सशक्त हुने देखिएको छ ।


बन्दप्रति ऐक्यवद्धता जनाउदै निर्माण व्यवसायीका चालकले काम गर्न छाडेपछि पूर्वपश्चिम राजमार्गलाई भारतीय सीमा जोड्ने माईस्थान–गौशाला–समसी २७ किमी सडकको कालोपत्रेको काम रोकिएको छ । सडक परियोजना निर्देशक अर्जुन शिवाकोटीका अनुसार कालोपत्रेका लागि टिप्पर, ग्रेडर, रोलरसमेत आधा दर्जन गाडीका चालक काममा नआउँदा कालोपत्रेको काम बीचमै रोकिएको हो । चालकले अकास्मात काम रोक्दा ठेकेदार कम्पनी लामा डाँफे गोल्डेन गुड जेभीलाई दैनिक ५ लाख बढी घाटा ब्यहोर्नु परको शिवाकोटीले जनाए ।

नेपाली चालकको आन्दोलनका कारण भारतबाट हुने आयात ब्यापारसमेत प्रभावित बनेको मलिवारास्थित जलेश्वर भंसार कार्यालयले जनाएको छ । प्रमुख भन्सार अधिकृत केशव भण्डारीका अनुसार मंलवारदेखि भारतबाट पेट्रोलियमलगायत भारतीय सामान आयात नहुँदा दैनिक करोड बढी राजस्व घाटा भएको छ ।


जनकपुर अंचल चालक भलाई संगठनका कोषाध्यक्ष दिलिप साहले यातायात व्यवस्थासम्बन्धी २०४९ को संशोधित ऐनले गल्ती नगरे पनि चालकले अपराधी बन्नुपर्ने अवस्था श्रृजना गरेकाले आन्दोलन बाध्यता बनेको जनाए ।

‘०७४ मा संशोधनपछि यो ऐनको केही बुँदा चालकमैत्री छैन,’ साहले भने, ‘त्यस्ता बुदा नसच्याए पेसा नै परिवर्तन गर्नुपर्ने बाध्यता श्रृजना भएकोले अनिश्चितकालका लागि बन्द आह्वान गरिएको हो ।’

सिमरामा पनि उस्तै
राजमार्ग तथा भित्री सडकमा सार्वजनिक यातायातका सवारी साधन संचालनमा नआउँदा गन्तव्यतर्फ हिंडेका यात्रीले सास्ती भोग्न थालेका छन् । मकवानपुरको हेटौडाबाट जितपुर, बीरगंज, भारतको रक्सौल पुग्ने ठुलो संख्यामा यात्रीहरू बुधवार दिनभरी पैदल यात्रा तय गर्न बाध्य भए ।

रोजगारीको लागी नारायणगढ, टाडी, हेटौडा लगायतका स्थानमा पुगेका मजदुरहरू यसरी सास्ती भोग्न बाध्य भएका हुन् । नारायणगढबाट हेटौडातर्फ आउदै गरेको एक यात्रुवाहक बस चढेर हेटौडासम्म पुगेका मजदुरहरू हेटौडाबाट गन्तव्यतर्फ लाग्न सवारी पाउन सकेनन् । टाडीबाट उक्त बसमा यात्रा गरेर हेटौडा आई पुगेको यात्री बिके प्रसाद यादवले बताए । जितपुर घर भएका १६ वर्षीय यादव आफ्नो दाइसंग टाडीमा ठेक्कापट्टाको काम गर्दै आएको बताए ।


‘हेटौंडासम्म बल्लतल्ल आइपुग्यौं,’ उनले भने, ‘त्यहाँबाट बीरगंजको लागि कुनै सवारी पाउन सकिएन ।’ सवारी नपाएपछि अरु यात्रीसंगै पैदल हिंड्न बाध्य हुनु परेको उनले बताए ।बिहान १० बजेदेखि पैदल हिंड्न सुरु गरेका थियौं । २७ किलोमिटर उकालो ओरालो चुरे क्षेत्रको रामार्गमा हिंड्न बाध्य हुनु परेको यात्रीले बताए । यात्रारत सबै यात्री थकित अवस्थामा भेटिएका थिए ।

‘हिंड्दाहिंड्दै सबैको ओठ सुकी सकेको थियो,’ एक प्रत्यक्षदर्शीले भने, ‘पसिनाले सबैको सर्ट पाईन्ट समेत भिजीसकेको थियो ।’ चालकले यसरी सवारी आवतजावन नै ठप्प पारी आन्दोलन गर्न नहुने सुझाव सरोकारवालाले दिएका छन् ।मुस्लिम समुदायको नजिकिँदै गरेको मोहरम पर्व मनाउन बीरगन्ज छपकैयाका ९ जना मजदुर पनि हेटौंडाबाट पैदल घर हिंडेका थिए ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?