कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गाडी चलाउन संघर्ष समिति सहमत

लक्ष्मी साह

बारा — तीनदेखि आन्दोलित नेपाल स्वतन्त्र चालक संघर्ष समितिले शुक्रबारदेखि गाडी चलाउन सहमत भएका छन् । प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समन्वयमा गृह सचिवसित संघर्ष समितिका पदाधिकारीहरूले फोन वार्ता गरेर काठमाडौंमा अन्तिम वार्ता गरी गाडी चलाउन सहमत भएका हुन् ।

गाडी चलाउन संघर्ष समिति सहमत

वार्ता गर्न प्रमुख जिल्ला अधिकारीसहित प्रहरी अधिकारीहरू जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका भवन पुगेका थिए ।


प्रमुख जिल्ला अधिकारीसित बिहीबार भएको चार बुँदे सहमतिपछि समिति गाडी चलाउन सहमत भएका हुन् । सहमतिअनुसार संघर्ष समितिका पदाधिकारीहरू शुक्रबार १० बजे कठमाडौं पुग्दैछन् । त्यसका लागि बिहीबार राति नै उनीहरू हिँडेका हुन् ।


संघर्ष समितिका केन्द्रीय संयोजक बसन्त शर्माका अनुसार गत भदौ २७ मा संघर्ष समितिले स्थानीय प्रशासनलाई बुझाएको १५ बुँदे मागलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनसम्बन्धी माथिल्लो निकायमा पठाउने, समितिले उठाएका मागहरू तत्कालै कानुन तथा न्याय मन्त्रालयमार्फत कानुन संशोधन समितिमा पठाउने, कानुन संशोधन गराउन संघर्ष समितिका पदाधिकारीसहितको प्रतिनिधि वार्ताका लागि सम्बन्धित मन्त्रालय पुगेर वार्ता गर्ने र तत्कालका लागि आन्दोलन स्थगित गर्ने गरी चार बुँदे सहमति भएको हो ।


‘शुक्रवार काठमाडौंमा सम्बन्धित मन्त्रालयका सचिवज्युहरूसित वार्ता गरेर गाडी चलाउँछौं,’ शर्माले भने, ‘प्रमुख जिल्ला अधिकारी मार्फत मन्त्रालयका सचिवज्युहरूसित टेलिफोनमा कुराकानी भएपछि आन्दोलन स्थगन गरेका छौं ।’ अन्तिम वार्ता सकारात्मक हुने विश्वास रहेको वार्तापछि उनले बताए ।


वार्ताका लागि समन्वय गरेका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईका अनुसार समितिले प्रधानमन्त्री कार्यालय, गृह, कानुन तथा न्याय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसित शुक्रबार वार्ता गरेर गाडी चलाउने छ । ‘बिहीबारको वार्ताले अन्तिम वार्ता गर्ने र गाडी चलाउने वातावरण बनेको छ, प्रजिअ भट्टराईले भने, ‘चालकहरूले गाडी नचलाउँदा यात्रुलाई सास्तीसँगै इन्धन ढुवानीमा समस्या भइरहेको छ ।’ नयाँ कानुन चालक मैत्री नभएको भन्दै चालकहरूले तीन दिनदेखि गाडी चलाएका छैनन् । चालकहरूको हडतालले इन्धन ढुवानी नभएपछि कालोबजारी र इन्धनमा कृत्रिम अभाव पनि सुरु भएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताए ।


‘शुक्रवारबाट गाडी चलाउन भएको प्रयास सफल भएको छ,’ उनले भने, ‘संघर्ष समितिका पदाधिकारीहरू वार्तामा सकारात्मक थिए ।’ लापरवाहीपूर्वक गाडी चलाउने क्रममा मान्छेको मृत्यु भएमा नयाँ मुलुकी अपराधसंहिताले कडा सजायको व्यवस्था गरेपछि चालकहरू संगठित भएर नेपाल स्वतन्त्र चालक संघर्ष समिति निर्माण गरेका हुन् ।


प्रकाशित : आश्विन ४, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?