कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जलेश्वरमा झाडापखालाको प्रकोप

रवीन्द्र उप्रेती

महोत्तरी — भारतीय सीमासँग जुटेको जलेश्वर नगरपालिका–१२ नैनहीमा साता दिनदेखि प्रकोपका रूपमा फैलिएको झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । सयौं प्रभावित छन् ।

जलेश्वरमा झाडापखालाको प्रकोप

झाडापखालाबाट मावली घर आएकी ४ वर्षीया खुस्बु खातुनको मृत्यु भएको हो । गम्भीर अवस्थाका एक गर्भवती र १० वर्षमुनिका ३ सहित ४ जनाको जिल्ला असपताल जलेश्वरमा उपचार भइरहेको छ । बस्तीमा सयौं विरामी छन् ।


जिल्ला स्वास्थ प्रमुख डा. राजिव झाले माहामारी फैलिएको २ दिनपछि मात्र असपतालमा जानकारी आएको बताए । ‘जानकारीलगतै डा. आलोक झाको अगुवाइमा औषधीसहित मेडिकल टिम खटाइएको छ,’ झाले भने । मेडिकल टोलीले स्थानीय मदरसामा निशुल्क स्वास्थ्य शिविर खडा गरी मंलबारदेखि उपचार दिन थालेपछि महामारी केही मत्थर भएको छ ।


नैनहीस्थित स्वास्थ शिविरबाट जनस्वास्थ निरीक्षक सन्तोष ठाकुरले जनाएअनुसार अहिलेसम्म १ सय २५ जनाको उपचार भइसकेको छ । बिहीबार (आज) पनि ३२ जना झाडापखाला प्रभावित शिविरमा भर्ना भएका छन् । जसमध्ये १० वर्षमुनिका ५ जनालाई सलाइन पानी चढिरहेको र गम्भीर अवस्थाका एक जनालाई जिल्ला अस्पताल पठाइएको ठाकुरले जनाए ।


स्वास्थ्यकर्मीका अनुसार गाउँको मुस्लिम टोलमा शुक्रबारदेखि फैलिएको झाडापखालाबाट सय बढी परिवार प्रभावित छन् । प्रभावित हुनेमा ५ वर्ष मुनिका बालबालिकादेखि बुढापाकासमेत छन् । वडाध्यक्ष रामतपेश्वर ठाकुरले घना बस्ती भएकोले रोग छिटो फैलिएको र रोकथाम असहज बनेको जनाए । धान खेतको प्रदुषित भुरा माछा खानाले महामारी फैलिएको वडाध्यक्षलगायत स्थानियको भनाइ छ । ती माछा बस्तीमै पुगेका भारतीय माझी (मलाहा) संग खरिद गरेको जनाइएको छ ।


स्थानियका अनुसार सुरूमा गाउका सुलेमान, दाउदलगायत ५ जनाको घरमा देखा परेको झाडापखाला वस्तिभर फैलिएको हो ।


मेडिकल टोलीले उपचारको साथै गाउमा स्वास्थ्य शिक्षासमेत एकै साथ सुरु गरेको जनाएको छ । प्रदुषित खान नखान, बस्ती सफा राख्न, स्वच्छ पानी प्रयोग गर्न, फोहोर व्यवस्थापन लगायत जानकारी दिन थालेपछि रोग नियन्त्रणमा आएको डा. झाले जनाए ।

माहामारी फैलिएपछि जलेश्वर नगरप्रमुख रामशंकर मिश्र, वडाध्यक्षहरू रामतपेश्वर ठाकुर, संजय पाण्डे, रवीन्द्र साहलगायत जनप्रतिनिधि मुस्लिम बस्ती पुगेर बिरामी र उपचारबारे जानकारी लिएका थिए ।

प्रकाशित : आश्विन ४, २०७५ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?