२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चालक हडताल : दैनिक ३ करोडको क्षति

सन्तोष सिंह

काठमाडौँ — संयुक्त चालक संघर्ष समितिले यतायात ऐनको विरोध गर्दै सावारी साधन ठप्प पारेपछि आवतजावतमा ठप्प भएको छ । जनकपुरबाट छुट्ने सवारी साधन बसपार्कमा थन्किएका छन् । राजमार्ग क्षेत्र सुनसान भएको छ ।

चालक हडताल : दैनिक ३ करोडको क्षति

चालकहरूको आन्दोलनका कारण जनकपुरबाट सञ्चालन हुने बस सेवा मंगलबारदेखि सञ्चालन हुन सकेको छैन । बस बन्दले सञ्चालकलाई आर्थिक मारसँगै आर्थिक कारोबार ठप्प भएको छ । जनकपुर आउने पर्यटक अन्यौलमा परेका छन् । बस चलकहरूले सोमबार साँझ जनकपुर बस पार्कमा बस थन्काएर सम्पर्कविहीन बनेका छन् ।

यातायात ऐन संशोधनको माग गर्दै चालकहरू बस सञ्चालन ठप्प बनाएर सम्पर्कविहीन बन्दा आवतजावत गर्न समस्या भएको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बताए ।

चालकहरूको आन्दोलनका कारण जनकपुरबाट सञ्चालन हुने करिब ११ सय बस सञ्चालन हुन सकेको छैन, अध्यक्ष चौधरीले भने, ‘बस सञ्चालन नहँुदा दैनिक ३ करोडभन्दा बढीको क्षति व्यहोर्नु परेको छ ।’

बस सञ्चालन नहुँदा ३३ हजारभन्दा बढी यात्रु अन्यौलमा परेको चौधरीले बताए । लामो समयसम्म बस सञ्चालन नहँुदा बस व्यवसायी मारमा परेका छन्, अध्यक्ष चौधरीले भने,’ ‘ऋण कर्जा गरी बस चलाउने भएकाले यतायात ठप्प हुँदा व्यवसायीलाई बैंकको किस्ता बुझाउन समस्या भएको छ ।’ बन्दले जनकपुरको भ्रमणमा आउने तीर्थालुको संख्यामा समेत कमी आएको छ । चालकहरू आन्दोलनमा उत्रिएर जनकपुरबाट चल्ने बस सेवा ठप्प भए पनि जनकपुर–पटना बस सेवा सञ्चालन हुँदै आएको छ ।

यातायात व्यवस्थासम्बन्धी २०४९ को संशोधित ऐनले गल्ती नगरे पनि चालकले अपराधी बन्नुपर्ने अवस्था सृजना गरेकाले आन्दोलन बाध्यता बनेको जनकपुर अञ्चल चालक भलाइ संगठनका कोषाध्यक्ष दिलिप साहले बताए । न सडक राम्रो छ, न त सडक यात्रु अनुशासित छन् यस्तो अवस्थामा कुनै घटना भइहाले मौजुदा ऐनका कारण चालक सीधै अपराधी बन्ने हुँदा आत्मरक्षाका ‘स्टेयरिङ’ नसमाएको उनको भनाइ छ । ‘०७४ मा संशोधनपछि यो ऐनको केही बुँदा चालकमैत्री छैन,’ साहले भने, ‘त्यस्ता बँुदा नसच्याए पेसा नै परिवर्तन गर्नुपर्ने बाध्यता सृजना भएकाले अनिश्चितकालका लागि बन्द आह्वान गरिएको हो ।’

सरकारले जारी गरेको सवारी ऐन विरोधमा सवारी चालकको मंगलबारदेखि सार्वजनिक आवागमन ठप्प पारेपछि जनजीवन कष्टकर बनेको छ । बन्दका कारण जनकपुर अञ्चल बस चालक भलाइ संगठनले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण यात्रु बस, हाइस, टाटासुमो मालवाहक ट्रकले सेवा बन्द गरेपछि यात्रु आवागमन र ढुवानी सेवासमेत ठप्प भएको छ ।

सवारी साधन बन्दको प्रभाव विकास निर्माण, राजस्व संकलन र स्वास्थ्य सेवामा समेत परेको छ । बन्दप्रति ऐक्यबद्धता जनाउँदै निर्माण व्यवसायीका चालकले काम गर्न छाडेपछि विकास निर्माणको काम समेत ठप्प छ । नेपाली चालकको आन्दोलनका कारण भारतबाट हुने आयात व्यापार समेत प्रभावित भएको छ ।

प्रकाशित : आश्विन ५, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?