चालकको आन्दोलन स्थगित

सिमरा — सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै आन्दोलन थालेको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले शुक्रबारदेखि यातायात सञ्चलन गर्ने भएको छ ।

चालकको आन्दोलन स्थगित

प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, कानुन तथा न्याय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसित शुक्रबार काठमाडौंमा भएको वार्तामा समितिले उठाएको माग परिमार्जित गरी संशोधनको प्रक्रियामा पठाउने सहमति भएपछि आन्दोलन स्थगित भएको हो । समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेखित मागलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संशोधनसम्बन्धी कारवाही अघि बढाउने सहमति भएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति संयोजक वसन्त शर्माले बताए ।

‘हामीले उठाएको मागलाई परिमार्जित गर्दै ८ बुँदे सहमति भयो,’ उनले भने, ‘अब कानुन संशोधन हुन्छ होला, हामी विश्वस्त छौं ।’ माग पूरा हुने सहमति भएपछि आन्दोलन स्थगित गरिएको उनले बताए । देशैभरिका जिल्लामा रहेका समितिलाई सवारी चलाउन आवश्यक जानकारी पठाउने उनले जनाए । शनिबारदेखि सबै चालक काममा फर्किने उनले बताए ।सडक सुधार, सवारी दुर्घटनामा मानिस मरेपछि घटनाको निष्पक्ष छानबिन गरिने, चालकसँग राम्रो व्यवहार गर्न ट्राफिक प्रहरीलाई थप तालिमको व्यवस्था गर्ने लगायत बुँदामा सहमति भएको उनले जानकारी दिए । चालकले सवारी नचलाई आन्दोलनमा उत्रेपछि ४ दिनदेखि देशै भरको जनजीवन प्रभावित भएको थियो । सहमति भएपछि आन्दोलनरत सबै चालकलाई काममा फर्किन उनले आग्रह गरेका छन् ।


सवारीसाधन ठप्प
यातायात ठप्प भएपछि शुक्रबार पनि बाराको जनजीवन प्रभावित भएको छ । कलैयाबाट चल्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा आएनन् । यहाँ बस, ट्रक, ट्यांकर, टेम्पो, ईरिक्सा समेत ठप्प रह्यो ।पूर्व–पश्चिम राजमार्ग समेत दिनभर सुनसान रह्यो । सवारी साधन नचलेपछि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु मर्कामा परेका छन् । निजी सवारी साधन नभएका यात्रीले गन्तव्य तर्फ पुग्न पैदल यात्रा गर्न बाध्य भए । यातायातसँगै इन्धन तथा मालवाहक ढुवानी सेवा गर्ने ट्रक, ट्याङर समेत सञ्चालनमा नआउँदा बजारमा दैनिक उपभोग्यका सामग्रीको अभाव सिर्जना भएको छ । बजारमा हरियो तरकारी, फलफूल, खाद्य सामग्री, मासु प्रयोजनका लागि भित्रिने बोइलर कुखुरा, खसी बाख्रा, इन्धन लगायतको अभाव भएको उपभोक्ताहरूले बताएका छन् । ‘बाहिरबाट आयात गरिने यी सबै उपभोग्य वस्तु ४ दिनदेखि भित्र्याउन सकिएको छैन,’ कलैयाका व्यवसायी ज्ञानेश्वर यादवले भने, ‘सामानै भित्रिन नसकेपछि अभाव सृजना हुनु स्वाभिवक हो ।’ सदरमुकाम कलैया लगायत जिल्लाको सहरी क्षेत्र सिमरा, निजगढ, प्रसौनी लगायत जिल्लाभर दैनिक उपभोग्य सामग्रीको अभाव भएको रारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले बताए ।

‘यातायात ठप्पले व्यापारिक क्षेत्र प्रभावित भएको छ,’ उनले भने, ‘बजारमा उपभोग्य सामग्री आयात गर्न सकिएको छैन ।’ बन्दले सबभन्दा बढी सर्वसाधारण जनता मर्कामा परेको उनले बताए । उनका अनुसार सरकारले यातायात मजदुरको समस्या अविलम्ब समाधान गरी यातायात सञ्चालनमा ल्याउनुपर्छ । सरकार गम्भीर भएर समस्या समाधान गर्नेतर्फ लाग्नु पर्‍यो । वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगहरूमा पनि कच्चा पदार्थ आपूर्ति गर्न नसकिदा कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । प्रजिअ गणेश भट्टराईले यातायात खुल्ने सहमति भएको जनाए पनि शुक्रबारसम्म यातायात ठप्प यथावत् रहेकोमा उनले चिन्ता जाहेर गरे । डुमरवानामा होटल सञ्चालन गर्दै आएकी शान्ति तामाङले यातायात ठप्प भएपछि उपभोग्य सामग्री सिमराबाट खरिद गरी ल्याउन नसकिएको बताइन् । ‘सडकमा टेम्पो पनि चल्दैन,’ उनले भनिन्, ‘हामी सवारी साधन नभएका मानिसहरू केमा चढेर बजार पुग्ने ?’

बजारमा खेजेको सामग्री पनि नभेटिएको कलैया उपमहानगरपालिका २ का मनोज मण्डल बताउँछन् । ‘यस्तै रह्यो भने कालाबजारी बढ्छ,’ उनले भने, ‘अहिले नै व्यापारीले सामान छैन भन्दै फर्काउने गर्छन् ।’ अहिले निम्न र गरिब परिवार बढी प्रभावित बनेको उनले बताए ।

इन्धन भर्नेको लाम
सदरमुकाम कलैयालगायत जिल्लाको अधिकांश स्थानमा रहेको पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । यहाँका अधिकांश पम्पले सुचना टांगेर पेट्रोल छैन भनी लेखेखेका छन । यहाका केही पेट्रोल पम्पले महँगोमा बिक्री गर्न लुकाएर राखेको मोटरसाइकल चालकहरूको गुनासो छ ।उत्तरझिटकैयामा रहेको दिलीप आयल स्टोरका कर्मचारीले पेट्रल छैन भन्दै आएका ग्रहकलाई फर्काउने गरेको नाम नछाप्ने शर्तमा एक उपभोक्ताले बताए । ‘पेट्रोल छैन भन्दै दिउँसो कसैलाई पट्रोल दिएको छैन,’ उनले भने, ‘आफूले चिनेको मान्छे र बोतलमा पेट्रोल बिक्री गर्नेलाई राति बोलाएर दिने गरिन्छ ।’ पेट्रोल हुँदाहँुदै बिक्री नगर्ने पेट्रोल पम्पमा छापामारी बिक्री सहज बनाउन स्थानीय प्रशासनलाई उनले आग्रह गरे । पेट्रोल बिक्री गरिरहेका पम्पमा इन्धन थाप्ने मोटरसाइकल चालकहरूको लाम लागेको कलैया १६, उत्तरझिटकैयाका भिखारी पटेल बताउँछन् । ‘दर्जन बढी पम्प धाइसके तर कही पेट्रोल पाइएन,’ उनले भने, ‘पेट्रोल खोज्दाखोज्दै मोटरसाइकलमा भएको पनि सकिन लाग्यो ।’ १ लिटर जति पेट्रोल पाए भारतीय सहर आदापुर पुगेर ल्याउने उनले बताए ।

कृत्रिम अभाव
रौतहट– सवारी चालकको आन्दोलनलाई बहाना बनाएर रौतहटमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको छ । हडतालले इन्धन क्षेत्रमा पनि असर पारेको भन्दै जिल्लाका सबै पेट्रोल पम्पहरूले इन्धन दिन बन्द गरेका छन् । गाडी चल्न नसकेर पेट्रोलियम पदार्थ ढुवानी हुन नपाएको भन्दै अधिकांश पम्प बन्द गरेका छन् । तेल दिन बन्द गरेपछि निजी सवारी कम चल्न थालेका छन् । जिल्लाका कतिपय स्थानमा मिनरल वाटरको बोतलमा प्रतिलिटरको १ सय ५० रूपैयाँ लिएर पेट्रोल बिक्री गरिरहेका छन् ।

यसैबीच उपभोक्ता हित संरक्षण मञ्च, रौतहटले कालाबजारी नगर्न व्यापारीलाई आग्रह गरेको छ । मञ्चका सचिव टीका घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय व्यापारीले यातायात व्यवसायीको बन्दलाई बहाना बनाई खाना पकाउने ग्यास र पेट्रोलको स्टक सकिएको भनी कृत्रिम अभाव सृजना गर्न खोजेको अवस्थ प्रति उपभोक्ता हित संरक्षण मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कृत्रिम अभाव सृजना गरी बढी मूल्य लिएर रातको समयमा कालाबजारी गर्ने र आम उपभोक्तालाई ठग्ने, झुक्याउने नियतबाट भएको यस कार्यको मञ्चले घोर आपत्ति जनाएको छ । यस्तो कार्य नगर्न सबै व्यापारीसमक्ष अनुरोध गरेको छ ।

कष्टकर दैनिकी
सवारी चालकको आन्दोलनले यातायात ठप्प हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । लामो तथा छोटो दूरीका सवारी चल्न नसके पछि यात्रु पैदल हिँड्न बाध्य छन् । पूर्वपश्चिम राजमार्गका साथै गौर, चन्द्रनिगाहपुर खण्डमा समेत कुनै सवारी चलेको छैन । यसले व्यापार व्यवसायमा प्रभाव परेको छ । सवारी नचल्दा निर्माण सामग्रीको समेत अभाव हुन थालेको छ । सिमेन्ट, रड, बालुवा, गिटीलगायत सामान ढुवानी गर्ने ट्रक र टिप्पर चालकले ढुवानी ठप्प पारेकाले उपभोक्तालाई समस्या भएको हो । सवारी नचलेपछि यात्रु महँगो भाडा तिरेर ईरिक्सामा जाने गरेका छन् । केही पैदल हिँड्ने गरेका छन् । विद्यालयका सवारीलाई भने चल्न दिइएको छ । यहाँका निजी विद्यालयका सवारी चल्ने गरेको छ । यातायात बन्दले व्यवसायसमेत चौपट भएको उद्योग वाणिज्य संघका अध्यक्ष सुनील जैसवालले बताए । सवारीसाधन नचलेपछि यहाँको रोड सुनसान देखिएको छ ।

जनजीवन प्रभावित

वीरगन्ज– विगत ६ दिनदेखि रक्सौलस्थित भारतीय आयल डिपोबाट इन्धन लोड नहुँदा मुलुकभरि इन्धन अभाव चुलिएको छ । इन्धन अभाव भएसँगै जनजीवन प्रभावित भएको छ । नेपाल आयल निगम वीरगन्ज स्थित कार्यालय प्रमुख जगदीशचन्द्र यादवका अनुसार गत आइतबारदेखि इन्धन लोड भएको छैन । ‘आइतबार भारतमा सार्वजनिक बिदा हुने भएकाले लोड हँुदैन, सोमबार विश्वकर्मा पूजाको दिन प्राय: चालक गाडी चलाउँदैनन्, त्यसपछि मंगलबारदेखि आन्दोलनका कारण इन्धन लोड भएको छैन,’ उनले भने, ‘शुक्रबार जम्मा ११ ट्यांकरमा इन्धन लोड भएको छ ।’ सामान्य अवस्थामा रक्सौल डिपोबाट प्रत्येक दिन करिब १ सय ८० ट्यांकरमा पेट्रोल, डिजेल लोड हुने गरेको यादवले जानकारी दिए । मंगलबार जम्मा ७ ट्यांकर रक्सौल डिपोबाट इन्धन लोड गरी आएका थिए ।

प्रकाशित : आश्विन ६, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?