कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकासमा चुरेका बस्ती पछाडि

काठमाडौँ — चन्द्रपुर नगरपालिका–३ मा पर्ने चुरेक्षेत्रमा बस्ती बसेको झन्डै दुई दसक बढी भइसक्यो । तर त्यहाँको दैनिकि अवस्था जस्ताको त्यस्तै छ । सरकारी सेवा सुविधाबाट वञ्चित चुरे क्षेत्रका बासिन्दाको अवस्था कष्टकर छ । त्यस क्षेत्रमा विकास पुग्न सकेको छैन ।

विकासमा चुरेका बस्ती पछाडि

यस नगरपालिकाको महादेब डाडा, भोलनटार, ईपिलिघारी, अरुणबस्ती लगायत चुरे क्षेत्रका बासिन्दाको अवस्था कष्टकर छ । बस्तीमा खानेपानीको चरम समस्या छ । विद्यालय छैन । विद्युत् नभएकाले घरमा सोलार राखेका छन् । स्वास्थ्य संस्था नभएकाले झोले डाक्टरको भर पर्नुपर्छ ।

नगरपालिकाको सबैभन्दा बिकट गाउँहरू विकासले पछि परेको छ । नगरपालिका भएर पनि यो बस्ती मानविय सेवाको पहुचभन्दा टाढा छ । सम्बन्धित निकायले अहिलेसम्म विकासमा चासो नदेखाएको इपिलिघारीका देबबहादुर पाख्रीनको गुनासो छ । ‘यति पुरानो बस्तीहरूमा सरकारले केही सुविधा दिएको छैन,’ उनले भने, ‘हामी अर्को देशमा पो छौ जस्तो लाग्न थालीसक्यो ।’ चुरेक्षेत्रका बस्तीहरू निकै पुराना छन ।

चन्द्रनिगाहपुर बजारबाट झन्डै ९ किलोमिटर उत्तर हिँडेपछि चुरे क्षेत्रका बस्तीहरू भेटिन्छन् । चुरे क्षेत्र अतिक्रमण गरी २०४४ साल देखी यहाँ बस्ती बसेको हो । यो गाउँ अहिले चन्द्रपुर नगरपालिका ३ र केही भाग ४ मा पर्छ । चुरे वनक्षेत्र अतिक्रमण गरेको भन्दै जिल्ला वनले यस क्षेत्रमा कुनै पनि संघसंस्थालाई कार्यक्रम लैजान दिइएको छैन । वनकै कारण उनीहरूले बाच्नका लागी पाउने आधारभुत सुविधा नगरपालिकाले उपलब्ध गराएको छैन । विद्यालय नभएकाले गाउँका बालवालिकाहरू पढ्नबाट बन्चित छन् ।

अधिकांश विद्यालय जादैनन् । उनीहरूले शिक्षा, स्वास्थ्य र सरसफाइ पाएका छैनन् । भोलनटारमा नाममात्रको एउटा सानो विद्यालय छ । त्यो पनि २ कक्षा सम्म मात्र पढाइ हुन्छ । ‘त्यसपछि अध्ययनका लागि कहाँ पठाउने भन्ने चिन्ता हुन्छ,’ स्थानीय दिलबहादुर वाइबाले भने, ‘नगरपालिका भएर पनि केही सुविधा पाइएको छैन ।’ नजिक बजार नभएकाले किनमेलका लागी बाराको सिंगौल, निजगढ वा चन्द्रनिगाहपुर जानुपर्छ । रोजगारीको समस्याले गाउँका पुरुषहरू त्यतिकै बस्न बाध्य छन् । केही काम गर्न राजधानी गएका छन् । केही घरका महिलाहरू चरखा चलाउँछन् ।

चुरे क्षेत्रमा झन्डै १ हजारको हाराहारीमा घरधुरी रहेको छ । त्यस क्षेत्रमा वर्षेनी झाडा पखालको प्रकोप देखिन्छ । शुद्ध खानेपानी नभएकाले कुवाको धमिलो पानी पिउँदा यस्तो समस्या ब्यहोर्नु परेको हो । गाउँमा ब्यक्तिगत सरसफाइ न्यून छ । झाडापखला, जण्डिस र घाउखटिराको प्रकोपले बेला बेलामा बस्ती नै आक्रान्त बन्ने गरेको छ । यहाँको जमिन मरभूमि जस्तै छ । धान खेती हुदैन । दुइ बाली मकै हुन्छ । यही बेचेर धान किन्छन ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले त्यस क्षेत्रमा कार्यक्रम लगेको थियो । तर वनको अवरोधले कार्यक्रम प्रभावित भएको थियो । अवरोधको बाबजुद पनि गाउँका बालबालीकालाई बालबिवाहबाट जोगाउन, विद्यालय भर्ना गराउने अभियान चलाइएको संघकी संयोजक जुनु सुनवारले बताइन् ।

त्यसपछि गाउँमा कुनै संघसंस्था जान सकेको छैन । वन अतिक्रमण गरी बसेकाले यहाँ कुनै कार्यक्रम नगर्न वनले सम्बन्धित संघसंस्थाहरूलाई पत्राचार गरेको छ । त्यसैले यो गाउँमा विकासे कार्यक्रम लिएर कोही जान मान्दैनन् । चुनावका बेला नेताहरूले बिभिन्न खाले आश्वासन बाड्ने गरेको स्थानीयको गुनासो छ । यस क्षेत्रमा तामाङ समुदायको बाहुल्य छ ।

वन अतिक्रमण गरी बसेको क्षेत्रमा विकास निर्माणको काम गर्न नदिनु भन्ने वन मन्त्रालयकै नीति रहेको वन अधिकृत दिर्घनारायण कोइरालाले बताए । ‘हामिलाई माथिबाट निर्देशन छ,’ उनले भने, ‘एक दिन अतिक्रमण हटाउनै पर्छ । त्यसैले यहाँ कार्यक्रम गरेर के फाइदा ?’ वनले बस्ती हटाउन पटकपटक चेतावनी दिदै आएको छ ।

झन्डै ३० वर्ष पुरानो गाउँ छाडेर कहाँ गएर बस्ने भन्नेमा स्थानीयको दुखेसो छ । वनले मकवानपुरको धियालबाट बस्ती हटाइएको थियो । यस क्षेत्रमा पनि हटाउने प्रयास गरिएको थियो । तर राजनिति आवरणका कारण नसकसको वनकार्यालयले जनायो । चन्द्रपुर नगरप्रमुख रामचन्द्र चौधरीले चुरे क्षेत्रमा के गर्ने भन्ने कुनै योजना नरहेको बताउँछन् । ‘त्यतातिर हाम्रो ध्यानै गएको छैन,’ उनले भने, ‘अव बिस्तारै विकास होला ।’

स्थानीयतह र प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनका बेला बस्ती पुगेको उम्मेदवारहरूले खानेपानी, विद्यालय, स्वास्थ्य चौकी लगायत विकास गरिदिने बचन दिन्छन् । ‘जितेपछि मुख देखाउन आउदैनन्, ‘वाइबा भन्छन्, ‘एक चोटी होइन बाचा गरेको । पटक पटक यस्तै बचन दिन्छन् अनि पूरा गर्दैनन् ।’ भोलनटारमा लामो समयपछि विद्युतको पोल गाड्ने काम भएको छ । त्यस क्षेत्रमा वनले धेरै पटक राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लगेको थियो । स्थानीयको अवरोधका कारण सम्पन्न हुन सकेन । वनले लगाइएको तारबार सबै उखेलिदिए पछि कार्यक्रम स्थगित गरेको थियो । त्यस क्षेत्रको डाडाभरी घरै घर छन् । स्थानीयको भरपर्दो आयश्रोत छैन ।

प्रकाशित : आश्विन ६, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?