२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सीमामा तारजाली र परिचयपत्र

राजविराज — नेपाल र भारतको खुला सिमानामा तारजाली लगाउने र परिचयपत्र लागू गर्ने विषयले दुई देशका जनताबीच सदियौंदेखि रहेको सुमधुर सम्बन्धमा असहजता आउने दुबै मुलुकका अगुवाहरूले बताएका छन् ।

सीमामा तारजाली र परिचयपत्र

नेपाल–भारतबीच खुला सीमा क्षेत्रमा तार जाली लगाउने र परिचयपत्र लागू गर्ने विषयमा दुवै देशका उच्च अधिकारीबीच छलफल चलिरहेका बेला शुक्रवार राजविराजमा आयोजित कार्यक्रममा दुबै देशका नागरिक अगुवाहरूले नेपाल र भारतका जनताबीच स्थानीय स्तरमा रहेको सम्बन्धमा खलल पार्ने कार्य गर्न नहुने बताए ।

नेपाल–भारत खुला सीमा संवाद समूहले आयोजना गरेको अन्तरक्रियामा सहभागी अधिकांश वक्ताले वर्तमान परिवेशमा सीमा क्षेत्रमा तार जाली लगाउने र परिचयपत्र लागू गर्ने दुवै अवस्थाको विरोध गर्दै यसले सदियौंदेखि कायम रहेको नेपाल–भारतको सुमधुर सम्बन्धमा चिसोपना ल्याउने दाबी गरे । कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले नेपाल–भारत सम्बन्ध वहुआयामिक रहेको चर्चा गर्दै सीमा क्षेत्रमा तार जाली वा परिचयपत्र लागू गरेर समस्या झन बल्झिने जिकिर गरे । राजनीतिक विश्लेषक प्रा. अमरकान्त झाले काठमाडौंमा बसेर सीमा क्षेत्रमा तार जाली लगाउने र परिचयपत्र लागू गर्ने षडयन्त्रमा लागेको चर्चा गर्दै यसविरुद्ध मधेसका मात्र होइन भारतका जनता समेत मिलेर आवाज उठाउनुपर्नेमा जोड दिए । इतिहासविद् प्राध्यापक डा. पिताम्वरलाल यादवले वर्तमान परिवेशमा सीमा क्षेत्रमा तार जाली लगाउने वा परिचयपत्र लागू गर्ने दुवै कुरा दुवै देशका नागरिकको हितमा नरहेको जिकिर गरे ।

भारतको निर्मली प्रखण्डका प्रमुख अरविन्द गुप्ताले सीमा क्षेत्रमा मानव तस्करी, हातहतियार कारोवार, लागूऔषध मदिराको ओसारपसार, चोरी तस्करी र अपहरण जस्ता घटना रोक्न तारजाली वा परिचयपत्रको सट्टा दुवै देशका सुरक्षा निकाय मिलेर संयुक्त गस्ती र निगरानी गर्दा उपयुक्त हुने सुझाव दिए ।

नेपाल–भारत खुला सीमा सम्वाद समूहका संयोजक राजिव झाकाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपाका केन्द्रीय सहमहासचिव गजेन्द्र मण्डल, सम्वाद समूहका सदस्य द्वय अनिल महासेठ, डा. अमरेन्द्र यादव, प्रदेश सभा सदस्यद्वय विकेश्वर यादव, नेत्रविक्रम साह, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, भारतको कुनौली ग्रामपञ्चायतका प्रमुख सत्यनारायण रजक, वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराई, पत्रकार दिनानाथ यादव, राजपाका केन्द्रीय सदस्य द्वय दिनेश यादव, अमरनाथ मण्डल, नेपाली कांग्रेसका मो. इर्साद अन्सारी, लगायतले बोलेका थिए ।

प्रकाशित : आश्विन ६, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?