कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सालको गोलिया तस्करी

शिव पुरी

राैतहट — तस्करले कटान गरेको सालको गोलिया यहाँस्थित एक चिरान मिलबाट वनको टोलीले आइतबार फेला पारेको छ । मिलको भुसले छोपेर राखेको अवस्थामा फेला पारेको हो ।

सालको गोलिया तस्करी

तस्करले राजमार्गबाट खुलेआम लैजाँदा सुरक्षा निकाय र वनले पत्तो पाएन । वनले मिल सञ्चालकलाई अहिलेसम्म पक्राउ गरेको छैन ।

जिल्ला वनअन्तर्गतको चोचा वन सेक्टरको जंगलसैयास्थित राष्ट्रिय वनबाट अबैध रूपमा काँचो सालको गोलिया तस्कर गरिएको हो । तस्करले राजमार्गबाट केही भित्र जंगलबाट जिपमा लोड गरी सालको गोलिया लगेर चन्द्रपुर १० बालचनपुरस्थित कृष्णबहादुर थापाको चिरान मिलमा बिक्री गरेको वनले जनायो । मिलको कम्पाउन्डभित्र भुसले छोपेर लुकाइराखेको अवस्थामा ६ थान गोलिया बरामद गरिएको
वन अधिकृत दिर्घनारायण कोइरालाले बताए ।

‘हामी तस्करको पहिचान गर्ने प्रयासमा लागेका छौं,’ उनले भने, ‘मिल मालिक थापालाई समेत पत्र काट्ने तयारी भइरहेको छ ।’ काठ कसले र कुन साधनमा लग्यो भन्ने वनले पत्ता लगाउन सकेको छैन । ‘रातिको समयमा हाइवे हँुदै काठ लगेको देखिन्छ,’ अधिकृत कोइराला भन्छन्, ‘जंगल छेउको ट्राफिक, प्रहरी र राजमार्गमा तैनाथ सशस्त्र प्रहरीले अत्तोपत्ता पाएन ।’ राति ९ र १० बजेको बीचमा तस्करले सालको गोलिया जिपमा लोड गरेको वनको अनुमान छ । वन टोलीले पछिा गर्दै गएपछि थापाको मिलमा खसालेको पत्ता लगाएको हो । सालको अबैध गोलियाबारे मिल मालिक थापाले केही बताएका छैनन् ।

चोचा र चेतनगर वन सेक्टरमा तस्करले यसरी नै काँचो सालको गोली तस्करी गर्दै आएको थियो । पछिल्लो केही समययता रोकिएको थियो । अहिले फेरि यस्तै हर्कत गर्न थालेको वन अधिकृत कोइराला बताउँछन् । कर्मचारीको अभावका कारण गस्ती प्रभावित भएपछि तस्करी बढेको थियो । वनले कर्मचारी दरबन्दी थप्न माग राख्दै आएको जनायो । हालको दरबन्दीले वन संरक्षणमा कठिनाइ भएको उनीहरू बताउँछन् । वनले करारमा केही सशस्त्र वन रक्षक नियुक्ति गरेको छ ।

काठ कुहियो
वनले विभिन्न व्यक्ति तथा तस्करबाट बरामद गरेको काठको मुद्दा किनारा लगाउन नसक्दा त्यतिकै कुहिएर गएको छ । वन अधिकृतको निवास, सशस्त्र वन रक्षक कार्यालय र विभिन्न वन सेक्टरमा ठूलो परिणाममा काठ कुहिएर गएको छ । वन अधिकृत कोइरालाले सकेसम्म चाँडोभन्दा चाँडो मुद्दा किनारा लगाएर काठ लिलामी प्रक्रिया गर्दै आएको बताए । ‘हामीले सालका बहुमूल्य काठहरू नकुहियोस् भनेर लिलाम गर्दै आएका छाैं,’ उनले भने, ‘चोरी तस्करीबाट बरामद गरिएको हकमा मुद्दा फैसला ढिला हुने हँुदा त्यतिकै बसेको हो ।’

करोडौंको सवारी कुहियो वन कार्यालयअन्तर्गतको सशस्त्र वन रक्षक सुरक्षा शाखा परिसरमा अबैध रूपमा काठ ओसारपसार गर्दा प्रयोग भएका ट्रक, टयाक्टर, मोटरसाइकल, जिप,टायर गाडा र साइकल गरी झन्डै २ सय बढी सवारी कुहिन लागेको छ । घाम, पानीले अधिकांश सवारी कुहिदै गएको हो ।

राष्ट्रिय वनबाट अबैध रूपमा काठ तस्कर गर्न लाग्दा बरामद गरेको गाडी अदालतबाट मुद्दाको किनारा नलागेकाले सबै कबाड बनेको वनको भनाइ छ । अधिकांशका महत्त्वपूर्ण पार्टपुर्जाहरू गायव भइसकेका छन् । गाडीका ब्याट्री बत्ती बाल्न वन कार्यालयले प्रयोग गरेको थियो ।

विभिन्न समयमा काठ चोरी गर्न प्रयोग गरिएको सबारी कुहिएर खेर जाने अवस्थामा पुगेको हो । वन कार्यालय र मातहतका इलाका वनहरूमा त्यस्ता साधन सडेर कामै नलाग्ने भएको छ । बरामद भएका ट्रकमध्ये ४ वटा बेवारिसे अवस्थामा फेला परेकाले मुद्दाको छिनोफानो ढिला भएको हुन सक्ने वनले जनायो ।

जिल्ला अदालत गौरका श्रेस्तादार उपसचिव चिन्तामणि शर्माले वन कार्यालयको २ वर्ष बढीको कुनै पनि मुद्दा फैसला हुन बाँकी नरहेको बताए । ‘जिल्लाबाट पुनरावेदन हुँदै सर्वोच्चसम्म मुद्दा पुगेको हुन सक्छ,’ उनले भने, ‘कतिपय वन मुद्दाको चित्त नबुझेर सर्वोच्चसम्म पुग्दा फैसलामा ढिला भएको हुन सक्छ । अदालतकै कारणले कुहिन लागेको भन्न मिल्दैन ।’ काठ सहित पक्राउ परेका केही धरौटीमा रिहा भएका छन् । बेवारिसेको हकमा गाडीको दाबी गर्न अहिलेसम्म कोही नआएको वनले जनायो । वन कार्यालयका अनुसार विभिन्न स्थानबाट अबैध काठ सहित ६ वटा ट्रक बरामद गरेको थियो ।

त्यस्तै ५ वटा टयाक्टर, १ जिप, ३ वटा मोटरसाइकल बरामद भएको थियो । साइकल १ सय र टायर गाडा १ सय बरामद गरिएको थियो । २०६४ सालमा बरामद भएको ट्रक कुहिएर कामै नलाग्ने भएको छ । त्यस्तै टयाक्टर लगायतको सवारी १० वर्ष बढी भइसकेको छ । अधिकांशको मुद्दा छिनोफानो नभएकाले गाडी थन्किएको वन अधिकृत कोइरालाले बताए ।

‘केही बेवारिसे गाडीहरू पनि छन् । बेवारिसेको हकमा कोही पनि दाबी गर्न नआएकाले मुद्दा फैसलामा ढिलाइ भएको हुन सक्छ,’ उनले भने, ‘कतिपय मुद्दा फैसला भएर पनि प्रतिलिपि नआएको होला ।

प्रकाशित : आश्विन ८, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?