कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाली जोगाउन जाली

सर्लाही — जंगली जनावरले खेतमा लगाएको बाली सखाप पार्न थालेपछि यहााका किसान चिन्तित छन् । निलगाई, बँदेल, घोडगदहा, बाँदर लगायतका जंगली जनावरले खेतमा लगाएको बाली खाने र नष्ट पार्ने गरेका कारण किसान चिन्तित बनेका हुन् ।

बाली जोगाउन जाली

जिल्लाको उत्तरी चुरे देखी दक्षीण भारतिय सीमा क्षेत्रसम्मका किसान महिनौंयता जंगली जनावरको आतंकले समस्यामा परेको गुनासो गरेका छन् । किसानहरू जंगली जनावरबाट बालीनाली जोगाउन खेतमा करेन्ट लगाउने, बाँसको भाटामा डोरी तथा जाली लगाएर खेतवारी घेर्ने लगायतको उपाय अपनाउँदै आए पनि समाधान भएको छैन ।

खेतमा लगाएको बाली जोगाउन अनेक उपाय अपनाउँदा पनि समस्या समाधान नभएपछि रातीको बास खेतमै हुने गरेको धनकौल गाउँपालिका–३ ढापटोलका किसान अयोधी महतोले बताए । ‘महिनौंयता जंगली जनावर आएर खेतमा लगाएको बाली सखाप पारिरहेको छ, विभिन्न उपाय अपनाउँदा पनि समस्या समाधान भएन,’ महतोले भने, ‘दिनभरि जंगली जनावर लुकेर बस्छ, रात परेपछि खेतको बाली सखाप पार्छ, त्यही भएर बालीनाली जोगाउन राती खेतमै बस्ने गरेको छु ।’

खेतमा लगाएको धान, मकै, कोदो, उखु, तरकारीलगायतका बाली बँदेल तथा अन्य जनावरले नष्ट पार्ने गरेको जानकीनगरका किसान योगीराज पोख्रेलले बताए । बर्ष दिनमा उत्पादन हुने उखु जरैदेखी नष्ट पार्दा ठुलो नोक्सानी व्यहोर्नुपरेको उनको भनाई छ । ‘जंगली जनावरले हैरान बनाउँदा बाली जोगाउन खेतमा करेन्ट लगाएका छौं, उनले भने, ‘जंगली जनावर तर्साउन राखिएको करेन्ट लागेर किसान आफैंसमेत घाइते हुने गर्छौं ।’ जनावरले आक्रमण गर्ने गरेकाले सामूहिक रूपमा गस्तीसमेत गर्ने गरेको किसानको भनाइ छ ।

मिहिनेत गरेर हुर्काएको बाली जंगली जनावरले नष्ट पार्दा आफूहरू निकै मारमा परेको घुर्कौलीका किसान नथुनी महतोको गुनासो छ । केही वर्षअघिसम्म कहिल्यै नदेखिने जंगली जनावर अहिले समूहमै आएर बालीनाली नष्ट पार्न थालेपछि किसानहरू खेती गर्ने कि नगर्ने भन्ने दोधारमा परिरहेको बताए । ‘जंगली जनावर अहिले समूहमै आएर खेतको बाली नष्ट पार्ने गरेको छ,’ उनले भने, ‘अरु जनावरले बालीको माथिल्लो भाग खाने गरे पनि बँदेलले बालीको जरै उखेलेर खाने र नष्ट गर्ने गर्छन् ।’ खेतमा आएको जंगली जनावरले बाली खाने मात्र हैन किसानलाई आक्रमण गरेर घाइतेसमेत बनाउने गरेको किसानको दु:खेसो छ ।

यतिबेला किसानमा जंगली जनावरको आतंक नै फैलिएको छ । केही महिनाअघि खेतमा लगाएको बाली हेर्न गएको बेला हरिवन–५ घुर्कौलीकी ६५ वर्षीया रामप्यारी देवीलाई बँदेलले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो । यस्तै केही दिनअघि मात्रै कविलासी–१ पिपरियाकी महिला खेतमा जाँदा बाँदरको समुहले आक्रमण गरेको थियो ।

गाँउलेले लखेटेका कारण दुवैको ज्यान जोगिएको स्थानीयले बताए । पछिल्लो समय जंगली जनावरको संख्या बढ्दै जानु, चुरे क्षेत्रमा मानवबस्ती बढ्नु र विकासको नाममा ठूल्ठूला मेसिनको आवाजका कारण वन्यजन्तु समथल भूभागतर्फ भागेर बस्ने क्रम बढेको जिल्ला वन कार्यालयले जनाएको छ । बढो जंगली जनावर नियन्त्रणका लागि वन मन्त्रालयबाट नीति बनाएर नियन्त्रण गरिने काम भइरहेको जिल्ला वन अधिकृत नरेश ठाकुरले बताए ।

प्रकाशित : आश्विन ९, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?