टुहुराहरुले गरे गंगासागरमा स्नान

श्यामसुन्दर शशि

जनकपुर — सन्ध्या महागंगा आरतीको मनोरम दृश्य देखिने गंगासागरको घाटमा मंगलबार बिहान अर्कै दृश्य देखियो । सन्ध्या रंगीचंगी लिवासमा रंगिने यो घाट रंगहीन थियो ।

टुहुराहरुले गरे गंगासागरमा स्नान

सन्ध्या जनकपुर तथा गंगा महिमाको गीत गुञ्जायमान हुने गंगासागरको घाट नि:शब्द थियो । सबका हातमा काँक्रो, राडीको फूलकी(फूल) तथा द्रव्य थिए । बालबालिकादेखि वृद्ध वयस्कहरु आफ्ना पितर (पितृ) लाई जलतर्पण गर्दै थिए । असलमा पिता दिव‌ंगत भएका टुहुराहरु आ–आफ्ना पितरप्रति सम्मान व्यक्त गर्न भेला भएका थिए ।


भाद्र पूर्णिमादेखि सुरु भएको पितृ पक्ष दुई सातासम्म चल्ने छ । पितृ पक्षको प्रथम दिन सयौंका संख्यामा भेला भएका टुहुराहरुले गंगासागरमा स्नान गरे । राडीको फूल, कॉक्रो तथा द्रव्य लिएर पानीमा डुबुल्की लगाए अनि आफ्ना स्वर्गीय पितालाई जल अर्पण (तर्पण) गरे । घाटमा उभिइरहेका पण्डित पुरोहितहरु मन्त्रोच्चारण गरेर उनीहरुलाई सघाउँदै थिए ।


मिथिलाञ्चलमा भाद्र शुक्ल पर्णिमादेखि सुरु हुने पितृपक्षमा स्वर्गीय पितरलाई जल अर्पण गर्ने शास्त्रीय विधान छ । यो क्रम आगामी पन्ध्र दिनसम्म चल्छ । टुहुराहरु भाद्र अमावस्याको दिन आ–आफ्ना पितरलाई अन्तिम तर्पण गरी सोह्रश्राद्ध समापन गर्नेछन् । पितरहरु स्वर्गीय भएको तिथिअनुसार पिण्डदान पनि गर्छन् । अमावश्याको दिन महिलाहरु पनि आ-आफ्ना स्वर्गीय आमा र सासुलाई पितर दिने चलन छ । जसलाई जितिया पर्व भनिन्छ ।


पण्डित भोलानाथ झाका अनुसार पितृपक्षको पहिलो दिन अगस्त मुनिलाई तर्पण गरिन्छ । त्यसपछि स्वर्गीय पितरहरुलाई जल अर्पण गरीन्छ । यसलाई सोह्र श्राद्ध र पितरपक्ष पनि भनिन्छ । पण्डित झाका अनुसार स्वर्गीय पितरलाई तर्पण गरेपछि उनको आत्मालाई शान्ति प्राप्त हुन्छ । स्वर्गको वास स्थायी हुन्छ ।


पण्डित झा पितृ पक्षको प्रथम दिन गंगासागरको पवित्र जलमा तर्पण गर्नेहरु अन्य दिन आफ्ना गाउँकै पोखरी वा नदीहरुमा पनि जल तर्पण गर्न सक्छन् । पितृ पक्षभरि सम्बन्धित व्यक्तिले माछा मासुलगायत तामसी भोजन गर्न वर्जित हुन्छ ।


बढ्दो आधुनिकता तथा व्यावसायिकरणका कारण सामाजिक जीवन अस्तव्यस्त बनेको छ । बाजे, बज्यै, आमा, बुवालगायत परिवारका जेष्ठजनप्रतिको सम्मानमा कमी आएको छ । पण्डित राजदेव मिश्र धार्मिक विधानकै कारण भए पनि सखा सन्तानहरु आफ्ना स्वर्गीय पितरहरुलाई स्मरण गर्नुलाई सनातन धर्मको निरन्तरता मान्नु हुन्छ ।


‘अचेल छोराछोरीलाई कामबाट फुर्सद छैन । नाति नातिनाहरु पढाई लेखाईमा व्यस्त हुन्छन् । बुढा बाजे बज्यैलाई सेवा गर्ने समय कसैसँग हुँदैन । यस पर्वले पितरहरुलाई स्मरण गर्ने सुयोग मिल्छ’ मिश्र कान्तिपुरसँग भने ।


प्राध्यापक परमेश्वर कापडिका अनुसार आमा बुबा जन्मदातामात्र होइनन्, सन्तानको पालनकर्ता तथा प्रथम गुरु पनि हुन् । उनीहरुप्रतिको दायित्व औपचारिकतामा सीमित हुनु हुँदैन । आमा बुबालाई जीवित रहँदा पनि यस्तै माया र सम्मान गर्नु पर्ने उनको तर्क छ ।


प्रकाशित : आश्विन ९, २०७५ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?