संविधान संशोधन गरी प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ : यादव

मोरङ — उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गरी प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् । 

संविधान संशोधन गरी प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ : यादव

पार्टीको प्रदेश १ स्तरीय भेलामा मंगलबार उनले साधन स्रोतमाथिको अधिकार दिनुका साथै स्थानीय तहलाई प्रदेशको इकाईको रुपमा राख्नुपर्ने बताएका हुन् । ‘संघीय लोकतन्त्रलाई संस्थागत गर्नका लागि प्रदेशलाई मजबुत बनाउनुको विकल्प छैन,’ उनले भने, ‘प्रदेशहरु समृद्ध बन्दै गएपछि १० वटासम्म प्रदेशको संख्यामा वृद्धि हुन्छ ।’ प्रदेशको संरचनामा समेत परिवर्तन गर्नु आवश्यक भएको अध्यक्ष यादवको भनाइ थियो ।


‘अहिले संघीयतालाई मजबुत ढंगले सजगतापूर्वक संरक्षण गर्ने बेला हो,’ उनले भने, ‘संघीयताविरोधी शक्तिहरु संघीयता मास्न मौका पर्खेर बसेका छन् ।’ संघीयतालाई संरक्षण गर्दै व्यवस्थित गर्दै लग्नुपर्ने अहिलेको आवश्यकता भएको उनले सुनाए ।

उनले धर्मनिरपेक्षतालाई धरापमा पार्न ठूला शक्तिहरुले चलखेल गरिरहेको बताए । उनले सबैलाई समान अधिकार सम्पन्न बनाउन र सर्वमान्य संविधान बनाउन संशोधन अपरिहार्य रहेको र त्यो प्रक्रिया अब चाँडै सुरु हुने बताए । अहिले मौलिक हकसम्बन्धी उत्कृष्ट कानुन निर्माण भएको र त्यसले महिला, दलितलगायतलाई अधिकार सम्पन्न बनाएको उनको भनाइ छ ।


संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था जर्जर रहेको बताए । मुलुकमा सबैलाई समान शिक्षाको पहुँच पुर्‍याउन सकिएको छैन भने ४५ प्रतिशत जनता आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित रहको उनले सुनाए । ‘अहिलेको शिक्षाले खाँडी मुलुकमा अदक्ष कामदारको रोजगारी पाउने हैसियत मात्रै भएकोले मुलुकलाई आवश्यक जनशक्ति उत्पादन गर्न सक्दैन,’ उनले भने, ‘अहिले शिक्षाले मुलुकको समृद्धि र आर्थिक वृद्धिमा टेवा पुर्‍याउने नभएकोले आमूल परिवर्तन ल्याउनु जरुरी छ ।’ यादवले चाँडै आम नेपालीलाई नि:शुल्क आधारभूत स्वास्थ्य सेवा दिने योजना आफूले ल्याइरहेको बताए ।


मुलुकमा सबभन्दा ठूलो समस्या गरिबी र बेरोजगारी रहेको र त्यसको समाधानका लागि कृषिमा आधारित औद्योगीकरण आवश्यक भएको उनको भनाइ थियो । उनले पार्टी नेता तथा कार्यकर्तालाई पहिचानवादी शक्तिहरु एक ठाउँ भएकोले सबै मिलेर आ–आफ्नो पहिचानको रक्षा गर्ने उद्देश्यले संगठन मजबुत बनाउनतर्फ लाग्न निर्देशन दिए ।



प्रदेश २ का मुख्यमन्त्री तथा पार्टीका उपाध्यक्ष लालबाबु राउतले संघीयताको विषयमा रहेको संवैधानिक व्यवस्था कार्यान्वयनमा समस्या भएकोले प्रदेश सरकारहरुले काम गर्न नसकेको गुनासो पोखे । ‘संघीय सरकारका सुरक्षा संयन्त्र र कर्मचारीतन्त्रले संघीयता स्वीकार गर्न नसकेकोले समस्या छ,’ उनले भने, ‘संघीयता सफल बनाउनका लागि कर्मचाररीतन्त्रको सोचमा परिवर्तन आवश्यक छ ।’


उनले जातीय स्वार्थको मुद्दामा कांग्रेस र नेकपाका नेताहरु एकजुट भएर मुलुकलाई बन्धक बनाएको आरोप लगाए । भएको जातीय, सांस्कृतिक, धार्मिकलगायतको विविधता अनुसारको विविधतायुक्त समावेशी मुलुक बन्नबाट कांग्रेस र नेकपाका नेताहरु बाधक भएको उनको भनाइ थियो ।


कार्यक्रममा फोरमका वरिष्ठ नेता अशोककुमार राई, उपाध्यक्ष हेमराज राईलगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित : आश्विन ९, २०७५ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?