१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

१३ वर्षपछि सिलबन्दी

बन्द रहेको कोल्ड स्टोरेजभित्र उत्पादन गर्दै आएको उक्त उद्योग सञ्चालनमा आएको १३ वर्षपछि फेला परेपछि सिल गरेर अनुसन्धान थालिएको छ
लक्ष्मी साह

बारा — ११ वर्षदेखि खोजीको सूचीमा रहेको गुणस्तरहीन घिउ उत्पादन गर्ने एक उद्योग बल्ल फेला परेको छ । आधा दर्जन ब्रान्डको ठूलो परिमाणमा नक्कली घिउ उत्पादन गर्दै आएको ‘मिल्क फुड डेरी प्रोडक्ट्स’ उद्योग भदौ ६ (एक महिनाअघि) मा फेला परेपछि सिल गरिएको छ ।

१३ वर्षपछि सिलबन्दी

भदौ ३१ गते लाइसेन्सवाहक रौतहट गौर–१ निवासी मनोजकुमार शर्मालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । पहिलो पटक सात दिनको म्याद लिएर अनुसन्धान पूरा नभएको र यसभित्र अझै रहस्य भएकाले थप अनुसन्धानको लागि १५ दिनको थप म्याद आइतबार माग गरिएको अनुसन्धानमा संलग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंंडाका प्रमुख राजकुमार रिजालले बताए ।


शर्माकै नाममा उक्त उद्योग दर्ता रहेको घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त कागजातमा उल्लेख छ । उद्योगबारे स्थानीय प्रशासनले पत्रमार्फत बुझ्दा घरेलुले मूल ढड्डामा दर्ता भएको तर नवीकरण नभएको लिखित जानकारी गराएको छ । उद्योगको फाइल भने फेला परेको छैन् ।


घरेलु तथा साना उद्योग कार्यालय बारामा २०६२ मा दर्ता भई जिल्लाकै प्रसौनी गाउँपालिका–३ मा सञ्चालन हुँदै आएको उक्त उद्योगले गोकुल, गोबद्र्धन, बालाजी, नेचर फ्रेस, शिवम्, एमडीएच र मिल्क फुड ब्रान्डको स्टिकर टाँसेको घिउ टाढा जिल्लाको बजारमा सप्लाई गर्दै आएको थियो ।


बन्द रहेको कोल्ड स्टोरेजभित्र उत्पादन गर्दै आएको उक्त उद्योग सञ्चालनमा आएको १३ वर्षपछि फेला परेपछि सिल गरेर अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बताए । उद्योगमा आधा लिटरको डिब्बामा प्याकिङ गरिएको १ सय १६ वटा डिब्बा र ६ सय केजी प्याकिङ गर्न तयारी गरिएको नक्कली घिउ बरामद गरी नष्ट गरिसकिएको उनले बताए ।


उनका अनुसार यसबाहेक ब्रान्डको स्टिकर, मूल्य र उत्पादन मिति लगाउने दुई दर्जन बढी छाप छाप बरामद भएको छ । ‘उद्योगमा भारतीय नागरिकसँगै तलदेखि माथिसम्म सञ्जाल छ । उद्योगको संरचना, लाइसेन्स र उत्पादनमा प्रयोग गरिने सामान छुट्टाछुट्टै व्यक्तिको पाइएको छ,’ उनले भने, ‘लाइसेन्स, लगानी र जग्गाधनी छुट्टाछुट्टै छन् । उद्योगलाई सिल गरेर सम्बन्धित व्यक्तिहरू पक्राउ गरी अनुसन्धान गर्न थालेपछि माथिबाट उद्योग मन्त्रीज्यूको ‘रेफरेन्स’ दिएर बिचौलियाले दबाब दिन थालेका छन् ।’


नवीकरण बिना नै उत्पादन गर्दै आएको घिउ मानवीय स्वास्थ्यको लागि अति हानिकारक रहेको उनको भनाइ छ । उद्योग सञ्चालन भएको जग्गा, त्यहाँ सप्लाई भएको बिजुली र उत्पादनमा आगोका लागि चाहिने काठ बनाउन राखिएको स:मिलबारेसमेत अनुसन्धान भइरहेको उनले बताए ।


उद्योग २०५६ मा आन्तरिक राजस्व कार्यालय सिमरामा ‘प्यान’ मा दर्ता गरेको देखिन्छ । स्थानीय प्रशासन, क्षेत्रीय खाद्य गुणस्तर कार्यालय हेटौंडा, प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयको समन्वयमा उनीमाथि एक सातादेखि अनुसन्धान भइरहेको छ । ‘उद्योगले उत्पादन गरेको घिउ बजार पुर्‍याएको दुई वर्ष नपुग्दै २०६४ मै गुणस्तरहीन प्रमाणित भएको थियो,’ प्रजिअ भट्टराइले भने, ‘त्यही बेलादेखि उद्योगको खोजी भइरहेको थियो ।’


विभिन्न १० जिल्लाबाट त्यसको खोजीसँगै कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय बारामा परिपत्र आएको आएको उनले बताए । ‘उद्योग किन फेला परेन, थाहा भएन, तर अहिले फेला पारेको छु । विगतमा उद्योग नभेटेपछि पत्रहरू त्यत्तिकै पेन्डिङमा बसेको देखेको छु ।’ उत्पादित घिउमा बारा प्रसौनीको ठेगाना भएकाले ती जिल्लाहरूबाट खोजी र कारबाहीका लागि पत्र आउँदै गरेको उनले बताए ।


बजार अनुगमनपछि सुरु (२०६४) मा बारा जिल्ला प्रशासनले नै खोजी गरेको थियो । तर उद्योग पत्तो लागेको थिएन । २०६६ मा चितवनबाट दुई पटक, २०७३ र २०७२ मा सप्तरीबाट दुई पटक, पर्साबाट २०६७ मा एक पटक, अर्घाखाँचीबाट २०७३ मा एक पटक उक्त उत्पादन गुणस्तरहीन भएकोले खोजी कारबाहीको लागि फाइल जिल्ला प्रशासनमा आएको देखिन्छ ।


घिउ उद्योग भएको ठाउँमा सुरुमा २०५५ मा कम्पनी रजिष्टारको कार्यालयबाट सुधा अग्रवालको नाममा मध्यमाञ्चल कोल्ड स्टोरेज दर्ता भएको थियो । स्टोरेजमा आगलागी भएपछि त्यहाँ मिल्क फुड डेरी उद्योग सञ्चालनमा ल्याइएको हो । घिउ उत्पादनकै लागि आगो चाहिने भएर त्यहीभित्र साविक वीरगन्ज–६ निवासी उमा अग्रवालको नामले बालाजी स:मिल छ ।


मुद्दाको अनुसन्धान सकेर अदालतमा मुद्दा लैजाने खाद्य प्रविध गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख रिजालले बताए । ‘उत्पादित घिउ जाँच गर्दा त्यसमा घिउको मात्रा नै छैन् । रसायनबाट ‘फ्लेवर’ मिसाएर बनाउँदो रहेछ,’ उनले भने ‘नक्कली उत्पादन गरेको अदालतमा ठहर भएमा ५० हजार जरिवाना र पाँच बर्ष कैद हुने कानुनी व्यवस्था छ ।’ नयाँ कानुन आएपछि यस्तो मुद्दा अदालत जाने भएको हो ।


असअघि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान र कारबाही गर्दै आएको थियो । ‘उत्पादित सामानको जाँच गर्दा निश्चित पारामिटर देखेनौं,’ उनले भने ‘नक्कली उत्पादन नै गरेर ११ बर्षदेखि बजारमा ‘सप्लाई’ गर्दै आएको थियो ।’ लामो समयको खोजीपछि यी उद्योग पत्ता लागेको उनको भनाइ छ ।


यस्तो ठाउँमा छ उद्योग
कलैया–वीरगन्ज सडकको प्रसौनी गाउँपालिका–३ मा रहेको गण्डक प्रहरी चौकीको छेउमै एउटा बन्द कोल्ड स्टोरेज छ । त्यहाँ आलु, फलफूल वा अरू केही चिस्यान हुँदैन । आगलागीपछि कोल्ड स्टोरेज बन्द भएको थियो । चारैतिरबाट पर्खालले घेरिएको छ । पर्खालबाहिर र भित्र घना जंगलझाडी छ । त्यहीभित्र घिउ उत्पादन गर्ने थलो र आगोको लागि चाहिने इन्धनलाई स:मिल छ ।


त्यही स:मिलको काठदाउराबाट तताएर घिउ बनाइन्छ । उद्योगको अगाडि कुनै बोर्ड छैन । झाडी र जंगलले समान्य अवस्थामा त्यहाँ उद्योग जोकसैले अनुमान गर्न गाह्रो छ । बाहिरको दृश्य हेर्न उद्योग व्यवस्थापनले कसैले थाहा नपाउने गरी सीसी क्यामरा जडान गरी मोनिटर उद्योगभित्र लगेको छ । उद्योग क्षेत्रमा अचानक कोही आएमा पछाडिबाट भाग्न सक्ने बनाइएको छ ।


‘यसअघि स्थानीय प्रहरी र प्रशासनको मिलेमतोमा उद्योग वर्षौंदेखि सञ्चालन हुँदै आएको थियो,’ प्रसौनी गाउँपालिकाकाका एक जनप्रतिनिधिले भने, ‘प्रहरी र प्रशासनले नदेखेको या जस्तो गरेको थियो । तर, जिल्लामा भर्खरै आएका सीडीओले थाहा पाएछन् ।’


पक्राउ पर्नेको बयान
म मनोजकुमार शर्माको घर रौतहटको गौर नगरपालिका–१ मा पर्छ । २०६२ अघि कृष्ण फर्निचर उद्योग दर्ता गरी स:मिल चलाउँथे । टिसिएनको काठ खरिद गरेर चिरान गरी बिक्री गर्थे । पछि वीरगन्ज घर बताउने रमेश अग्रवालसित चिनजान भयो । अग्रवालकै माध्यमले ६५ हजारमा उनकै साथी (वीरगन्जका राजु मित्तल) सित फर्निचर उद्योग बिक्री गरेँ ।

त्यसपछि उद्योग ‘प्यान’ मा दर्ता गर्न र मिल्क फुड डेरी प्रोडक्ट्स लाइसेन्समा थप गर्न उनीहरूले भने अनुसार गरिदिएँ । कृष्ण फर्निचरमै यो मिल्क डेरी उद्योग थपाइदिएँ । कहिलेकाही रमेशले वीरगन्जमा लिएको कोठामा जान्थे, बस्थे । अस्पताल जाँदा सहयोग गर्थे । एकचोटि प्रसौनीस्थित उत्पादन गर्ने घिउ उद्योगमा जाँदा दूध राखेर ‘ब्वाइल’ गरेको देखाए ।


अहिले उद्योग सिल भएपछि मित्तलको मानिस वीरगन्जका अशोक भन्नेले फोन गरेर उद्योग सिल भएको जानकारी गराएपछि मेरो लाइसेन्समा शंका भएर त्यसको एक/दई दिनमा बारा प्रशासन गएँ । रौतहटको एक एफएममा ६ हजार मासिक तलबमा स्टेसन म्यानेजर भएर काम गर्छु । रमेशको खोजी गर्दा उनी भारतीय नागरिक भएको र उत्तै फरार भएको जानकारी मित्तल परिवारबाट थाहा पाएँ । अहिले म हिरासतमा छु । मित्तललाई प्रहरी र प्रशासनले खोजी गरिरहेको छ । तर, फेला परेका छैनन् ।


प्रकाशित : आश्विन १०, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?