२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

रहिनन् महिला अधिकारकर्मी

शंकर आचार्य

पर्सा — महिलाउपर हुने हिंसाविरुद्ध जीवन नै समर्पित गरेकी जिल्लाकी चर्चित अधिकारकर्मी तथा जिल्ला महिला अधिकार मञ्चकी अध्यक्ष राजकुमारी उपाध्याय रहिनन् ।

रहिनन् महिला अधिकारकर्मी

६० वर्षीया उनको सोमबार साँझ ५ बजे वीरगन्ज पानीटंकीस्थित डेरामा निधन भएको हो । उनको मंगलबार दिउँसो स्थानीय अशोक वाटिकामा दाहसंस्कार गरिएको छ । ठूलो संख्यामा आफन्तजन, इष्टमित्र, शुभचिन्तक, अधिकारकर्मीहरू दाहसंस्कारमा सहभागी भएका थिए ।


२०१५ सालमा जन्मिएकी उनको मूल घर जनकपुर थियो । उनका ३ छोरा र १ छोरी छन् । पतिको निधनपछि १० वर्षअघि उनी एकल महिला भएकी थिइन् । गत वर्ष असोज ८ गतेकै दिन उपाध्यायउपर उनकै डेरामा छिमेकीहरूले बोक्सीको आरोप लगाएर दुव्र्यवहार गरेका थिए । उक्त घटनादेखि नै बिरामी पर्दै आएकी उनलाई पछिल्लो समय शरीरमा अक्सिजनको कमीको समस्या थियो ।


उपाध्यायकी छोरी पत्रकार एवम् अधिकारकर्मी रसना ढकालका अनुसार, गत वर्षको दुव्र्यवहारको घटनापछि नै उनकी आमा राजकुमारीको शरीरमा विभिन्न खाले समस्या देखा पर्दै आएको थियो । ‘लामो समयदेखि पटकपटक विभिन्न रोगले थिच्दै आएको थियो, पछिल्लो समय उहाँको शरीरमा अक्सिजनको कमीको समस्या थियो,’ उनले भनिन्, ‘महिनामा आधाजसो अस्पताल बस्ने, आधा घर बस्ने गर्नुहुन्थ्यो, केही समयदेखि घरमै अक्सिजन दिने व्यवस्था पनि गरेका थियो, हिजो साँझ अचानक उहाँले बोल्न छोड्नुभयो, केही बेरमै निधन भयो, अकल्पनीय रूपमा उहाँले हामीलाई छाडेर जानुभयो ।’


गत वर्षको आफूउपरको दुव्र्यवहारको घटनाअघि अत्यन्त स्वस्थ र सक्रिय रहेकी आफ्नी आमा उक्त घटनापछि बिस्तारै शिथिल हँुदै गएको रसनाले बताइन् । ‘उहाँ पनि त्यो घटनापछि आफ्नो मनोबल खस्केको र शरीरमा कमजोर हँुदै गएको बताउनुहुन्थ्यो,’ उनले भनिन्, ‘तैपनि हिंसा तथा दुव्र्यवहारमा परेका महिलाहरूको हक अधिकारका लागि पैरवी गर्न उहाँले छोड्नुभएको थिएन ।’


आफ्नी आमालाई बोक्सी आरोपमा दुव्र्यवहार गर्नेहरू सरिता श्रेष्ठ, सोनु कार्की, भोगेन्द्र कार्की, प्रीति गुरुङ, सुनील मगरलगायतकाहरू माघमै अदालतमा धरौटी राखी थुनामुक्त भइसकेको रसनाले बताइन् ।


उपाध्यायको निधनले महिला अधिकारको क्षेत्रमा जिल्लाले ठूलो क्षति बेहोरेको अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले बताएका छन् । अभियन्ता प्रकाश थारूले भने, ‘महिला अधिकारको क्षेत्रमा आफ्नो जीवन नै समर्पित गर्नुभएकी उपाध्यायको निधनले जिल्लामा यस क्षेत्रमा अपूरणीय क्षति भएको छ, उहाँको अभाव पूर्ति गर्ने खालको व्यक्तित्व जिल्लामा अहिले कोही छैन ।’


अधिकारकर्मी कोपिला चौलागाई साहले उपाध्यायको योगदानलाई जिल्लावासीले लामो समयसम्म नबिर्सने बताइन् । ‘उहाँ महिला अधिकार तथा महिलाविरुद्ध हुने सबै खाले हिंसाको विरुद्ध आवाज उठाउने इमानदार सिपाही हुनुहुन्थ्यो,’ साहले भनिन्, ‘उहाँको निधनले शोषित पीडित महिला मात्र होइन हामी अधिकारकर्मीहरूलाई पनि ठूलो क्षति भएको छ ।’

प्रकाशित : आश्विन १०, २०७५ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?