कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी खर्चमा तीर्थाटन गराउँदै वडाध्यक्ष

श्यामसुन्दर शशि

जनकपुर — जनप्रतिनिधिहरूमाथि आर्थिक अनियमितताको आरोप लागिरहेको बेला जनकपुर उपमहानगरपालिका २ का वडाध्यक्ष शिवकुमार साहले भने आफ्नो निजी खर्चमा वडाका ज्येष्ठ नागरिकहरूलाई तीर्थाटन गराउँदै छन् ।

निजी खर्चमा तीर्थाटन गराउँदै वडाध्यक्ष

वडाध्यक्षको पदभार ग्रहण गरेको एक वर्ष पुगेको अवसरमा मंगलबार उनले ८२ जनालाई तीर्थाटनका लागि काठमाडौं र मनकामना पठाएका छन् । तीमध्ये ७० जना ज्येष्ठ नागरिक छन् भने बाँकीका स्वयंसेवक । महिला तीर्थयात्रीहरूलाई सारी तथा पुरुषलाई कुर्ता पाइजामा एवं स्वयंसेवकहरूलाई पनि कुर्ता पाइजामासँगै ढाका टोपी पनि दिएका छन् ।


वडाध्यक्ष साहका अनुसार, तीर्थयात्रीहरू बुधबार बिहान काठमाडौं पुग्नेछन् । उनीहरूको आवासको तथा भोजनको व्यवस्था पशुपति धर्मशालामा गरिएको छ । स्वयंसेवकहरूले उनीहरूको भोजन व्यवस्थासँगै धार्मिक एवं पर्यटकीय गन्तव्यहरूको दर्शन गराउनेछन् । उनीहरू बिहान पशुपति दर्शनपश्चात् काठमाडौंका शम्भु, गुहेश्वरीलगायतका धार्मिकस्थलहरूको दर्शन गर्नेछन् ।


सन्ध्या वाग्मतीमा हुने आरतीको अवलोकन गर्नेछन् । बिहीबार बिहान काठमाडौंबाट मनकामना पुगी दर्शन गर्नेछन् । सम्पूर्ण तीर्थयात्रीहरूलाई केवलकारमा यात्रा गर्ने व्यवस्थासमेत गरिएको वडाध्यक्ष साहले जानकारी दिए । वडाध्यक्ष साहले दुई बसको भाडामा १ लाख खर्चेका छन् । सारी, कुर्ता पाइजामा, केवलकारको भाडा तथा भोजन व्यवस्थामा गरी ४ लाख अधिक खर्च हुने अनुमान गरेका छन् । गत जेठ २ गते वडाध्यक्ष साहले वार्डका ५२ जना ज्येष्ठ नागरिकहरूलाई भारतको चर्चित देवघर (बाबाधाम) र राजगीरको यात्रा गराएका थिए ।


जनकपुर उपमहानगरपालिकाले वडाध्यक्षहरूको हकमा मासिक २५ हजार पारिश्रमिक तोकेको छ । एक वर्षदेखि वडाध्यक्ष साहले पारिश्रमिकको भुक्तानी लिएका छैनन् । साह एक वर्षको पारिश्रमिकले वृद्धवृद्धाहरूलाई तीर्थाटन गराउने योजना बनाएका छन् । ‘उनीहरूकै आशीर्वादले वडाध्यक्ष बनेको छु । पाएको पारिश्रमिक उनीहरूकै सेवामा खर्च गर्नेछु ।’


वडाध्यक्ष साहले कान्तिपुरसँग भने । शिवचोक, जनकचोक, भानुचोक, वकिल महल्लासहितका सघन तथा शिक्षित समुदायको बसोबास रहेको जनकपुर उपमहानगरपालिका २बाट स्वतन्त्र उम्मेदवारको रूपमा साह वडाध्यक्ष पदमा विजयी भएका हुन् । शिवचोकका रैथाने निवासी साह छरछिमेकमा सहयोग गर्ने व्यक्तिमध्येका एक हुन् ।


प्रकाशित : आश्विन १०, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?