कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्दै

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीको राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अघि बढेको छ । जग्गालगायतका विषयमा सम्भाव्यता अध्ययन गरी स्वास्थ्य मन्त्रालयको टोली २ महिनाअघि नै फर्किसकेको र मंसिरबाट स्वास्थ्य बिज्ञान प्रतिष्ठानको निर्माण कार्य अघि बढ्ने भएको हो ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्दै


प्रदेश नम्बर २ को प्रदेशसभालाई केही दिनअघि सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने बताएका थिए । साताअघि पार्टीको कार्यक्रममा राजविराज आएका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य चाँडै सुरु हुने बताएका थिए । स्वास्थ्यमन्त्री यादवले केही प्राविधिक र कानुनी विषय समाधान भएलगत्तै स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य अघि बढ्ने बताएका थिए ।


मन्त्रालयले गत असारमा स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा एक टोली प्रतिष्ठानको सम्भाव्यता अध्ययनका लागि पठाएको थियो । उक्त टोलीले राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न उपयुक्त रहेको रायसहित मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको टोलीमा रहेका प्रदेश नम्बर १ को स्वास्थ्य निर्देशनालयका प्रमुख भोगेन्द्रराज डोटेलले बताए ।


राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले मन्त्रालयबाट आएको टोलीलाई हुलाकी राजमार्गअन्तर्गत दिघवा विरौल, देउरी भरुवा र कोसी प्राजेक्टको गरी तीन ठाउँको जग्गामध्ये उपयुक्त हुने जग्गा उपलब्ध गराउन नगरपालिका तयार रहेको आफूहरूले बताएको बताए । उनका अनुसार ती जग्गाहरू उपयुक्त नभएको खण्डमा राजविराज औद्योगिक क्षेत्रको जग्गा पनि विकल्पको रूपमा राखिएको छ । तर अन्य तीन ठाउँकै जग्गामा स्वास्थ्य विज्ञान प्रतिष्ठान खुल्न सके औद्योगिक क्षेत्रमा उद्योगधन्दा नै विस्तार गर्ने कार्यसमेत अघि बढेको नगर प्रमुख यादवले जनाए ।


प्रारम्भिक चरणमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि कम्तीमा २० बिघा जग्गा आवश्यक भएको मन्त्रालयको टोलीले जानकारी दिएको छ । सरकारी स्तरको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल विगतमा रेफरल सेन्टरको रूपमा परिचित भइरहँदा पछिल्लो समय डाक्टर र उपकरणहरू आएपछि केही सुधार देखिएको छ । अञ्चल अस्पताल सुधारोन्मुखतर्फ गइरहेको र स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भए सप्तरी जिल्लामा स्वास्थ्य सेवासंँगै अन्य क्षेत्रमा पनि आमूल परिवर्तन हुने नगर प्रमुख यादवले बताए ।

प्रकाशित : आश्विन १०, २०७५ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?