२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पुन:निर्माण हुँदै जनकपुर

उपमहानगरपालिकाले ३० मिटर चौडाइको सडक विस्तारका लागि दायाँबायाँ दुई हजार घर भत्काएको छ ।
शाहीमान राई

जनकपुर — जग्गा विवाद, मुआब्जा, घर भत्काउने र पुन:निर्माणको विषयमा लामो समय स्थानीयबासीको अवरोध हटाउदै जनकपुर उपमहानगरपालिकाले भानुचोकदेखि रामचोकसम्म सडक विस्तार, ग्राभेल र कालोपत्रे गर्न थालेको छ ।

पुन:निर्माण हुँदै जनकपुर

सडक विस्तारको क्रममा उत्पन्न विवादको कारण लामो समय निर्माण कार्य अवरुद्ध जनकपुर उपमहानगरपालिका अन्तर्गत एकिकृत शहरी विकास आयोजनाले गति लिन थालेको हो ।

जनकपुरबासीको प्रतिष्ठाको विषय बनेको सडक विस्तार, ग्राभेल, कालोपत्रे, सरसफाइ, ढल निकासका लागि ड्रेन निर्माण (हुमपाइप जडान), फुटपाथ, टेलिफोन, खानेपानी र विद्युत लाइन मर्मतसम्भार कार्यमा तीव्रता दिएको छ । सफा, सुन्दर र रमणीय शहर बनाउने उद्देश्यसहित एसियाली विकास बैंकको आर्थिक सहयोगमा पुन:निर्माण सुरु भएको हो ।


आयोजना ठाउँठाउँमा विवाद र अवरोधको कारण गति लिन नसकेको एकीकृत सहरी विकास आयोजनाका इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए । स्थानीयवासीले सडकमा परेका घरजग्गा भत्काइनसकेको र ठाउँठाउँमा अवरोधका कारण २०१८ जुनमा पूरा नभएपछि डिसेम्बरसम्म म्याद थपिएको छ । जनकपुर उपमहानगरपालिकाको परिक्रमा सडकको भानुचोकदेखि शिवचोक, जनकचोक हुँदै रामचोकसम्म ३० मिटर चौडाइको ८ सय मिटर सडक कालोपत्रे गर्न थालिएको हो । रामचोकदेखि महावीर चोक, जानकी मन्दिर, जनकचोक क्षेत्रमा धमाधम घरहरू भत्काइँदै छन् । सडक विस्तारको क्रममा भत्काइएका हजारौं घर पुन:निर्माण भइरहेका छन् । ठेकेदार कम्पनीले विवादित ठाउँमा कालोपत्रे नगरी छाडेका छन् । मुरली चोक, थापाचोक, बन्सिचोकलगायत आसपासको क्षेत्रमा विवादको कारण कालोपत्रे गर्न ढिलाइ भइरहेको इन्जिनियर यादवले बताए ।


एसियाली विकास बैंकको एक अर्ब ९० करोड रुपैयाँ (१९.४ मिलियन डलर) सहयोगमा निर्माणधीन ३१ किलोमिटरमध्ये २३ किलोमिटर ह्युमपाइप विस्तार गरी ड्रेन निर्माण र ३० मिटर चौडाइको ९ दशमलव २५ किलोमिटरमध्ये ७ किलोमिटर सडक कालोपत्रे भइसकेको इन्जिनियर यादवले बताए । ‘थप ८ सय मिटर कालोपत्रे भइरहेको छ, दसैंअघि सकिन्छ,’ इन्जिनियर यादवले भने, ‘केही ठाउँमा अवरोध हटाउन मुस्किल परेको छ ।’ ठाउँठाउँमा विवादकै कारण कालोपत्रे नगरिएको ठाउँमा सडक हेर्न लायकको छैन । कालोपत्रे गरिएको सडक हेर्दा जनकपुरको स्वरुप फेरिँदै गएको अनुभूति गर्न सकिने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत निर्माणाधीन २१ किलोमिटरमध्ये २ किलोमिटर कालोपत्रे गरिसकेको छ ।


ठेकेदार जेडआइपिसि र रमन कन्स्ट्रक्सन कम्पनीले संयुक्त रुपमा २०१६ देखि सुरु गरेको सडक विस्तारको लागि ९८ करोड ९८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको मध्ये ७३ करोड रुपैयाँ भुक्तानी पाइसकेका छन् । यसबाहेक जनकपुर उपमहानगर क्षेत्रको फोहर मैला व्यवस्थापनको निम्ति सेनिटरी ल्यान्डफिल्ड साइड निर्माण गर्न ४० करोड रुपैयाँ खर्च भएको छैन । विद्युत पोल तार विस्तार मर्मतसम्भार एक करोड ४७ लाख, ५ प्रतिशत कन्टिन्जेन्सी, कन्सल्टेन्ट, कार्यालय व्यवस्थापन र कर्मचारी तलबमा खर्च हुने इन्जिनियर यादवले बताए । उनले ल्यान्डफिल्डसाइड व्यवस्थापनको निमित्त गुठी संस्थानसित सम्झौता गरी भाडामा लिएको जनकपुर उपमहानगरपालिका–२२ महुवास्थित ल्यान्डफिल्डसाइडमा स्थानीयवासीले अवरोध गरेका छन् ।


जनकपुर उपमहानगरपालिकाले ३० मिटर चौडाईंको सडक विस्तारको लागि दायाँबायाँ दुई हजार घर भत्काएको छ । भत्काइएका निजी घर सर्वसाधारण आफैंले पुननिर्माण गर्दै छन् । सडक विस्तार क्रममा भत्काइएका घरजग्गाको मुआब्जा, क्षतिपूर्ति वा राहत केही नदिइएकाले उपमहानगरपालिकाप्रति पीडित सर्वसाधारणले गुनासो गर्दै आएका छन् । उपमहानगरपालिकाले मुख्य सडकको चौडाइ तीस मिटर, सहायक सडक २० मिटर, पुराना बजारको सडक १५ मिटर, १३ मिटर, ९ मिटर कायम गरेको छ । मुख्य सडकको दायाँबायाँ २/२ मिटरको, साँघुरोमा १/१ मिटरको पेटी निर्माण गर्ने जनाएको छ ।

उपमहानगर क्षेत्रमा सहरी विकास तथा भवन निर्माण विभागले ८३ करोड रुपैयाँ लगानीमा सडक विस्तार, ग्राभेल, कालोपत्रे, ड्रेन, ढल, नाला, कल्भर्ट निर्माण गरिरहेको छ । विगतमा ढल, कल्भर्ट विनाका साँघुरा सडक, फोहरमैला व्यवस्थापन समस्या, अव्यवस्थित सहरीकरण, बजार, बस्ती, पसल, खानेपानी, ढल निकास लगायत अस्तव्यस्त सहरको स्वरुप परिवर्तन गर्न कुनै कसुर बाँकी नराखी पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको जनकपुर उपमहानगरपलिकाका प्रमुख लालकिशोर साहले बताए ।

प्रकाशित : आश्विन ११, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?