विद्यालय फर्किंदै किशोरीहरू

शंकर आचार्य

पर्सा — ‘संवादले हाम्रो जीवनमा परिवर्तन ल्याएको छ, पहिले छोरीले पढ्न हुन्न र छिटो विवाह गरिदिनुपर्छ भन्ने मान्यता थियो, अहिले हामीले त्यसो हुन दिएका छैनौं, बालविवाह रोकिएको छ, किशोरी एसईईमाथि पनि पढ्न थालेका छन् ।’

विद्यालय फर्किंदै किशोरीहरू

जिल्ला समन्वय समितिको कार्यालय पर्सामा आइतबार नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले आयोजना गरेको बालविवाह तथा दहेज प्रथा निर्मुल विषयक हस्ताक्षर अभियान तथा सडक नाटक प्रदर्शन कार्यक्रममा १९ वर्षीया सरबुन खातुनले दिएको अभिव्यक्ति हो यो ।


सरबुन वीरगन्ज महानगर ३१ बेल्वाकी बासिन्दा हुन् । यस वर्षको जनवरीदेखि उनको गाउँमा सञ्चालित किशोरी सशक्तीकरणका लागि संवाद कार्यक्रमकी उनी सहजकर्ता हुन् । गाउँमा इस्लामिक किशोरी समूह र दुर्गा किशोरी समूह गरी २ वटा समूहमा आबद्ध ५० किशोरीको शिक्षा, स्वास्थ्य, लैंगिक हिंसा, बाल विवाह, दाइजो विरोधी अभियान जीवनोयोगी शिक्षा जस्ता विषयमा संवादसँगै वकालतको पाटोमा उनी काम गर्छिन् । संवादले किशोरीहरूको जीवनमा परिवर्तन आएको दाबी गरेकी सरबुनको छ ।


अर्की वक्ता सम्झना किशोरी संवाद समूह लालपर्सा ३० प्रसोतीपुरकी १७ वर्षीया हजारा खातुन थिइन् । उमेर पुगेको भन्दै गत वर्ष उनका अभिभावकले नै उनलाई कक्षा ८ माथि पढ्न दिएका थिएनन् । यस वर्ष भोजभगत मावि परवानीपुरमा कक्षा ९ मा भर्ना भएकी छन् । किशोरी संवाद कार्यक्रमकै कारण उनको विद्यालय पुन: आगमन सम्भव भएको हो ।


‘किशोरी संवाद कार्यक्रमले नै मेरो विद्यालयमा पुन: आगमन सम्भव भएको हो,’ उनले भनिन्, ‘म अहिले अभिभावककै सहमतिले विद्यालय आउन थालेकी हुँ । मुस्लिम समुदायका यी दुबै किशोरीहरूको सार्वजनिक रूपमा प्रस्तुत हुने निर्भिक शैली र विषय उठानले सहभागीको मन छोएको थियो ।


युरोपियन युनियनको सहयोगमा चाइल्ड नेपाल र संरक्षण नेपालको सहकार्यमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आयोजनामा वीरगन्ज महानगरका वडा नं २९, ३० र ३१ गरी ३ वडामा यस वर्षको जनवरीदेखि सञ्चालित कार्यक्रममा ४ सय किशोरी आबद्ध छन् । किशोरी संवाद कार्यक्रमकी बारा पर्सा संयोजक भगवती शर्मा भण्डारीका अनुसार यो कार्यक्रमले पहिलो वर्ष नै ३ वटा वडाका विद्यालय जान छाडेका १ सय ४७ किशोरीलाई पुन: विद्यालय जोड्न सफल भएको छ । कार्यक्रमअन्तर्गत ८ वटा संवादमा १६ समूह सक्रिय छन् ।


संवाद कार्यक्रममा आबद्ध सहजकर्ता किशोरीहरूले विद्यालय बाहिर रहेका किशोरीहरूलाई विद्यालय भर्ना गराउन, विद्यालय फर्काउन विशेष भूमिका खेल्छन् । यसका लागि किशोरीका अभिभावसँग उनीहरूले गहन छलफल गरेर अभिभावककै राजिखुसीले तीनका छोरीहरूलाई विद्यालय ल्याइन्छ ।


यसका साथै विद्यालयको आन्तरिक सुशासनसँगै सुधारमा सहजीकरण तथा सहयोग गर्ने, बालविवाह र दाइजो प्रथाविरुद्ध सचेतना बढाउन सडक नाटक, अन्तरसंवाद, भिडियो प्रदर्शनी, स्थानीय सरकारको क्षमता विकास र समन्वय, किशोरी र तिनका अभिभावक समेतको जीविकोपार्जनका लागि सीपमूलक तालिम दिने लगायतका काम कार्यक्रमअन्तर्गत गरिएको भण्डारीले बताइन् ।


आउँदो वर्ष विद्यालय बाहिर रहेका थप ४ सय किशोरीहरूलाई विद्यालय ल्याउने योजनाका साथ काम भइरहेको उनले बताइन् । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नेकमहम्मद अन्सारी, वीरगन्ज महानगरकी उपमेयर शान्ति कार्की लगायतकाले कार्यक्रमको प्रशंसा गरेका थिए ।

प्रकाशित : आश्विन १५, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?