१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

तीन पुस्तादेखि नर्सरी व्यवसाय

शाहीमान राई

जनकपुर — जनकपुरस्थित रामसागरको किनारामा एउटा आकर्षक नर्सरी छ । जहाँ आँप, लिची, नरिवल, सुपारी, अम्बा, दारिम, अनार, धुपी लगायत विभिन्न फूलका बिरुवाले मन लोभ्याउँछ ।

तीन पुस्तादेखि नर्सरी व्यवसाय

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित रामसागर र धनुषसागर किनारामा हरियाली बोटबिरुवा, फलफूल थरीथरी फूलका बगैंचा बनाउने यहाँका दुई जना मुस्लिम दाजुभाइ हुन् । वर्षौंदेखि नर्सरी व्यवसाय गर्दै आएका मुस्लिम दाजुभाइको कथा पनि बेग्लै छ ।


जनकपुर उपमहानगरपालिका–२२ रामपुरका ६९ वर्षीय मोहम्मद अताउल्लाह मिया बाबुसँगै नर्सरीमै हुर्किएका हुन् । उनले थाहा पाउँदा बाबु पनि नर्सरी व्यवसाय नै गर्थे । सानै उमेरदेखि नर्सरीमै हुर्किए, बढे र भारतको दरभङ्गामा कक्षा १२ सम्म अध्ययन गरेका उनी जागिरप्रति आकर्षित भएनन् ।


कपाल सेतै फुलेका मोहम्मद अताउल्लाहको जीवन नर्सरीमै गुजार्दै आएका छन् । सबै बोटबिरुवा, फलफूल तथा अर्नामेन्टल (गहनाजन्य फूल) फ्लावरको नाम समेत अङ्गेजीमा लेखेर किताब जस्तै व्यान्डिङ गरेका छन् । उनका बाबु मोहम्मद मोतिउर रहमान गुठी संस्थान जनकपुरका कर्मचारी थिए । उनकै बाबुले त्यति बेला संस्थानकै दुई करा जग्गा भाडामा लिएर नर्सरी व्यवसाय विस्तार गरेको बताए । अताउल्लाहको बाजे मोहम्मद मियाँ जान समेत जनकपुरमा नर्सरी व्यवसायी नै थिए । बाबुबाजैकै पालादेखि सुरु गरेको नर्सरी व्यवसाय विस्तार गर्दै आयआर्जनको माध्यम बनाएका छन् ।


रामसागर किनारामा नर्सरीको फूल, फलफूल र बोटबिरुवा स्याहार्दै छन् ५५ वर्षीय मोहम्मद मोहन अन्सारी । उनी बिहान बेलुकी श्रीमतीसहित नर्सरीमै समय विताउँछन् । अन्सारी पनि अताउल्लाहकै काकाको छोरा हुन् । नर्सरी व्यवसायमा उनीहरूले साझेदार रहेको अताउल्लाहले बताए । अन्सारीको बाबु मोहम्मद हासिम अन्सारी नर्सरी व्यवसायी नै हुन् ।


उनको बाजे स्वर्गीय मोहम्मद करिमुद्धिन अन्सारीले नर्सरी व्यवसाय गर्दै छोरा नातिलाई खेती गर्न सिकाएको मोहनले बताए । नर्सरीमै ६० वर्ष विताएका अताउल्लाहको दुई श्रीमतस्, दस जना छोराछोरी सहित १३ जनाको परिवार, मोहन अन्सारीको श्रीमती, छोराछोरीसहित १० जनाको परिवार नर्सरी खेती गरेरै जीविकोपार्जन गर्दै आएको अताउल्लाह मियाले बताए । ‘हाम्रो मुख्य पेसा नै नर्सरी हो, नर्सरीमा बिरुवा हुर्काउँछौं, बेच्छौं, किन्छौं, यसैबाट खान्छौं, छोराछोरीको पढाइ खर्च सबै धानेका छौं,’ अताउल्लाहले भने, ‘नर्सरी खेतीको कमाइबाट छोराछोरीलाई भारत, अस्ट्रेलियासम्म पढ्न पठाएको छु ।’


रामसागरको नर्सरीको जग्गा थोरै भएकाले अताउल्लाहले जनकपुर उपमहानगरपालिका–२० रामपुरमा आफ्नै १४ कठ्ठा जग्गामा बहुउद्देशीय नर्सरी व्यवस्थापन गर्दै आएका छन् । दुई ठाउँको नर्सरीबाट उनीहरूले लगानी र घर परिवारको खर्च कटौती गरेर वार्षिक ५ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए । नर्सरी व्यवसाय गर्न उनीहरू सरकारी तथा गैरसरकारी निकाय कतैबाट तालिम लिएका छैनन् ।


सरकारी निकायबाट चासो पनि छैन तर उनीहरूले उत्पादन गरेको बोटबिरुवा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा सप्तरी लगायत हेटौंडा, काठमाडौं, उदयपुर, सिन्धुली, ओखलढुङगा, खोटाङ, भोजपुर, धनकुटा र तराई पहाडका अधिकांश जिल्लामा निर्यात हुने गरेको बताए । ‘हाम्रो तालिम नर्सरीमै हो, नर्सरीको अभ्यास नै हाम्रो तालिम भयो,’ अताउल्लाहले भने, ‘यो सबै प्राक्टिकलबाट प्राप्त ज्ञान हो, बाबु बाजेले पनि तालिम लिएका थिएनन् ।’


उनीहरूले बोट बिरुवा फलफूलको वैज्ञानिक नाम फरर भन्ने मात्रै होइन, कितावको ठेली नै बनाएका छन् । उनले हजारौं किसिमका मौसमी तथा बेमौसमी माटो सुहाउँदो विश्वको जुनसुकै ठाउँमा पाइने, जहाँ पनि हुर्किने बोट बिरुवा नर्सरीमा हुर्काउने गरेको अताउल्लाले बताए ।

प्रकाशित : आश्विन १५, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?