कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठूला दलका नेता कार्यकर्ताले मधेशको जंगल सखाप पारे : मुख्यमन्त्री राउत

श्यामसुन्दर शशि

काठमाडौँ — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ठूला दलका नेता कार्यकर्ताहरुले नियोजित रुपमा मधेशको जंगल सखाप पारेको आरोप लगाएका छन् । 

ठूला दलका नेता कार्यकर्ताले मधेशको जंगल सखाप पारे : मुख्यमन्त्री राउत

महात्मा गान्धीको १४९ औं जयन्तीको अवसरमा महात्मा गान्धी स्मृति प्रतिष्ठान, नेपाल केन्द्रिय समिति तथा सेभ हिस्टोरिकल जनकपुरधामले मंगलबार आयोजना गरेको ‘गान्धी दर्शन सन्दर्भ : स्वच्छता र राजनीतिक स्वतन्त्रता’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नेपाल कम्युनिष्ट पार्टी तथा नेपाली कांग्रेसतर्फ लक्षित गर्दै केही पार्टीले आफ्ना नेता कार्यकर्तालाई पाल्न जंगल काट्ने लाइसेन्स नै बाँडेको आरोप लगाए ।


मुख्यमन्त्री राउतले ठूला पार्टीका नेता कार्यकर्ताहरुको हालीमुहाली रहेको सामुदायिक तथा साझेदारी वन कार्यक्रम अन्तर्गत मधेशको जंगल फडानी गरिएको आरोप लगाए । ‘यस प्रदेशमा अब जंगल फडानीको चलखेल चल्दैन । प्रदेश सरकारले हरित प्रदेश अभियान सुरु गरेको छ । अब रुख कटानी होइन । रोपनी हुन्छ,’ उनले भने ।


हरित प्रदेश अभियान अन्तर्गत प्रदेश २ का ८ वटै जिल्लामा गत शुक्रबार ५० हजार रुख रोपेर जंगल जोगाउने अभियान सुरु गरिसकेको दाबी गर्दै उनले अब कागजमामात्र रुख नरापेर वास्तविक रुपमा रोपिने र संरक्षण पनि गरिने बताए ।


मुख्यमन्त्री राउतले स्वच्छता स्वतन्त्रता पनि ठूलो कुरा भएको बताए । प्रदेश सरकार जानकी मन्दिरबाट स्वच्छता अभियान सुरु गर्न लागेको जानकारी दिँदै उनले जानकी मन्दिर सौन्दर्यीकरणका लागि आठ करोड विनियोजन गरिएको बताए । ‘जानकी मन्दिर प्रदेशको धरोहर हो । हामीले स्वच्छता अभियानको आरम्भ यँहीबाट गर्ने निर्णय गरेका हौं,’ उनले भने ।


महात्मा गान्धी स्मृति प्रतिष्ठान, नेपालका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा प्रदेश सभा सदस्य तथा सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष रामाशिष यादव, भारतीय दूतावासका डीसीएम अजय कुमार, भारतीय स्वच्छता अभियन्ताहरु विजय भाई तथा संजय सिंह, अर्थविद भोगेन्द्र झा, वन विज्ञहरु गणेश राय र सुरेश शर्मा लगायतका वक्ताहरुले पनि सम्बोधन गरेका थिए ।

गान्धी जयन्ती तथा विश्व अहिंसा दिवसको अवसरमा मंगलबार बिहान जनकपुर सफाई अभियान पनि संचालन गरिएको थियो ।

प्रकाशित : आश्विन १६, २०७५ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?