विवाद चुलिएपछि केन्द्र सारियो

रवीन्द्र उप्रेती

महोत्तरी — नगर कार्यालयमा तालाबन्दी गर्दै कामकाज ठप्प पारेपछि आन्दोलनकारी र औरही नगरपालिकबीचको विवाद गहिरिएको छ ।

विवाद चुलिएपछि केन्द्र सारियो

आन्दोलनको नामम असुरक्षा बढाएको, अनावश्यक दु:ख दिएको, नगरपालिकाविरुद्ध भ्रम छरेको र जनताको सेवासुविधा पाउने अधिकार कुण्ठित गरेको भन्दै औरही नगरपालिकाले साविकको ठाउँबाट कार्यालय नै सारेको छ । अहिले नगरपालिका वडा नं ९ स्थित टिमकियामा अस्थायी कार्यालय खडा गरिएको छ । नगरपालिकाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यालय सारेको पुष्टि गरेको छ ।


‘नगरपालिकाको २ तिहाई बहुमतबाट केन्द्र र नामकरणका सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद २ को दफा ४ को उपदफा ३ बमोजिम निर्णय गरी पहल गर्ने जानकारीसमेत स्थानीय जनतालाई गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।


नरपालिकाको औरही १ मा रहेको केन्द्रमा स्थानीय केही व्यक्तिले विराधेका नाममा धर्ना, आन्दोलन, सडक अवरोध गर्दै मंगलबारदेखि नगर कार्यालयमा तालाबन्दी जस्ता अराजक र गैरजिम्मेवार काम गरी अनावश्यक दु:ख दिएकाले कार्यालय सार्नु परेको नगर प्रमुख सुनिल यादवको स्पष्टोक्ति छ । नगरप्रमुख यादवले अनावश्यक बखेडा झिकेर कार्यालयको कामकाज नै ठप्प पारेकाले स्थायी रूपमै केन्द्र सार्ने र नगरको नामसमेत फेर्ने विषयमा गृहकार्य भइरहेको जनाए ।


औरही नगरपालिकामा बेथिति बढेको भन्दै विरोध सुरु भएदेखि आन्दोलनकारी र नगरप्रमुखबीच द्वन्द्व चर्कदै गएको स्थानीयको भनाई छ । बेथितिविरुद्ध राजपाका स्थानिय नेता दरेश यादवको संयोजकत्वमा २ साताअगिदेखि आन्दोलन सुरु भएको थियो ।


उनीहोले १५ बुदे माग अघि सार्दै ज्ञापनपत्र, खवरदारी सभा, अल्टिमेटम, सडक जामसमेत गरिसकेका छन् । सुनुवाइ नभएपछि आइतबार धर्ना र मंगलबारदेखि औरहीस्थित नगर कार्यालयको मूलगेटमा गरेको तालाबन्दी जारी छ ।


आन्दोलनका संयोजक यादवका अनुसार आन्दोलनकारीले उठाएका मागमा आव ०७५/७६ को बजेट सार्वजनिक गर्नुपर्ने, नगर परिषदको निर्णय सार्वजनिक गर्नुपर्ने, दोहोरो कर खारेज, सेवा दस्तुर मिनाहा, योजना छनौटमा जन सहभागिता, न्यायिक समितिको पूर्ण कार्यान्वयन लगायत छन् ।


दरेशका अनुसार यति सामान्य माग पनि सम्बोधन गर्न नचाहेकाले दबाबका लागि तालाबन्दी गर्नु परेको हो । नगर प्रमुखको बेवास्ताका कारण बाध्य भएर आन्दोलन गर्नु परेको उनको आरोप छ । ‘जनताले उठाएको मागलाई कमसेकम छलफलमा त राख्न सकिन्थ्यो,’ उनले प्रश्न भने, ‘नरप्रमुख वार्तामसमेत बस्न नचाहेपछि धर्ना र तालाबन्दी गर्नु परेको हो ?’ नगरप्रमुख सुनिल यादवले वार्तामा आफू नभई आन्दोलनकारी नआएको आरोप लगाएका छन् । छलफलका लागि जलेश्वरस्थित जिल्ला समन्वय समितिले बोलाएको बैठकमा आन्दोलनकारी नपुगेपछि आफू फर्केर आएको नगर प्रमुख यादवले जनाए ।


आन्दोलनका नाममा उठाइएका अधिकांश मागहरू अघि नै सम्बोधन भइसकेको नगरप्रमुखले दाबी गरे । केही मागहरू विरोधका लागि विरोध गर्न मात्र उठाइएको उनको आरोप छ ।


आव ०७५/७६ बजेट असोज ६ गते औरहीनजिकैको सोनामाई गाउँमा सार्वजनिक गरिसकेको नगर प्रमुखको भनाइ छ । वडा वडामा स्थानीयको भेला गराई योजना छनौट गरेको र जिल्लाभरका स्थानीय तहको तुलनामा औरही नगरपालिकाको सेवा दस्तुर कम भएको उनको दाबी छ । न्यायिक समितिको पूर्ण कार्यान्वयन लगायतका केही मागहरू भने प्राविधिक र अन्य कारणले तत्कालै अभ्यासमा ल्याउन कठीन भएको उनले जनाए । माग उठायो भन्दैमा एउटै कुरा दोहोर्‍याइतेहर्‍याई गर्न नसकिने उनले बताए ।


‘उचित माग भए पो पूरा गर्न पहल गर्ने,’ उनले भने, ‘दसैंको मुखमा तालाबन्दी गरेर विवाद खडा गरेपछि नगरपालिकाको नाम र नगर कार्यालय नै फेर्ने निर्णयमा पुगेका हौं ।’


यसका लागि औरहीदेखि ३ किमि दूरीमा रहेको सोनामाई गाउँको नाममा नगरपालिकाको नामकरण गरी केन्द्र पनि स्थायी रूपमा त्यहीं सार्ने गृहकार्य भइरहेको नगर प्रमुख यादवले जनाए । प्रसिद्ध भगवती सोनासती माईको पवित्रस्थल रहेको सोनामाईको नाममा ५० जनाको बोर्डमा ३८ जनाले सहमति जनाइसकेको उनको भनाइ छ ।


आन्दोलनका संयोजक दरेश यादवले भने नगरको नाम फेर्ने र कार्यालय स्थानान्तरण गर्ने कुराले आन्दोलनलाई थप चर्काउने बताए । ‘आवेगमा गरिने यस्ता निर्णय नगरका लागि दुर्भाग्य हुने छ,’ दरेशले प्रतिवाद गरे ।

प्रकाशित : आश्विन २०, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?