दसैं रौनक : बेहुलीझैं सिँगारिए शक्तिपीठ

सन्तोष सिंह

धनुषा — दुर्गा पूजाको भजनले जनकपुर गुञ्जायमान छ । मैथिली, भोजपुरी र हिन्दी भाषाका दुर्गा भजनले जनकपुरमा दसैंको रौनक बढेको छ । जनकपुरको चोक–चोकमा दुर्गा पूजाका लागि भव्य पन्डाल निर्माण गरिएको छ ।

जनकपुरको रामानन्द चोकमा दसैंका लागि निर्माण गरिएको पण्डाल । तस्बिर : सन्तोष र पवन/कान्तिपुर

दसैंमा जनकपुरको राजदेवी मन्दिर मुख्य आकर्षण भए पनि यहाँ रामानन्द चोक, भ्रमरपुरा चोक, मुरली चोक र रजौलमा भव्य मूर्ति स्थापना गरी दुर्गा पूजाको तयारी गरिएको छ । एक महिना अगाडिदेखि नै माटोको मूर्ति बनाउन सुरु भएको जनकपुरमा बुधबार कलश यात्रा निकालेर घटस्थापना गरिएको छ ।

जनकपुरमा दसैंको आगमनसँगै चहलपहल बढेको छ । जनकपुरवासीहरू उत्साहित भएर दसैंको तयारीमा जुटेका छन् । दुई दशक अगाडिसम्म यहाँको दसैं औपचारिकतामा मात्रै सीमित थियो । तर अब भने जनकपुरमा वर्षैपिच्छे दसैंको रमझम बढ्दा विदेशीलाई पनि लोभ्याएको छ । दुर्गा पूजाका लागि जनकपुर दुल्हीझै सिँगारिन्छ । जसको तयारी अन्तिम चरणमा छ ।

धार्मिक एवं एतिहासिक नगरी भनेर चिनिने जनकपुरधाममा दसैं आउन साथ घटस्थापनादेखि विजयादशमीसम्म राजदेवी, बौधीमाई, देवीस्थान सहितका शाक्तिपीठहरूमा राति दुई बजेदेखि मध्याह्न १२ बजेसम्म पूजा तथा दर्शन गर्नका लागि भक्तजनको लाम लाग्छ । एकातर्फ श्रद्धालु भक्तजन देवी भगवतीको दर्शनार्थ पंक्तिबद्ध भएका हुन्छन् भने अर्कोतर्फ वैदिक विधि तथा मिथिलाको परम्पराअनुसार हवन र यज्ञ, स्तुतिगान, दुर्गापाठ सहितका भजन कीर्तन गर्ने परम्परा छ ।

घटस्थापनापछिको तेस्रो दिनमा शक्तिपीठहरूबाट बाजागााजाका साथ भजन कीर्तनका साथ झाँकी निकाली कुनै निर्धारित समयमा गएर बेलवृक्षलाई पूजा गरिन्छ । जसलाई बेलनौती भनिन्छ । पूजापश्चात् एउटै हाँगामा जुधेर फलेको बेलफूललाई पहेंलो कपडाले बेरेर मन्त्रोच्चारण गरी बाँधिन्छ । घटस्थापनाको सातौं दिन अर्थात् सप्तमीका दिन सो बेल फललाई टिपेर शक्तिपीठहरूमा ल्याई भगवतीका चरणमा राखेर वलि प्रदान गरिन्छ ।

जनकपुरधामको केन्द्रमा पर्ने राजदेवी मन्दिरमा अष्टमीका दिन ठूलो भीड लाग्ने गर्छ । सर्वसाधारणका लागि राजेदेवीको पटद्वार एक दिन अष्टमीमा मात्रै खुल्ने परम्परा रहेकाले सो दिन यहाँ लाखौं भक्तजनको भीड हुन्छ । दर्शन तथा पुजा अर्चना गर्नको लागि भक्तजनहरू पाँच किलोमिटरसम्म लाइनमा बसेका हुन्छन् । तर राजदेवी मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हून्छ । मन्दिरका महन्थ राम गिरीका अनुसार महिनावारी भएका महिला पनि मन्दिरमा प्रवेश गर्न सक्ने भएकाले महिलाको प्रवेशमा रोक लगाइन्छ ।

Yamaha

बाराको कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयामा आयोजित दुर्गा पूजाका लागि बुधबार निकालिएको जलयात्रा ।


दुर्गा पूजा अवसरमा जनकपुर रामानन्द युवा, राम युवा कमिटी, महावीर युवा कमिटीले सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेका छन् । साँझ आयोजना हुने, सांस्कृतिक कार्यक्रम (भजन सन्ध्या) मा नेपालका विभिन्न जिल्ला र भारतका सुप्रसिद्ध कलाकारहरूले भाग लिने गरेको रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साहले बताए । दुर्गा पूजाका लागि १० लाख चन्दा संकलन गरिएको अध्यक्ष साहले बताए ।

जनकपुरमा दसैंको आकर्षण अष्टमीका दिन राजदेवीमा खसीबोकालाई वलि दिनु हो । वलि प्रदान जनकपुरको दसैंको एक प्रमुख उत्सव बन्न पुगेको छ । तर, वैष्णव समाजले वलि प्रथालाई विरोध गर्दै आएका छन् । दुई दशक अघिसम्म जनकपुरको दसैंमा कुनै आकर्षण थिएन । तर २०४७ सालदेखि श्रीराम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबले सक्रियता देखाएपछि दसैंको रौनक बढ्न थालेको हो । जनकपुरमा दसैंको उत्सव, रमझम बढे पनि यहाँका व्यापारीहरू भने दु:खी नै देखिएका छन् ।

व्यापारी असन्तुष्ट
मधेस आन्दोलनपछि जनकपुरबाट अधिकांश पहाडी समुदायका व्यक्ति पलायन भएका छन् । दसैंको अवसरमा पहाडी मूलका व्यक्तिले मधेसीको तुलनामा बढी किनमेल गर्छन् । गणपति ज्वेलर्सका सञ्चालक सञ्जीव साहका अनुसार दसैंमा गहना र कपडाका व्यापारी ग्राहक पर्खेर बस्ने गर्थे । तर पछिल्लो समय दसैंमा खासै व्यपार भने हुने गरेको छैन ।

दसैं सुरु भए पनि जनकपुरमा एडीबीको ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास परियोजना अन्तर्गत निर्माण भइरहेको सडकका कारण व्यापारीले दसैंको बजार सञ्चालन गर्न सकेका छैनन् । सडक विस्तारका क्रममा भत्काइएका घरहरू मर्मत हुन नसकेपछि व्यपारी महिनौंदेखि घाटा सहेर सटर बन्द गरेर बसेका छन् । सडक विस्तारका कारण यहाँको व्यवसाय नै धराशायी भएको छ । आवतजात गर्न सडक नहुँदा व्यापारीले पसलको ताल्चा खोलेको महिनौं भइसकेको छ ।


सडक विस्तारका कारण व्यवसाय खस्किँदै गएपछि ऋण र कर्जाको दबाब थेग्न नसकेर केही व्यापरी विस्थापित भएको व्यवसायी शंकर पासवानले बताए । दसैंको मुखमा पनि सडक निर्माण हुन नसक्दा पसलमा ग्राहक नै नआएको उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष ललित साहले बताए । दसैंका लागि एकै स्थानमा सबै समान खरिद गर्ने उद्देश्यले जनकपुरमा सस्ता बजार बुधबारदेखि सुरु गरिएको अध्यक्ष साहले बताए ।

‘सस्तो बजारको’ आकर्षण
दसैंमा हरेक वर्ष जनकपुरको गोपाल धर्मशाला परिसरमा सञ्चालन हुने अस्थायी बजार बुधबारदेखि सुरु भएको छ । घटस्थापनाको दिन सुरु भएर अष्टमीसम्म सञ्चालन हुने उक्त बजारको स्टलमा दैनिक उपभोग्य सामान उपलब्ध हुने उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले बताए । धर्मशाला भवनभित्र र परिसरमा पाल टाँगेर स्टल बनाइएको दसैं बजार सुरु भएको छ ।

सस्तो बजारमा चाउचाउ, अगरबत्ती, साबुन, सर्फ, चियापत्ती, बिस्कुट, चिनी, कपडा, चप्पल जुत्ता, शृंगार, मैनबत्ती, भाँडाकुँडा र प्लास्टिकका समान बिक्री हुने गरेको छ । दसैं बजार भनिए पनि सर्वसधारणमा अस्थायी बजारलाई सस्ता बजार भनेर बुझ्ने बढी छन् । यहाँ बाहिरको बजारभन्दा कम मूल्यमा सामान पाइने भएर सस्तो बजार भनिन्छ । दसैं बजारलाई नै केन्द्रित गरी जनकपुरको दसैं मेला व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

ग्रामीण बजारमा व्यापार फस्टाउँदै

अवधेशकुमार झा

काठमाडौँ — ग्रामीण बजारहरूको ब्यापार बढ्दै गएको छ  । दुई/चार वर्षअघिसम्म सामान्य चोकका रूपमा विस्तार भएको स्थानमा अहिले बजारको रूप लिइँदै गएपछि व्यापार बढेको छ भने स्थानीय उपभोक्ताहरूलाई पनि सहज भएको छ  ।

साप्ताहिक हटिया लाग्ने स्थानहरूमा भने बजार विकास चाँडै भएको छ । राजविराज बजारदेखि ६ किलोमिटर पूर्व रहेको तिलाठी कोइलाडी गाउँपालिकाको तोपा बजार पनि क्रमश: विकास भएको बजार मध्येको एक हो । ‘हाम्रो बजारमा अहिले सुनदेखि नुनसम्म पाइन थालेको छ,’ स्थानीय युवा शिवकुमार मण्डलले भने, ‘बजार विस्तारसँगै व्यापार पनि बढेको छ ।

एक दुई किराना, पान र चिया पसलबाट सुरु भएको तोपा बजारमा अहिले ठूलठूला पसलहरू सञ्चालनमा आएको छ । त्यहाँ हार्डवेयरका पसलदेखि सुन पसल सम्म सञ्चालन छ । किराना, पान लगायत अन्य पसलको संख्या पनि थपिँदै गएको छ । तोपा बजारमा प्रत्येक मंगलबार र शुक्रबार साप्ताहिक हटियासमेत लाग्ने गरेको छ ।

शुक्रबार त झन् मुलुकमै नाम चलेको पशुहाट समेत लाग्ने गरेको छ । उक्त पशुहाटमा प्रत्येक हप्ता एक करोडभन्दा बढीको कारोबार हुने गरेको तिलाठी कोइलाडी वडा नम्बर ८ का वडासदस्य शिवनारायण मण्डलले बताए । ‘अब हामी दैनिक उपभोग्य सामग्रीदेखि घर निर्माणका सामग्रीसम्म, सुनदेखि वस्त्रसम्म गाउँमै पाउन थालेका छौं,’ वडा सदस्य मण्डलले भने, ‘बजारको विस्तारसँगै स्थानीयलाई पनि सहजता भएको छ ।

तोपाको बजार विस्तारजस्तै तिलाठी कोइलाडीकै कोइलाडी चोकले पनि बजारको रूप लिन थालेको छ । सुरुवातमा सामान्य हटियाको चोकबाट सुरु भएको कोइलाडी चोकले अहिले बजारको रूप लिन थालेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले बताए । ‘मानवको आवश्यकताअनुसार अहिले ग्रामीण बजारहरू फस्टाउँदै गएका छन्,’ गाउँपालिका अध्यक्ष सिंहले भने, ‘विगतमा सामान्य दैनिक उपभोग्य वस्तुका लागि सदरमुकाम नै कुद्नुपर्ने विवशता अहिले समाप्त भएको छ ।’

तोपा र तिलाठी मात्र होइन जिल्लामा पछिल्लो समय विभिन्न ग्रामीण चोकले अहिले बजारको रूप लिन थालेका छन् भने विगतमै बजार भइसकेका स्थानमा भने व्यापारिक प्रतिष्ठानहरू थपिने क्रम बढ्दो छ।

खासगरी जिल्लाको हनुमाननगर, कञ्चनपुर, बरमझिया, भारदह, फत्तेपुर, महुली, वीरेन्द्रबजार, रूपनी, बोदेवरसाइन, पातो, बिसनपुर, सखडा, कठौना लगायतका बजारहरूमा पछिल्लो समय व्यापारिक प्रतिष्ठान थपिने क्रम बढ्दो छ भने उपभोक्ताको आर्कषण पनि बढ्दै गएको छ । सदरमुकाम राजविराज त झन् सुरुवातदेखि नै मूल बजारका रूपमा स्थापित छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT