ग्रामीण बजारमा व्यापार फस्टाउँदै

अवधेशकुमार झा

काठमाडौँ — ग्रामीण बजारहरूको ब्यापार बढ्दै गएको छ  । दुई/चार वर्षअघिसम्म सामान्य चोकका रूपमा विस्तार भएको स्थानमा अहिले बजारको रूप लिइँदै गएपछि व्यापार बढेको छ भने स्थानीय उपभोक्ताहरूलाई पनि सहज भएको छ  ।

ग्रामीण बजारमा व्यापार फस्टाउँदै

साप्ताहिक हटिया लाग्ने स्थानहरूमा भने बजार विकास चाँडै भएको छ । राजविराज बजारदेखि ६ किलोमिटर पूर्व रहेको तिलाठी कोइलाडी गाउँपालिकाको तोपा बजार पनि क्रमश: विकास भएको बजार मध्येको एक हो । ‘हाम्रो बजारमा अहिले सुनदेखि नुनसम्म पाइन थालेको छ,’ स्थानीय युवा शिवकुमार मण्डलले भने, ‘बजार विस्तारसँगै व्यापार पनि बढेको छ ।

एक दुई किराना, पान र चिया पसलबाट सुरु भएको तोपा बजारमा अहिले ठूलठूला पसलहरू सञ्चालनमा आएको छ । त्यहाँ हार्डवेयरका पसलदेखि सुन पसल सम्म सञ्चालन छ । किराना, पान लगायत अन्य पसलको संख्या पनि थपिँदै गएको छ । तोपा बजारमा प्रत्येक मंगलबार र शुक्रबार साप्ताहिक हटियासमेत लाग्ने गरेको छ ।

शुक्रबार त झन् मुलुकमै नाम चलेको पशुहाट समेत लाग्ने गरेको छ । उक्त पशुहाटमा प्रत्येक हप्ता एक करोडभन्दा बढीको कारोबार हुने गरेको तिलाठी कोइलाडी वडा नम्बर ८ का वडासदस्य शिवनारायण मण्डलले बताए । ‘अब हामी दैनिक उपभोग्य सामग्रीदेखि घर निर्माणका सामग्रीसम्म, सुनदेखि वस्त्रसम्म गाउँमै पाउन थालेका छौं,’ वडा सदस्य मण्डलले भने, ‘बजारको विस्तारसँगै स्थानीयलाई पनि सहजता भएको छ ।

तोपाको बजार विस्तारजस्तै तिलाठी कोइलाडीकै कोइलाडी चोकले पनि बजारको रूप लिन थालेको छ । सुरुवातमा सामान्य हटियाको चोकबाट सुरु भएको कोइलाडी चोकले अहिले बजारको रूप लिन थालेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले बताए । ‘मानवको आवश्यकताअनुसार अहिले ग्रामीण बजारहरू फस्टाउँदै गएका छन्,’ गाउँपालिका अध्यक्ष सिंहले भने, ‘विगतमा सामान्य दैनिक उपभोग्य वस्तुका लागि सदरमुकाम नै कुद्नुपर्ने विवशता अहिले समाप्त भएको छ ।’

तोपा र तिलाठी मात्र होइन जिल्लामा पछिल्लो समय विभिन्न ग्रामीण चोकले अहिले बजारको रूप लिन थालेका छन् भने विगतमै बजार भइसकेका स्थानमा भने व्यापारिक प्रतिष्ठानहरू थपिने क्रम बढ्दो छ ।

खासगरी जिल्लाको हनुमाननगर, कञ्चनपुर, बरमझिया, भारदह, फत्तेपुर, महुली, वीरेन्द्रबजार, रूपनी, बोदेवरसाइन, पातो, बिसनपुर, सखडा, कठौना लगायतका बजारहरूमा पछिल्लो समय व्यापारिक प्रतिष्ठान थपिने क्रम बढ्दो छ भने उपभोक्ताको आर्कषण पनि बढ्दै गएको छ । सदरमुकाम राजविराज त झन् सुरुवातदेखि नै मूल बजारका रूपमा स्थापित छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?