१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अपराधसंहिताअन्तर्गत कानुन कार्यान्वयन

लक्ष्मी साह

बारा — अरूलाई आत्महत्या गर्न बाध्य बनाउने दुई जनामाथि यहाँ मुद्दा चलाइएको छ  । जिल्ला प्रहरी कार्यालयले आत्महत्या गर्न बाध्य बनाएको कसूरमा २ जनामाथि मुद्दा चलाएपछि दुवैजना पुर्पक्षका लागि आइतबार थुनामा गएका छन्  ।

अपराधसंहिताअन्तर्गत कानुन कार्यान्वयन

प्रहरीले नयाँ मुलुकी अपराध संहिताअन्तर्गत मुद्दा अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा बुझाएपछि अदालतको आदेशमा दुबै अभियुक्त पुर्पक्ष (थुना) का लागि थुनामा गएका हुन् ।

सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि छुट्टाछुट्टै दुई जना न्यायाधीशको इजलासले आत्महत्या गर्न बाध्य बनाउने दुवै आरोपित (अभियुक्त) लाई थप मुद्दा अनुसन्धानका लागि थुनामा पठाउने आदेश दिएका हुन् । न्यायाधीशद्वय केशवप्रसाद अधिकारी र वासुलालदेव श्रेष्ठले दुवैलाई पुर्पक्षका लागि कारागार (थुना) मा पठाउने आदेश दिएका हुन् ।

कलैया उपमहानगरपालिका–१ मोतीवागका मुन्ना दास बनिया र परवानीपुर गाउँपालिका–५ बहुअरीका सन्तोष राउत कुर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए । मुन्नाकी पत्नी अनिताले गत भदौ ७ मा आत्महत्या गरेकी थिइन् । आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले मुन्नालाई गत भदौ २४ मा पक्राउ गरेको थियो ।

यसैगरी अर्का अभियुक्त सन्तोषकी पत्नी अन्तिमाले गत भदौ १३ मा आत्महत्या गरेकी थिइन् । यो घटनाको आरोपमा अभियुक्त संतोष गत भदौ २४ मा नै पक्राउ परेका थिए । यसअघि कसको र के कारणले आत्महत्या गरिन्छ भन्ने विषयमा खोजीनीति तथा अनुसन्धान गरिदैन्थ्यो । प्रहरी अभिलेखमा आत्महत्या गर्नेको लामै सुची देखिए पनि कानुन अभावमा कारबाहीको दायरामा कोही आउँदैन्थे । आत्महत्या कसको कारण्ले गरेको भन्ने विषयमा अनुसन्धान हुँदैनथ्यो ।

तर अहिले नयाँ कानुनले आत्महत्याका कारकलाईसमेत कानुनी दायरामा ल्याई कानुनी कारबाही गर्ने कनुनी व्यवस्था ल्याएकोले आत्महत्या गर्न बाध्य बनाउने यी दुबै कानुनी दायरामा आएको प्रहरी नायब उपरिक्षक रंजितसिंह राठौरले बताए ।

अभियुक्त दुबैले आफ्नी पत्नीलाई घरमा विभिन्न शारिरिक र मानसिक यातना दिएकाले मुन्ना र संतोषकी पत्नीले आत्महत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरिक्षक राठौरले बताए । ‘मुन्नाले कान्छी श्रीमति भित्र्याउनु नै अनिताको आत्महत्याको कारक हो,’ उनले भने, ‘यसैगरी अन्तिमाले ७/८ बर्षसम्म बच्चा नपाउनुको निहुँमा उसकी पति सन्तोषले दिएको मानसिक यातना नै आत्महत्याको कारक भएको अनुसन्धानले देखायो । त्यसैले दुवै आरोपितमाथि नयाँ कानुन कार्यान्वयन गरिएको हो ।’ दुवै अभियक्तले आत्महत्या गराउने दुस्साहस गरेको उनले बताए ।

अभियुक्तले प्रहरी र सरकारी वकिल समक्ष दिएको बयानसँगै अदालतमा भएको दुई पक्षीय थुनछेक बहसको आधारमा नयाँ अपराधसंहिता २०७४ को दफा ६७ को १८५ (१) अनुसार मुद्दाको थप अनुसन्धानका लागि दुवै अभियुक्त (मुन्ना र सन्तोष) लाई थुनामा पठाउने आदेश भएको स्रेस्तेदार ज्ञवालीले बताए । कसूर ठहर भएमा सोही अपराधसंहिताको १८५ (२) अनुसार ५ वर्षसम्म कैद र क्षतिपूर्ति भराउने कानुनी व्यवस्था छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?