शौचालयको रकम वडा अध्यक्षको खल्तीमा

मुसहर बस्तीमा शौचालयका सामान वितरण गरेको भन्दै रकम निकासा गर्नेमा चन्द्रपुर ७, ९ र १० नम्बर वडाका अध्यक्ष छन् ।
जेल परेकाको पनि नक्कली हस्ताक्षर
नगरपालिकाका कर्मचारीको मिलोमतोमा झन्डै २५ लाखमाथि रकम निकासा
नगरपालिका घेराउ गर्ने योजना
पार्टी बदनाम भएको भन्दै कांग्रेसद्वारा सोधपुछ
शिव पुरी

रौतहट — चन्द्रपुर–९ स्थित डुमरियामा ५० घरपरिबार मुसहर समुदायको छ  । उनीहरूको घरमा शौचालय छैन  । वडा अध्यक्षले अधिकांश मुसहर समुदायको नक्कली हस्ताक्षर गरी शौचालयका सामान बुझेको भर्पाइ कागज पेस गरेर नगरपालिकाबाट रकम निकासा लिएको खुलेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका ९ स्थित मुसहर बस्ती । यस बस्तीको एक घरमा पनि शौचालय छैन ।तस्बिर : शिव/कान्तिपुर

शौचालयका सामान बुझेको भन्दै जेल परेका व्यक्तिको समेत नक्कली हस्ताक्षर गरिएको फेला पारेको छ ।


यसरी मुसहर बस्तीमा शौचालयका सामान वितरण गरेको भन्दै रकम निकासा गर्नेमा चन्द्रपुर ७, ९ र १० नम्बर वडाका अध्यक्ष छन््् । यसमा नगरपालिकाले छानबिनका लागि कार्यदल बनाएको छ । उनीहरूले नगरपालिकाका कर्मचारीको मिलोमतोमा झन्डै २५ लाख रकम निकासा लिइसकेका छन्् । अधिकांश मुसहर समुदायले शौचालयका सामान पाएका छैनन् ।

Yamaha


तर उनीहरूले सामान बुझेको भनी वडा अध्यक्षहरूले हस्तारक्षर गरेको कागज नगरपालिकामा बुझाई गत आर्थिक वर्षको बजेटबाट निकासा लिएका हुन् । डुमरियाको भउचर माझी मुसहर बलात्कारको मुद्दामा जेल परेको एक वर्ष हुन लाग्यो । उनी अझै पनि जेलमै छन्् । तर उनले शौचालय बनाएको भनेर नक्कली हस्ताक्षर गरिएको फेला परेको छ । उनका बुहारी ज्ञानवती देवीले शौचालय नै नभएको र ससुरा बुवा जेल परेकाले कसले सही गर्‍यो भन्ने आश्चर्यमा परेको बताइन् ।


छिमेकी महिलालाई बलात्कार गरेको आरोपमा ८ महिनाअघि उनी जेल परेका हुन् । उनको नाममा अंग्रेजीमा हस्ताक्षर गरिएको छ । उनी पढलेख गर्न जान्दैनन् । नेपाल सरकारको गुरुयोजनाअन्तर्गत खुला दिसामुक्त वडा बनाउने अभियानमा सामान बुझिलिएको भनेर मुसहर लगायतका बस्तीका स्थानीयको हस्ताक्षर गरेको भनेर भर्पाइ कागज नगरपालिकामा पेस गरिएको छ । ती अधिकांश नक्कली हुन् । सम्बन्धित वडाका स्थानीयले सामान पाएकै छैनन् ।


डुमरियाको मुसहर बस्तीमा २ घरले मात्र शौचालयका लागि ढकन र रिङ पाएका छन्् । बाँकीको एक घरमा पनि शौचालयको सामान छैन । नगरपालिकाले ढकन, रिङ र प्यानसिट समेत पाइसकेको भन्दै भुक्तानी दिइएको छ । बस्ती पुग्दा अधिकांश मुसहर समुदाय आक्रोसित देखिन्थे । उनीहरू नगरपालिका घेराउ गर्ने भन्दै छलफलमा जुटेका छन् । यस बस्तीका मानिस खुला स्थानमा शौचालय गर्छन् । यहाँको एक घरमा पनि शौचालय छैन ।

४ वर्षदेखि उपचारको अभावमा ओछ्यानमै परेका स्थानीय सुरेश माझीको समेत नक्कली हस्ताक्षर गरिएको छ । अधिकांशले शौचालयका सामान नपाएको गुनासो पोखे । नगरपालिकाले भने सामान पाइसकेको भन्दै रकम भुक्तानी गरेको छ । नगरपालिकाका कर्मचारीले शौचालयको सामान पाए/नपाएको अनुगमन नै नगरी रकम निकासा गरिदिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले के भएको हो सोधपुछ गर्ने बताए । ‘बदमासी गरेको हो होइन पत्ता लगाउँछाैं,’ उनले भने, ‘तीनवटै वडाका अध्यक्षलाई बोलाएर सोधपुछ गर्छौं ।’ वडा नम्बर ७ र १० का मुसहर बस्तीमा समेत यस्तै समस्या छ ।

त्यहाँ पनि अधिकांशले शौचालयको सामान पाएका छैनन् । केहीले मात्र पाएका छन् । उनीहरूले निर्माण गर्न सकेका छैनन् । तर रकम निकासा भइसकेको छ । ७ नम्बर वडाका वडा अध्यक्ष विष्णु उप्रेती ९ का गोविन्द दुलाल र १० का जयराम चौधरी तीनै जना कांग्रेसबाट जितेका हुन् । तीनै जनालाई कांग्रेसको नगरकमिटीले कार्यालयमै बोलाएर नक्कली हस्ताक्षर गरी रकम निकासा गरिएको भन्ने हल्लाले पार्टी बदनाम भएको भन्दै सोधपुछ गरेको थियो । वडा अध्यक्षहरूले अब सामान किनेर दिने बताए । ‘केही कमिकमजोरी भएकै हो,’ उनीहरूले भनेका छन्, ‘हामी सुधार गर्दै लैजाने छौं ।’


कांग्रेस महासमिति सदस्य सन्जय कार्कीले तीनै वडा अध्यलाई मुसहर बस्तीका स्थानीयको सक्कली हस्ताक्षर गराई सामान वितरण गर्न निर्देशन दिइएको बताए । ‘गलत काम नगर्नुस् भनेका छौं,’ उनले भने।


मौलाउँदै भ्रष्टाचार
-भूषण यादव (वीरगन्ज)
पर्साको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लालबाबु प्रसाद साह ४० हजार रुपैयाँ घूस लिँदा लिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहलाई बिहीबार दिउँसो करिब ४ बजेको समयमा वीरगन्ज महानगरपालिका १४ चिनी मिल आवास क्षेत्रमा रहेको उनको क्वार्टरबाट पक्राउ गरेको हो ।


जगरनाथपुर गाउँपालिका ३ स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको भवन निर्माणका लागि आएको रकम फुकावाका लागि साहले घूस मागेका थिए । विद्यालय प्रतिनिधिले दिएको विशेष सूचनाका आधारमा अख्तियारले छापा मारेको हो । ‘विद्यालयको खातामा पैसा हस्तान्तरण भइसकेको थियो,’ अख्तियारका एक शाखा अधिकृतले भने, ‘बैंकबाट रकम फुकुवा गरिदिनका लागि घूस मागिएको थियो ।’ सम्बद्ध स्रोतका अनुसार शिक्षा विकास तथा समन्वय प्रमुखले कन्या मावि, रामनगरी र सिहरी सथवलमा रहेका विद्यालय भवनको रकम निकासाका लागि पनि घूस रकम मागेका छन् ।


पछिल्लो समय शिक्षामा भ्रष्टाचार मौलाउँदै गएको छ । तीन हप्ता अगाडि मात्र वीरगन्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुख मन्जुर आलम र नायव सुब्बा शशिभूषण साह कानुलाई एक लाख रुपैयाँ घूस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको थियो । गत असोज ४ मा वीरगन्ज एक निजी विद्यालयलाई लाइसेन्स दिएबापत एक लाख रुपैयाँ घूस लिएकाले अख्तियारले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : आश्विन २६, २०७५ १०:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

झिझियामा झुम्दै मिथिला

सन्तोष सिंह

धनुषा — घैलाको चारैतिर प्वाल । घैलाभित्र बलिरहेको दियो । जनकपुर उपमहानगरपालिका–७ जानकी नगरकी ५० वर्षीया समुन्द्री सदा त्यही घैला टाउँकोमा राखेर मध्यरातसम्म नाच्छिन् । ‘तोहरे भरोसे ब्रम्हबाबा झिझिया बनेलियै हो ।

जनकपुरको रामानन्द चोकमा बुधबार राति झिझिया नृत्य प्रस्तुत गर्दै । तस्बिर : सन्तोष/कान्तिपुर

ब्रम्हबाबा झिझिया पर होइयो ना सबार’
निरन्तर बजिरहने यही गीतमा सदासँगै उनको संगिनीहरू नाचिरहेको हुन्छ । मिथिलाञ्चलमा घटस्थापनादेखि झिझिया नृत्य सुरु भएको छ । दसैंसम्म नाचिने यो नृत्यले भुतप्रेतलाई भगाउन विश्वास छ ।


माटोको भाँडामा आगो बालेर छमछम नाचेर झिझियाको माहोल तताउनेमा ३० वर्षीया ललिता सदा पनि हुन् । झिझिया नृत्य हेर्न स्थानीयको घुइँचो लाग्छ । दर्शकले नृत्य टोलीलाई नगद पुरस्कार दिएर मनोबल बढाउँछ ।


जनकपुरको जानकी नगरकाका मुसहर समुदायलाई दसैंको चटारो छ । उनीहरू दिउँसो काम सकाएर सकालै घर आएर झिझियाको तयारी गर्छन् । सकालै खाना खाएर झिझिया नाच नाच्न भेला भएर जनकपुरको शक्ति पीठहरूमा नाच्न भ्यानभ्याइ छ । जनकपुरको भ्रमरपुरा चोक, रामानन्द चोक, रजौल, राजदेवी मन्दिर, बंशि चोक र मुरली चोकमा झिझिया नाच्न उनिहरू जुटेका छन् ।


आगो बलेको माटोको घैटो टाउको राखेर समुहमा नाच्ने परम्परालार्य झिझिया नाच भनिन्छ । नृत्य गर्ने महिलाको टाउकोमा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भयो भने ती महिलाको तत्काल मृत्यु हुने जन विश्वासको कारण घैंटो बोकी नाच्ने र गाउने महिला फनफनी नाची रहेको दृश्य हेर्न मनमोह हुन्छ ।


विजया दशमीको शुरुवात संगै मधेसकको गाउा–गाउा, शहर शहर र टोल–टोलमा झिझिया नृत्य शुरु भएको छ । मध्यरातमा सुरीलो स्वरमा गाइने झिझिया गितले मधेसमा चाडपर्वको रौनकता बढाएको छ । लोक परम्परा अनुसार दलित महिलाले नाच्ने झिझियाले दशैको रौनकता बढाएको छ ।


दशैंको आगमन संगै बोक्सीलाई गाली गर्ने मधेसको अनौठो तथा ताान्त्रिक नृत्य झिझिया हो । बिशुद्ध तान्त्रिक बिधिमा आधारित झिझिया नृत्यले गर्दा अहिले मिथिलाञ्चले नै लय र तालको मधुर नृत्यमा झुमेको छ । राति महिलाहरूले सुरिलो भाकामा गाउने दोहरी गीतको माधुर्यले त झन सुरम्य बनेको छ । मिथिलाको विशुद्ध साँस्कृतिक झलक प्रदर्शन गर्ने यस पर्वमा झिझिया नृत्यको मौलिकताले विशेष महत्त्व राख्ने गरेको छ ।

ग्रीष्मको बिदाइ र शीतको आगमनसँगै नवरात्रिभरि गाइने गीत र झिझिया नृत्यले दसैंमा सबैको मनलाई प्रफुल्लित र आनन्दविभोर बनाइदिने गर्दछ । मिथिलाञ्चलको पहिचान बोकेको यस नृत्यमा दलित महिलाहरूको बढी सहभागिता हुने गर्दछ । उनीहरू घटस्थापनाभन्दा अगाडि नै माटोको घैंटो ल्याई त्यसमा अनगिन्ती प्वाल पारी नवरात्रा प्रारम्भ भएपछि ५ देखि २५ जनाको समूहमा रही सो घैंटोहरूमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्दछन् ।


मिथिलाञ्चलमा व्याप्त बोक्सीप्रति तीखो व्यंग्य गर्दै प्रदर्शन गरिने झिझिया नृत्यमा महिलाहरूले बत्ती बालेको घैंटो टाउकोमा राखी नाच्दै, गाउंँदै गाउँ परिक्रमा गर्छन् । महिलाहरू घरघर डुल्ने गर्दछन् । तिनीहरू जसको घरमा जान्छन् घरधनीले मटितेल वा रकम दिने परम्परा रहेको जनकपुर–८ की विमला देवी बताउँछिन् ।


नृत्य नै झिझियाको प्रमुख विशेषताका रूपमा मानिन्छ । बोक्सीले आफ्नो जादुको प्रयोग प्राय: मध्य रात्रि पछि गर्ने विश्वासका कारण यी नृत्य पनि मध्य रातमा प्रारम्भ हुन्छ।

प्रकाशित : आश्विन २६, २०७५ १०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT