गाउँमै मिल्छ झमेला

कान्तिपुर संवाददाता

जनकपुर — धनुषा, बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर राउत क्षेत्रीले गाउँमै पुगेको न्यायाधीशलाई हेरेर हर्षित भए । अनि, उनले भने, ‘पहिला हामी न्यायाधीशलाई भेट्न अदालत पुग्थ्यौं । अहिले न्यायाधीश हाम्रै आँगनमा आएका छन् ।’

गाउँमै मिल्छ झमेला

जिल्ला अदालत धनुषाका न्यायाधीश ऋषिराम निरौला बुधबार बटेश्वरको शान्तिपुर गाउँमा स्थानीयसँग अदालती कामकार्वाही र न्यायमा पहुँचका बारेमा छलफल गरे । धेरैले उनलाई सोधे, ‘अदालती प्रक्रिया झन्झटिलो र पट्यारलाग्दो किन हुन्छ ? छिट्टै मुद्दाको सुनुवाइ किन हुन्न ?’ न्यायाधीश निरौलाले अदालती कामकार्वाही सुस्त, झन्झटिलो र खर्चिलो हुने गरेको बुझाइमा सत्यता रहेको बताउँदै सबै मुद्दामामिला अदालतमै पुग्दा मात्र न्याय पाइन्छ भन्ने सोच त्याग्नुपर्ने सुझाव दिए ।


मानव अधिकार तथा सामाजिक विकास प्रतिष्ठानले आयोजना गरेको न्यायिक पहुँच कार्यक्रममा शान्तिपुरका स्थानीयले अदालत र न्यायाधीशसँग सम्बन्धित जिज्ञासा राखेका थिए । ‘न्याय ढिलो, खर्चिलो र झन्झटिलो हुन्छ । यो सबैले महसुस गरेको छ,’ न्यायाधीश निरौलाले भने, ‘बादी र प्रतिबादीको अदालतसम्म सीधा पहुँच नहुँदा पनि न्यायको प्रक्रिया लामो र खर्चिलो भएको हो ।’


शान्तिपुरका स्थानीय बिमल लामाले मुद्दा–मामिलाले धेरैको धनसम्पत्ति र घरवार गुमेकाले सानातिना विवाद गाउँ तहमै मिलाउनुपर्ने बताए । बटेश्वर गाउँपालिकामा रहेको न्यायिक समितिमार्फत मुद्दामामिला छिनोफानो भए अदालतसम्म पुग्नुपर्ने र झन्झट मोल्नुपर्ने समस्या टर्ने उनले सुझाव दिए । बैदेशिक रोजगारबाट श्रीमान् फर्किएपछि दु:ख दिने गरेको र सौता ल्याउने तयारी गरेको गुनासो राजकुमारी देवीले न्यायाधीश निरौलालाई सुनाइन् । ‘श्रीमान् बिदेशबाट फर्किएदेखि दु:ख दिइरहेका छन् । अर्की श्रीमती ल्याउँछु भनेर धम्क्याउँछन् । सासूससुरा पनि छोरीकै पक्षमा छन,’ उनले भनिन्, ‘अब न्यायका लागि काहाँ जाउँ ?’ न्यायाधीश निरौलाले उनलाई मैथिली भाषामै सम्झाउँदै भने, ‘अंश मुद्दा हाल्नुपर्छ । यातना दिएको छ भन्ने त्यसमा नि मुद्दा चल्छ ।’


नजिकै बसिरहेको बटेश्वर गाउँपालिकाकी उपप्रमुख प्रमिलादेवी महतोलाई न्यायाधीश निरौलाले भने, ‘तपाईंको न्यायिक समितिमा उनको उजुरी लिएर अदालतलाई फरवार्ड गरिदिनुस् ।’ राजकुमारीको ससुराले बुहारीको अंश मुद्दा लाग्ने देखेर पहिला नै जिल्ला अदालतमा छोरालाई विपक्षी बनाएर धनसम्पत्तिसँग सम्बन्धित छुट्टै मुद्दा हालेको छ ।


बटेश्वर गाउँपालिकाको शान्तिपुरमा २०६८ सालदेखि मध्यस्थकर्ताको भूमिकामा रहेका मणिकलाल मोक्तानले साना झगडा र झमेला गाउँमै मिल्दा अदालतसम्म पुग्ने अवस्था नरहेको बताए । ०६८ यता शान्तिपुरमा ३ सय १५ वटा विवादमध्ये २ सय ५५ वटा गाउँमै मिलेका छन् । मिल्न बाँकी ६० उजुरीमा छलफल जारी रहेको उनले बताए ।

प्रकाशित : आश्विन २६, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?