१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जानकी मन्दिर पुग्ने बाटो अवरोध

जनकपुर दर्शनका लागि यहाँँ आएका पर्यटक र जनकपुरवासीलाई सडकका कारण सास्ती
सन्तोष सिंह

काठमाडौँ — दसैंको बिदामा जनकपुर दर्शन गर्नेको लर्को छ  । दुर्गा पूजाका लागि जनकपुरवासी पनि घर फर्केका छन्  । शक्तिपीठहरूमा दर्शन गर्नेको घुइँचो छ । तर, जनकपुर दर्शनका लागि यहाँँ आएका पर्यटक र जनकपुरवासीलाई सडकका कारण सास्ती भोग्नु परेको छ । उनीहरू घर र होटलमै थिनिएका छन् ।

जानकी मन्दिर पुग्ने बाटो अवरोध



जनकपुरमा पहिलो रोजाइ जानकी मन्दिर दर्शन र दोस्रो दसैँका बेला यहाँको राजदेवी मन्दिर दर्शन हो । तर, जानकी मन्दिर र राजदेवी मन्दिर पुग्ने बाटो नै अवरुद्ध छ । सडकमा गहिरो खाल्डो खनिएको छ । दिउँसो जेनतेन सडकमा यात्र गरेपनि साँझ सडकमा निस्किने अवस्था छैन । मठमन्दिर विद्युतीय बत्तीले झकिझकाउ बनेका बेला यहाँको सडक अन्धकार छ । सडकमै निर्माण सामग्री खादिएको छ । स्थानीयलाई सडकमा हिँडन समस्या छ ।

जानकी मन्दिर र राजदेवी मन्दिर पुग्नै समस्या हुँदा आगन्तुकका लागि दसैँ खल्लो भएको छ । जनकपुरको सडक विस्तारको क्रम जानकी मन्दिर आइपुगेको छ । मन्दिर पुग्ने बाटो सबै अवरुद्ध छ । बाहिरबाट आएका पर्यटकलाई मन्दिर दर्शनभन्दा पनि जनकपुर सहर प्रवेश गर्ने सडक पहिचान गर्न सकेको छैन । एकीकृत सहरी विकास आयोजनाअन्तर्गत जनकपुरको सडक निर्माण अन्तिम चरणमा छ । निर्माण काम गति लिन नसक्दा दस महिनादेखि ठप्प भएको व्यापार दसंैमा समेत सुचारु हुन सकेको छैन । जनकपुरको केन्द्र मानिने जानकी मन्दिर, जनक चौक, राम मन्दिर, राजदेवी मन्दिर आसपासको सडक निर्माण पूरा हुन सकेको छैन । जानकी मन्दिरको मुख्य प्रवेशद्घारमै दस फिट गहिरो खाल्डो छ । मन्दिर अगाडि भूमिगत नालाको काम एक महिनादेखि भइरहेको छ ।

गणपति ज्वेलर्सका सञ्चालक सञ्जीव साहका अनुसार सडक अस्तव्यस्त भएकै कारण व्यपारीलाई दसैँ आएको अनुभव भएको छैन । जनकपुरको सुनरपट्टी ६ महिनादेखि सडककै कारण ठप्प रहेको उनले बताए ।

दसैं सुरु भए पनि जनकपुरमा एडीबीको ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास परियोजनाअन्तर्गत निर्माण भइरहेको सडकका कारण व्यापारीले दसैंको बजार सञ्चालन गर्न नपाएको साह बताउँछन् । महिनौंदेखि घाटा सहेर व्यापारीको सटर बन्द छ । दसैंको मुखमा पनि सडक निर्माण हुन नसक्दा पसलमा ग्राहक नै नआएको उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष ललित साहले बताउँछन् । एसियाली विकास बैंक (एडीबी) को अनुदानमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत जनकपुरमा ९.२९ किलोमिटर सडक र ३१ किलोमिटर भूमिगत नाला निर्माण भइरहेको छ ।

निर्माण सुस्त हुँदा जनकपुरको व्यापार चाडपर्वमा समेत फस्टाउन सकेन । सडककै कारण व्यापारी मारमा परेका छन् । एकीकृत सहरी विकास आयोजनाअन्तर्गत जनकपुरमा भूमिगत नाला निर्माण गरी ५ आउटलेट बनाइएको छ । नगरको पानी निकासका लागि ४ आउटलेट जलाद खोला र एक आउटलेट दुधमतीमा निकालिएको छ ।

२२ फेबु्रअरी २०१६ देखि २१ फेब्रुअरी २०१८ सम्म सम्पन्न गर्ने जेडआइइसी शर्मा जेभी र नेपाल सरकारबीच सम्झौता मितिमा काम सम्पन्न नहुँदा समय थपिएको छ । स्थानीयले घर, खानेपानीले पाइपलाइन, विद्युतले बिजुली पोल सडकबाट खालि नगर्दा ९८ करोड ८१ लख ५६ हजार ६ सय ३८ रूपैयाँको योजना सुस्त भएको हो ।
सम्झौताअनुसार जनकपुरको अधिकांश सडकमा कालोपत्रे अन्तिम चरणमा हुनुपर्ने हो । तर, निर्माण कम्पनी निर्माण सकिनै लाग्दा ढल र फुटपाथको विवादमै अल्झिएको छ ।

आयोजनाअन्तर्गत जनकपुरको परिक्रमा सडक खण्डको पिडारीचौकदेखि थापाचौकसम्मको सडक कालोपत्रे हुन सकेको छैन । वडा अध्यक्षले नै घर भत्काउन नमानेका कारण यो खण्ड काम हुन सकेको छैन । लामो समयसम्म घर भत्काउन नमानेपछि उप महानगरले वडा अध्यक्षलाई नै नियन्त्रणमा लिएर उनको घर भत्काएको छ ।

मिल्स एरिया, भानुचौक, कदम चौक, विश्वकर्मा चौक हँुदै भ्रमरपुरा चौकसम्म ४.६९ किलोमिटर कालो पत्रे भएर फुटपाथ बन्न सकेको छैन । रेल्वे स्टेशनदेखि भनुचौक कालो भइसकेको छ । भानु चोकदेखि जनक चोकसम्मको सडक पछिल्लो एक महिना यता युद्ध स्तरमा काम गरी कालोपत्रे गरे पनि फुटपाथ अन्यौलमै छ । जनक चोकबाट रामचौक, राजदेवी, जानकी मन्दिर जाने सबै बाटो अस्त यस्त छ ।

मुरलीचौक हँुदै श्यामचौकसम्म २.८ किलोमिटर सकड १६ मिटर चौडाइमा १२ मिटर कालोपत्रे भइसे पनि सडकको दुबै तर्फ २/२ मिटर फुटपाथ बन्न सकेको छैन । जानकी मन्दिरदेखि रामानन्द चौकसम्म १ किलोमिटरको काम सुस्त गतिमा भइरहेको छ । सम्झौता म्याद सकिनै लाग्दा जनकपुरको सडक निर्माण पूरा हुन सकेको छैन ।

प्रकाशित : आश्विन २८, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?