बट्टाई पालनमा आकर्षण
काठमाडौँ — ३ महिनाअघि मात्र क्षेत्रिय कृषि अनुसन्धान केन्द्र परवानीपुरबाट २ सय वटा बट्टाइका चल्ला ल्याएर पाल्न थालेका कलैया १३ बघवनका रमेश ठाकुरलाई अहिले बट्टाईको माग धान्न भ्याइनभ्याइ छ ।
आदर्श पोल्ट्री फार्ममा बट्टाइको व्यावसायिक पालन गरेका उनले सुरुमा २ सय वटामध्ये आधा बट्टाई बिक्री गरे । भाले र बढी रहेका पोथी समेत बिक्री गरेका उनले हाल भाले र पोथीको तालमेल मिलाएर १ सय वटा बट्टाई आफ्नो फार्ममा पालेका छन् । तीमध्ये ६० बट्टाईले दैनिक अन्डा दिन्छन् । ५५ देखि ६० दिनमा यसले अन्डा दिन थाल्छ । सुरुमा आफैंले चल्ला हुर्काएर बट्टाई बेच्ने गरेका उनले पछिल्लो समय चल्ला बिक्री समेत गर्न थालेका छन् ।
हालसम्म २ लटमा गरी २ सय बट्टाईका चल्ला बिक्री समेत गरे । चल्ला उत्पादन गर्न इन्कुवेटर उपकरण नै राखेका उनले प्रत्येक ६ दिनमा ३ सय अन्डा इन्कुवेटरमा राख्छन् । शनिबार सिन्धुलीबाट आएका एक ग्राहकलाई २ सय चल्ला बिक्री गरे । जनकपुरबाट ५ सय वटा चल्लाको अर्डर आएकाले उनलाई त्यो अर्डर पूरा गर्ने चटारो छ ।
अन्डा प्रयोजनका लागि पालेका बाहेक फार्ममा हुर्काएका बट्टाई उनी बिक्री गर्छन् । गाउँकै होटलबाट दैनिक ३० देखि ४० वटा बट्टाईको अर्डर आउने भएकाले उनलाई माग धान्न गार्हो छ । होटललाई २ सय रुपैयाँ जोडी र खुदरा ग्राहकलाई २ सय ५० देखि ३ सय रुपैया जोडीमा बट्टाई बिक्री गर्छन् । ‘बट्टाइको चल्ला र बयस्क बट्टाई समेतको माग अत्यधिक छ,’ उनले भने, ‘नियमित उत्पादन गरी रहदा पनि यसको माग धान्न गार्हो छ ।’
पछिल्लो समय किसानले बट्टाईको व्यावसायिक पालन गर्ने क्रम बढेपछि कृषि अनुसन्धान केन्द्र परवानीपुरलाई पनि यसको चल्लाको माग धान्न गार्हो भएको छ ।
बट्टाई पालनबाट थोरै लगानीमा धेरै प्रतिफल पाइने भएकाले पछिल्लो केही वर्षयता किसानको यस प्रतिको आकर्षण बढ्दै गएको छ ।
केन्द्रस्थित कुखुरा अनुसन्धान एकाइका प्रमुख डा. अजित कुमार झाले पछिल्लो समय पर्सा, बारा, रौतहट, झापा, कास्की, धनुषा, मकवानपुरमा यसको व्यावसायिक पालन गर्ने क्रम बढेकाले यसको चल्लाको माग बढेको बताए । किसानको माग धान्न नसक्दा उनीहरूको अर्डर बुक गरेर राख्ने गरेको र चल्ला तयार भएपछि मात्र हामी किसानलाई बोलाउने गरेको उनले बताए ।
केन्द्रले सन् २००१ बाट भारतको बरेलीबाट ल्याएको अन्डाबाट बट्टाइको चल्ला उत्पादन गरेर किसानलाई बिक्री वितरण गर्न लागेको हो । केन्द्रले वर्षेनी यस सिजनमा आफ्नो ह्याचरीमा करिब ३ हजार गोटा बट्टाईका चल्ला उत्पादन गर्ने गर्छ । माउ बट्टाई प्रति गोटा ८० रुपैयाँमा र चल्ला २० देखि ४० रुपैयाँमा प्रति गोटा बिक्री गर्छ । १ देखि ३ साताको चल्ला क्रमश: २०, ३० र ४० रुपैयाँ प्रतिगोटामा बिक्री हुने गरेको झाले जानकारी दिए ।
जेपोनिका निकोट्रिक्स वैज्ञानिक नाम रहेको यो चरा सामान्यतया १ सय ९० देखि २ सय १० ग्राम वजनको हुन्छ । तराईका खेतबारीमा खुला रूपमा चर्न आउने यो चराको पछिल्लो समय व्यावसायिक पालनको आकर्षण बढ्दो छ । तराईदेखि उच्च पहाडी जलवायुमा पनि यसको सहजै पालन गर्न सकिन्छ । मासुको स्वादका पारखीले यसको मासु र अन्डा दुबै रुचाउँछन् । यसको अन्डाको तौल १० देखि १२ ग्राम मात्र हुन्छ ।
‘बालकदेखि वृद्धसम्मले यसको मासु र अन्डाको स्वाद रुचाएका छन्,’ झा भन्छन्, ‘यसको मासु र अन्डा दुबैमा क्यालसियमको मात्रा प्रचुर हुन्छ र मानिसले यसको प्रोटिन सहजै पचाउन पनि सक्छन्, एउटा अन्डाको नियमित सेवनले मात्र बयस्क मानिसलाई चाहिने क्यालसियमको मात्राको ५० प्रतिशत पुरा गर्छ ।’ हड्डी कमजोर भएका तथा वायुको समस्या भएकाहरूलाई पनि यो लाभदायी हुन्छ ।