कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली नागरिकता बनाउने पक्राउ

अवधेशकुमार झा

काठमाडौँ — उनी न कुनै सरकारी अधिकारी हुन् न त कुनै जनप्रतिनिधि नै  । तर उनी नेपाली नागरिकतादेखि जग्गा रजिष्ट्रेसनसम्म घरमै गरिदिन्थे, किर्ते गरेर  ।

नक्कली नागरिकता बनाउने पक्राउ

त्यति मात्र होइन्, कम क्षेत्रफलको जग्गालाई बढी क्षेत्रफलको बनाई बेैंकबाट ऋण लिने, फिल्डबुक उतार, कित्ता काट लगायतका काम पनि रकम लिएर किर्ते गरी सरकारी कार्यालयबाट होइन् घरबाटै काम गर्थे । अर्थात् किर्ते काम गर्ने चल्तापुर्जा अड्डा थिए, सप्तरीको कञ्चनरूप नगरपालिका ११ का मो. सलम सेख ।

उनलाई प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएर उनको घर खानतलासी गर्दा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी पनि चकित भएका छन् । जिल्ला प्रशासनदेखि प्रहरी कार्यालयको लेटरप्याड र छाप, मालपोत, नापी, भूमिसुधारका सरकारी कागजात, नेपाली नागरिकता प्रमाणपत्र, जग्गाधनी लापुर्जा र राजीनामा पासका कागजातहरू, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता लगायतका फारम र कागजात, अनुसूची फारमहरू ठूलो परिमाणमा फेला परेपछि प्रहरीले उनीमाथि विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ । लेखापढीको काम गर्ने शेखमाथि विभिन्न व्यक्तिले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरले उनीमाथि निगरानी थालेको थियो ।

प्रहरीले पक्राउ गर्दा उनको घरबाट बरामद भएका सामानको बरामदी मुचुल्का मात्र १९ पेजमा लेख्न भ्याइएको थियो । प्रहरीका अनुसार शेखको घरबाट नेपाल सरकार भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयअन्तर्गत मालपोत कार्यालय कञ्चनपुर र राजविराजको छापसँगै विभिन्न व्यक्तिका १७ वटा नेपाली नागरिकताको सक्कलै प्रति बरामद भएको छ । यस्तै १४ जनाको सक्कल जन्मदर्ता, १४ जनाको जन्मदर्ताको फोटोकपी, १६ जना व्यक्तिको जग्गाधनी प्रमाणपुर्जाको सक्कल, १५ जना व्यक्तिको जग्गा रजिष्ट्रेसन लिखत कागज बरामद भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

यस्तै विभिन्न व्यक्तिको फिल्डबुक उतार फारम पाना ३० वटा, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ६ थान, मालपोत कार्यालयको श्रेस्ताबाट च्यातिएको तात्कालीन श्री ५ को सरकार भूमिसुधार मन्त्रालय, जग्गाधनी श्रेस्ता लेखिएको पाना २ थान, विभिन्न ५ जनाको कपाली तमसुक करारनामा कागज, ब्लु प्रिन्ट नक्सा ३४ वटा बरामद भएको प्रहरी निरीक्षक बिष्टले जनाए । पक्राउ परेका मो. सलम शेखकी श्रीमती अबरुण खातुनको भारतीय आधार कार्ड, नेपाली नागरिकता लिनका लागि भरिएको नागरिकताको अनुसूची फारमहरू, १ सय ८० जनाको नागरिकताको प्रतिलिपि र निर्वाचन आयोग फोटो सहितको मतदाता नामावलीअन्तर्गत साबिकको ठेलिया गाविस वडा नम्बर १,२,३,४,५,६,७,८ र ९ को ठेलीको प्रतिलिपि समेत बरामद भएको बिष्टले जनाए ।

यसका अतिरिक्त उनको घरबाट नागरिकता अनुसूची फारमहरू, जन्मदर्ता, विवाह दर्ताको प्रमाण पत्र, बसाइँसराइको दर्ता प्रमाणपत्र, मालपोत कार्यालय सप्तरीको रोक्का जानकारी कागजात, बसाइँसराइको सूचना फारम, जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरू र प्रहरी चोकीहरू,नापी कार्यालय, मालपोत कार्यालय, कञ्चनरुप नगरपालिका कार्यालय लगायत विभिन्न सरकारी कार्यालयको लेटरप्याडहरू समेत बरामद भएको छ ।

‘बरामदी मुचुल्का लेख्न नै १९ पेज लाग्यो’, प्रहरी निरीक्षक बिष्टले भने, ‘यो किर्ते कारोबार गर्ने कुख्यात व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पक्राउ गरिएका शेखले विभिन्न नेपाली नागरिकको किर्ते छोरा बनाई कयौं भारतीयको नेपाली नागरिकता बनाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित : आश्विन २८, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?