मुसहर बस्तीले बल्ल पायो शौचालयका सामान

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका ९ का वडा अध्यक्ष गाविन्दप्रसाद दुलाल आइतबार मुसहर बस्तीमा शौचालयका सामान वितरण गरे  । सामानको रकम निकासा भएको ३ महिनापछि बस्तीका मुसहरलाई दिइएको हो  ।

मुसहर बस्तीले बल्ल पायो शौचालयका सामान

यस बस्तीको २ घरले मात्र सामान पाएका छन । तर नगरपालिकाले सबैले पाइसकेको भन्दै नक्कली हस्ताक्षर गरी रकम भुक्तानी दिइसकेका थिए ।

मुसहर बस्तीमा नक्कली हस्ताक्षर गरी शौचालयका सामान वितरण गरिएको भन्दै वडा अध्यक्षहरूले नगरपालिकाबाट रकम निकासा गरेको शुक्रबारको समाचार कान्तिपुरमा प्रकाशित भएको थियो । त्यसको प्रभावले वडा अध्यक्ष दुलाल आफंै बस्ती पुगेर टायरगाडामा सामान राखेर वितरण गरेका हुन् ।

समितिले बेइमानी गरेको दुलालले आरोप लगाए । ‘समितिले सबै सामान दिइसकेको भनेर भर्पाइ ल्याएपछि विश्वासमा मैले रकम निकासाका लागि सिफारिस गरेको हुँ,’उनले भने,‘यहाँ ठूलो बेइमानी भएको रहेछ । १५ दिनभित्र बस्तीका सबैको घरमा शौचालयका सामान विरतण हुन्छ ।’

समितिले केही मानिको नक्कली हस्ताक्षर गरेको उनले स्विकारे । यो बस्तीमा ५० घर मुसहर समुदायको छ । शौचालय नै नभएको बस्तीमा नगरपालिकाले एनजीओको भरमा गएको असोज १७ गते खुला दिसा मुक्त घोषणा गरिसकेको छ ।

यता चनद्रपुर ७ स्थित बनबोहरीको मुसहर टोलका स्थानीयलाई आइतबार बिहान वडा अध्यक्ष विष्णुप्रसाद उप्रेतीले प्यान वितरण गरेका छन् । यो वडामा समेत निकासा भएको लामो समयपछि सामान खरिद गरी मुसहर समुदायलाई वितरण गरिएको हो ।

बस्ती पुग्दा शौचालयका लागि चाहिने प्यान बिहान मात्र वितरण स्थानीयले गरेको सुनाए । यसरी मुसहर बस्तीमा शौचालयका सामान वितरण गरेको भन्दै विवादमा चन्द्रपुर ७, ९ र १० नम्बर वडाका अध्यक्ष परेका छन् ।

यस विषयमा नगरपालिकाले छानबिनका लागि कार्यदल बनाई प्रतिवेदन बुझाउने तयारीमा रहेको जनाएको छ । टोलीले बस्ती पुगी स्थानीयसित सोधपुछ गरेको थियो । नगरपालिकाका कर्मचारीको मिलोमतोमा झन्डै २५ लाख रकम निकासा लिइसकेका छन् ।

अधिकांश मुसहर समुदायले शौचालयका सामान पाएका छैनन् । तर उनीहरूले सामान बुझेको भनी हस्तारक्षर गरेको कागज नगरपालिकामा बुझाई गत आर्थिक वर्षको असार मसान्तमा बजेट निकासा लिइसकेका छन् ।

सरकारको गुरुयोजनाअन्तर्गत खुला दिसा मुक्त वडा बनाउने अभियानमा सामान बुझिलिएको भनेर मुसहर लगायतका बस्तीका स्थानीयको हस्ताक्षर गरेको भनेर भर्पाइ कागज नगरपालिकामा पेस गरिएको छ । नगरपालिकामार्फत वडा कार्यालयले ढकन, रिङ र प्यानसिट खरिद गरी बिपन्न समुदायलाई दिनुपर्छ ।

वडा अध्यक्ष दुलालले सामान नपाएको भनेर वडा कार्यालयमा कुनै मुसहर समुदायका मानिसले नभनेको बताए । उनी आफैं घर/घर पुगेर सामान पाए नपाएको सोधपुछ गर्दै हिँडेका थिए । उनको वडामा झन्डै ३ सय मुसहर समुदाय रहेको छ । उनीहरूको अवस्था दयनीय छ । ४ वर्षदेखि उपचारको अभावमा ओछ्यानमै परेका स्थानीय शुरेस मुसहर शौचालयका सामान पाउँदा दंग परे ।

‘सामान बुझिसकेको भनेर पहिले नै पैसा निकासा भएको सुन्दा अचम्म लागेको थियो,’ उनले भने, ‘बल्ल सामान पाए अब शौचालय बनाउँछु ।’ यस बस्तीका अधिकांश दिसा पिसाव गर्न अर्काको खेतमा जान्छन् । वडहर्वा र बनबोहरीको मुसहर बस्तीका केहीले अझै पनि शौचालयका सामान नपाएको गुनासो पोखे ।

वडहर्वाका मुसहरले पाएर पनि आर्थिक संकटले बनाउन नपाएको बताए । वडा नम्बर १० मा समेत आधाजसोले सामान पाएका छैनन् । पाएकाहरूले समेत रकम अभाव भनेर बनाएका छैन । शौचालयका सामान त्यतिकै सडकमा फालिएको छ ।

मुसहर समुदायलाई शौचालयका सामान नै नदिइ नक्कली हस्ताक्षर गरेर रकम निकासा लिइएको घटना बाहिर आएपछि नगरपालिका र जनप्रतिनिधिप्रति स्थानीयको आक्रोस बढदो छ । कार्यपालिका सदस्य जंङबहादुर घलानको संयोजकत्वमा छानबिन समिति बनाइएको छ ।

संयोजक घलानका अनुसार अधिकांश मुसहर बस्तीमा शौचालयका सामान नदिएको बताए । ‘हामीले लगभग सबै मुसहर बस्ती पुगेर सोधपुछ गरिसकेका छौं,’ उनले भने, ‘अधिकांशले शौचालयका सामान पाएका छैनन् । तर नगरपालिकाबाट निकासा भइसकेको छ ।’

प्रकाशित : आश्विन २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?