कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखु किसानले भुक्तानी पाउन थाले

कान्तिपुर संवाददाता

बारा — चिनी उद्योगबाट पीडित उखु किसानहरूले बिहीबारदेखि भुक्तानी पाउन थालेका छन्  । उद्योगले तराईमधेसको महान पर्व छठसम्म भुक्तानी दिने प्रतिबद्धता जनाएको थियो  ।

उखु किसानले भुक्तानी पाउन थाले

चौतर्फी दबाबसँगै किसानहरूले उद्योगविरुद्ध आन्दोलनको ‘थ्रेट’ गरेपछि उद्योग व्यवस्थापनले भुक्तानी दिन सुरु गरेको हो । भुक्तानीका लागि किसान उद्योग धाउनुपर्ने चलन वर्षौंदेखि छ ।

जिल्लाको कलैया उपमहानगरपालिकाको श्रीपुरस्थित रिलायन्स चिनी उद्योगले उखु किसानहरूलाई शनिबारबाट भुक्तानी दिन थालेको हो । किसानहरूको चाडबाड प्रभावित हुन नदिन बैंकमार्फत भुक्तानी दिन थालिएको उद्योग व्यवस्थापनले जनाएको छ ।

उद्योगका उखु व्यवस्थापक ओमप्रकाश शुक्लका अनुसार झन्डै १० हजार किसानको २५ करोड बक्यौता रहेकोमा आइतबारसम्म ९ करोड भुक्तानी दिइएको र बाँकी दिने क्रम जारी छ । ‘कलैयाको सिद्धार्थ, महालक्ष्मी र एनआइसी एसिया बैंकमार्फत भुक्तानी दिन थालिएको छ । सबै किसानको बैंक खातामार्फत भुक्तानी भइरहेको छ ।’

विजयादशमीअघि नै सबै किसानको भुक्तानी गरिसक्ने उनले बताए । उद्योगमा उखु दिएको झन्डै एक वर्षपछि किसानहरूले भुक्तानी पाउन थालेको हो । प्रतिक्विन्टल ५ सय ३१ रूपैयाँका दरले किसानहरूले गत वर्ष उद्योगलाई उधारोमा उखु दिएका थिए ।

चिनी बिक्री गरेर मात्र किसानलाई भुक्तानी दिइने परिपाटी हट्नुपर्ने उखु किसानहरू बताउँछन् । उद्योगले समयमा भुक्तानी नदिएपछि कृषकहरू ऋणको भार सहदै आएका छन् ।

नगदेबाली उखु खेतीबाट आउने आम्दानीकै भरमा यहाँको हजारौं किसानहरूको जीविका र घर व्यवहार चल्ने गरेको छ । उद्योगले गत वर्षकै सिजनमा लिएको उखुको भुक्तानी अर्को सिजनमा दिन थालेको जिल्लाका उखु उत्पादक किसान संघका अध्यक्ष वीरेन्द्र कुसवाहाले बताए ।

‘जति चर्को स्वरमा उखुको भुक्तानी समयमै दिनुपर्ने माग गर्दा पनि न उद्योगले हाम्रो पीडा समयमा बुझ्छ, नत उद्योगले,’ उनले भने, ‘उखु नगदेबाली भएको र किसानको मुख्य आयस्रोत उखु नै भएकोले बाध्य भएर उधारोमै उखु दिन्छौं ।’

बारा र पर्साको हजारौं उखु किसानलाई उखु रोप्न अवसर दिने एक मात्र रिलायन्स चिनी उद्योग भएकाले किसानलाई उधारोमा उखु दिने बाध्यता आएको उनले बताए । ‘एक त उधारोमा उखु दिन्छांै, त्यो पनि कम दरमै । तर पनि समयमा भुक्तानी पाउँदैनौं,’ कलैया उपमहानगरपालिका–१५ का उखु किसान परवेज आलम अंसारीले भने, ‘ऋण गरेर उखु रोप्छौँ । समयमा भुक्तानी नपाएर घरबार चलाउन थप ऋणको भार बोक्नुपर्छ ।’

२ विघामा उखु खेती गरेका किसान आलमले डेढ लाख रूपैयाँ उद्योगबाट लिनुपर्ने छ । ‘हाम्रो समुदायको महान पर्व इद र बकरइदमा उद्योगले भुक्तानी दिएन । त्यसैले सयौं किसान ऋण खोजेर पर्व मनाउनुपर्‍यो ।’

प्रकाशित : आश्विन २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?