३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

७ करोड लगानीमा होटल

शंकर आचार्य

पर्सा — वीरगन्जमा ठूलो लगानीमा नयाँ होटल निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा छ  । वीरगन्ज गणेशमान चोकस्थित होटल अन्नपूर्णको निर्माण कार्य सम्पन्न भई असोज ४ देखि सञ्चालनमा आउन लागेको छ  ।

७ करोड लगानीमा होटल

होटलका सञ्चालक आनन्द चौरसियाका अनुसार ७ करोडको लगानीमा होटल निर्माण भएको हो ।

थ्री स्टार होटल सरहको सेवा सुविधासम्पन्न यो होटलमा वीरगन्जमै हालसम्मकै उत्कृष्ट सेवा दिने प्रयास गरिएको उनले दाबी गरे । ६ तले होटल भवनमा पार्किङ सुविधासहित २० वटा कोठा, रेस्टुरेन्ट/बार, तालिम, सेमिनार, गोष्ठी आदि गर्न हल, पार्टी आदि गर्न छुट्टै हल समेत निर्माण गरिएको छ । होटलको सबै कक्ष वातानुकुलित रहेको उनले बताए । हाल होटलले ४२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

वीरगन्जमा होटल व्यवसायको राम्रो सम्भावना देखेर आफूले यस क्षेत्रमा लगानी गरेको उनले बताए । मुलुकको प्रवेशद्वार तथा आर्थिक राजधानी समेत भएकाले यहाँ दैनिक भारत तथा तेस्रो मुलुकका पर्यटक मात्र नभई व्यापार व्यवसायको सिलसिलामा पनि थुप्रै भारतीयहरू आउने गर्छन् । यसका साथै गत वर्ष २ नम्बर प्रदेशकै राजधानी वीरगन्ज बन्ने सम्भावना र चर्चा चलेकाले पनि आफू उत्साहित भएको उनले बताए ।

‘राजधानी जहाँ बने पनि वीरगन्जमा होटल व्यवसायको सम्भावना उत्तिक्कै छ,’ उनले भने, ‘वीरगन्जमा अझै पनि स्तरीय होटलको संख्या कमनै रहेको गुनासो पटकपटक आउने गरेकाले स्तरीय सेवा सुविधा सहितको होटल सञ्चालन गर्ने सोंच आयो ।’ बारा कलैया मूल घर भएका चौरसिया राजधानीमा लामो समयदेखि कम्प्युटर व्यवसायमा सक्रिय तथा स्थापित छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त राजनीतिक स्थिरतासँगै आर्थिक राजधानी वीरगन्जमा होटल तथा पर्यटन व्यवसायमा लगानी बढ्दो रहेको बताउँछन् । मुलुक संघीयतामा प्रवेश गरेको र विगतमा आन्दोलन र बन्दहडताल मात्र भइरहने सहर हाल शान्त रहेको र यहाँ आर्थिक गतिविधि झनै बढ्दै गएकाले होटल तथा पर्यटन व्यवसायमा लगानी बढ्दो क्रममा रहेको उनले बताए ।

३ महिनायता मात्र वीरगन्जको आदर्शनगर क्षेत्रमा मारवाडी समुदायका युवा व्यवसायीहरूले २ वटा स्तरीय रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए । यस बाहेक वीरगन्जकै रुङ्गटा समूहले आदर्शनगरमै होटल दियालो र खेतान समूहले गण्डकमा अर्को भव्य रिसोर्ट निर्माण गरिरहेको छ ।

ठूला लगानीका यी दुबै होटल/रिसोर्ट हाल निर्माणको अन्तिम चरणमा रहेका छन् । पछिल्लो समय मारवाडी समुदायका व्यवसायीहरू नै होटल तथा पर्यटन क्षेत्रमा आकर्षित भएपछि रेस्टुरेन्ट, होटल, रिसोर्ट आदि सञ्चालन गर्ने होडबाजी नै चलेको उनले बताए । यसअघि मारवाडी समुदायका उद्योगी व्यवसायीको लगानी सेवामूलक तथा हस्पिटालिटी क्षेत्रमा कमै मात्र थियो ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?