कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मधेसको विकास नभएसम्म देशको विकास सम्भव छैनः मन्त्री महासेठ

रासस

धनुषा — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेसको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताएका छन् ।

मधेसको विकास नभएसम्म देशको विकास सम्भव छैनः मन्त्री महासेठ

जनकपुरधाम उपमहानगरपालिका १४ स्थित रजौलमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, 'मधेसको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।' मन्त्री महासेठले चार वर्षभित्र मधेसका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र गाउँ गाउँलाई सदरमुकामसँग जोड्ने प्रतिवद्धता व्यक्त गरे । आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रुपमा सञ्चालन हुने र आगामी चार वर्षभित्र पूर्व पश्चिम रेल सञ्चालन हुने उनले बताए ।


हुलाकी सडक निमार्णको कार्य पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी ओलीले पानी जहाज चलाउने जनतासँग गरेको प्रतिबद्धता पनि आगामी एक वर्षभित्र पूरा हुने धारणा व्यक्त गरे ।


मधेसको अधिकारका लागि राजपा प्रतिबद्ध : भण्डारी


राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले मधेस र मधेसी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । राजपा नेपालले मंगलबार जनकपुरमा गरेको शुभकामना कार्यक्रममा उनले भने, 'मधेसको हकअधिकार प्रवद्र्धनका लागि अहिले संविधान संशोधनका लागि दबाब दिनुपर्ने आवश्यक्ता छ ।'



नेता भण्डारीले मधेसी जनताको चाहना बमोजिम संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै यसको लागि सरकार आनाकानी गरिरहेको गुनासो गरे । प्रदेश नं २ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले मधेसको स्वाभिमान, सम्मान र अधिकारका लागि सबै एकजुट हुनुपर्ने बताए ।


प्रकाशित : आश्विन ३०, २०७५ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?