१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अपहरणपछि हत्या गरी फरार पक्राउ

रवीन्द्र उप्रेती

महोत्तरी — औरही नगरपालिका १ स्थित औरही बजारमा ९ महिने बालिकाका सोनालीको अपहरणपछि हत्या गरी फरार रहेका २५ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ  । साहको पक्राउपछि न्याय मिल्ने आशा जगाएको सोनालीको परिवारले जनाएका छन्  ।

अपहरणपछि हत्या गरी फरार पक्राउ

महोत्तरीको भंगाहा सीतापुर ६ जमुनिया निवासी साह सुनसरीको कोसी गाउँपालिका ८ भण्टावारीस्थित सीमा प्रहरी चौकीले पक्राउ गरेको हो ।


चौकीका सई अवधलाल साह सोनारको कमान्डले शनिबार अपराह्न शंकास्पद अवस्थामा पक्राउ गरेको साहलाई आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ ।


साहले भदौ १० गते रक्षाबन्धनको दिन औरही बजारस्थित फैन्सी तथा कस्मेटिक पसलबाट बालिकाको अपहरण गरेका थिए । बालिकाको बुबा सन्तोष चौधरीले सञ्चालन गर्दै आएको उक्त पसलमा रहेको सीसीटीभी फुटेजबाट साहले सोनालीको अपहरण गरेको रहस्य खुलेको थियो । बालिकाको शव भोलिपल्ट अपराह्न भंगाहा नगारपालिका ७ स्थित फेकु चौधरीको आँप बगँैचामा फेला परेपछि अपराधी पक्राउको माग राख्दै स्थानीय तथा व्यापारीले बजार तथा बर्दिबास जलेश्वर सडक खण्ड ठप्प पारेका थिए ।


घटनाको २ महिनापछि नै किन न होस् छोरीको हत्यारा पक्राउ परेपछि शोकाकुल परिवारले ‘न्याय पाउने आशा जगाएको’ प्रतिक्रिया दिएको छ । बालिकाका पिता सन्तोषले प्रहरीलाई धन्यवाद दिँदै साहको पक्राउले प्रहरीप्रति जनताको जनविश्वाश बढाएको बताए ।


‘मेरो छोरीको अपराधी पक्राउपछि हामीलाई न्यायको आशा जगाएको छ,’ सन्तोषले कान्तिपुरसँग भने, ‘मेरी छोरीको आत्माको आत्माको शान्तिका लागि अपराधीलाई कडाभन्दा कडा सजायका लागि सबैमा आग्रह गर्दछु ।’


प्रहरी उपरीक्षक ईश्वर कार्कीले सुनसरीबाट केही समयअघि मात्र जिल्ला प्रहरी महोत्तरी ल्याइएका साहमाथि सघन अनुसन्धान भइरहेको जनाए । कार्कीका अनुसार साहसंग सोधपुछको क्रम जारी छ ।


जिल्ला प्रहरी महोत्तरीको अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक सुखाडी साहका अनुसार साहमाथि अपहरण, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?