२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

झिझियामा झुम्यो जनकपुर

‘मुलुक संघीयतामा प्रवेश गरेको छ । स्थानीय तहका लोकनृत्य, लोकगाथा, लोकपर्व त्योहारको संरक्षण संवद्र्धनका लागि हामी कटिबद्ध छौं’
श्यामसुन्दर शशि

जनकपुर — संस्कृतिप्रेमी युवायुवतीले मंगलबार राती जानकी मन्दिरमा आयोजित ‘झिझिया नाइट’मा प्रदर्शित नृत्यले उपस्थितलाई नाँच्न बाध्य बनायो । जनकपुरियाले ग्रामिण महिलाको प्रस्तूति हेरेपछि धेरैपटक भने,वान्स मोर ।

झिझियामा झुम्यो जनकपुर

देश–विदेशमा अध्ययनरत्त युवायुवती दसैं विदामा जनकपुर आएको बेला झिझिया नाइटको आयोजना गरेका थिए ।

कार्यक्रममा धनुषा र महोत्तरीका विभिन्न गाउँबाट आधादर्जन झिझिया समूहको सहभागिता थियो । पारम्परिक भाका, धून तथा तालमा उनीहरूले प्रदर्शन गरेको झिझिया नृत्य देखेर दर्शक दंगदास भए ।

‘ग्रामिण झिझियाको छुट्टै सुगन्ध हुन्छ । सहरियाजस्तो वास्ना नै नआउने हुँदैन,’ जनकपुरका हास्य कलाकार राजेश सक्सेनाले आफ्नै तालमा प्रतिकृया दिए ।

प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य रामभरोस कापडीले बोक्साबोक्सीजस्ता दुष्टआत्माबाट गाउँ–समाजलाई जोगाउन आयोजना गरिने झिझिया नृत्यलाई तान्त्रिक उपक्रमको संज्ञा दिए । उनले भने, ‘झिझिया निर्माण, प्रदर्शन तथा भसान (सेलाउने वा समापन)सम्म तन्त्रको प्रयोग हुन्छ । सिद्धस्त तान्त्रिकले मन्त्रिएपछि मात्र नृत्य सुरु हुन्छ ।’

तीन दशकअघिसम्म मिथिलाञ्चलका प्राय: सबै गाउँमा झिझिया नृत्यको आयोजना हुन्थ्यो । ग्रामीणहरू अ–आफ्ना चेलीबेटीलाई झिझिया खेल्न माइत बोलाउँथे । दसैंमा माइत आउने चेलीबेटी सामाचकेवा पर्वमा सहभागी भई कार्तिक पूर्णिमापछि मात्र ससुराली फर्किन्थे । अहिले झिझिया नृत्य लोप हुने अवस्थामा छ ।

झिझिया नाइटका आयोजकमध्येका रवि नायकले आफूहरू मिथिलाको लोपोन्मुख लोकनृत्यलाई पुन:स्थापना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । ‘झिझिया, जटजटिनजस्ता लोकनृत्य लोप हुने अवस्थामा छ । यसलाई पुर्नस्थापना गर्ने अभियान हो यो,’ नायकले कान्तिपुरसंग भने ।

झिझिया नाइटमा सहभागी प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, प्रदेशसभा सदस्य परमेश्वर साह तथा जनकपुरधाम उपनगरपालिकाका मेयर लालकिशोर साहले मिथिलाको भाषा, साहित्य, कला, संस्कृति रक्षाका लागि आवश्यक कार्यनीति बनाउने प्रतिबद्धता व्यक्त गरे ।

‘मुलुक संघीयतामा प्रवेश गरेको छ । स्थानीय तहका लोक नृत्य, लोकगाथा, लोकपर्व त्योहारको संरक्षण संवद्र्धनका लागि हामी कटिबद्ध छौं,’ जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले भने ।

प्रकाशित : कार्तिक ८, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?