उपलब्धिविहीन कम्प्युटर शिक्षा
सिरहा — विद्यार्थीलाई प्राविधिक ज्ञान दिन सरकारले ९ वर्षअघि सामुदायिक विद्यालय तहमा कक्षा ६ देखि १० सम्म कम्प्युटर विषय लागू गर्यो । ऐच्छिक संस्कृत र कम्प्युटरमध्ये एक विषय रोज्नुपर्ने भएपछि सिरहाका १ सय २९ विद्यालयमा कम्प्युटर विषयको पढाइ हुँदै आएको छ ।
तर, यो शिक्षा व्यवहारमा लागू हुन सकेको छैन । कुनै विद्यालयमा कम्प्युटर छैन भने भएको विद्यालयमा विद्यार्थीले कम्प्युटर कस्तो हुन्छ भन्ने देख्नसमेत पाएका छैनन् ।
सिरहाको विष्णुपुर गाउँपालिका–२ राजपुरस्थित राजपुर माविमा कक्षा ९ मा अध्ययनरत अन्जुकुमारी यादव र रामउद्गार यादवले ६ कक्षादेखि ८ कक्षा सम्म कम्प्यूटर शिक्षा त पढे तर उनीहरूले अझै सम्म कम्प्युटर छुन समेत पाएका छैनन् ।
सिरहाकै सुखीपुर नगरपालिका–७ बलहिस्थित रजै जनक माविका कक्षा ८ का प्रवेशकुमार महतो र कक्षा ७ की रोशनीकुमारी झा कक्षा ६ देखि नै कम्प्युटर शिक्षा पढिरहेका छन् । उनीहरूले पनि दुई वर्षसम्म पढ्दा कम्प्युटर छुन
नपाएको सुनाइन् ।
त्यसैगरी सरस्वती मावि गोलबजार ३ तेतरिया जमदहमा पनि कम्प्युटर शिक्षा पढाइ हुन्छ । अधिकांश विद्यार्थीसँग कम्प्युटर शिक्षा लिएको सर्टिफिकेट त छ तर उनीहरू सामान्य कामका लागि पनि कम्प्युटर चलाउन सक्दैनन् ।
यो अवस्था जिल्लाका तीन विद्यालय मात्र हैनन्, सबैजसो माध्यमिक विद्यालयको यही अवस्था छ । सिरहामा मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषयमध्ये कम्प्युटर शिक्षा ६ देखि १० सम्म पठनपाठन हुन्छ । जिल्लामा १ सय २९ सामुदायिक विद्यालय छन् । तीमध्ये ६ देखि ८ सम्म ५२, १ देखि १० सम्म ३४ र १ देखि १२ सम्म पढाइ हुने ४३ विद्यालय छन् । ती सबैको अवस्था यस्तै रहेको छ ।
तर, लहानस्थित पशुपति आदर्श माविबाहेक कसैसँग कम्प्युटर शिक्षकको दरबन्दी छैन । पशुपति विद्यालयमा दरबन्दीमा कम्प्युटर शिक्षक शत्रुघन महतो छन् तर कम्प्युटर नै छैन । विद्यालयमा २०७१ भदौ ६ गते हाजिर भएका महतो कम्प्युटर नभएकै कारण विषयगत कक्षा लिन्छन् तर प्रयोगात्मक कक्षा अहिलेसम्म नलिएको बताउँछन् ।
‘म हाजिर हुनुभन्दाअगाडि नै विद्यालयका ५ वटा कम्प्युटर चोरी भएको रहेछ,’ उनले भने, ‘त्यसपछि अहिलेसम्म कम्प्युटरको प्रयोगात्मक कक्षा हुन सकेको छैन ।’ उनका अनुसार ५० पूर्णांक विषयगत र ५० पूर्णांक प्रयोगात्मक हुन्छ । तर कम्प्युटर नभएकैं कारण प्रयोगात्मक कक्षा हुन सकेको छैन ।
जिल्लामा पशुपति माविबाहेक सबै विद्यालयले निजी स्रोत अथवा अन्य विषयका शिक्षकहरूको सहयोगमा कम्प्युटर शिक्षा धानिरहेका छन् ।
राजपुर माविमा कम्प्युटरको विषयगत शिक्षक छैनन् । त्यहाँ अन्य विषयका शिक्षकले कम्प्युटरको सैद्धान्तिक विषय पढाए पनि प्रयोगात्मक भने हुँदैन । आवश्यक कम्प्युटर व्यावहारिक ज्ञान भएका शिक्षक नभएकाले प्रयोगात्मक कक्षामा समस्या भएको प्रधानाध्यापक रामसेवक यादवले बताए । ‘सरकारले कम्प्युटर शिक्षा त दियो तर आवश्यक शिक्षक र कम्प्युटर उपलब्ध गराएन,’ उनले भने, ‘कम्प्युटर शिक्षा प्राविधिक भए पनि विद्यार्थीलाई त्यसको ज्ञान दिन सकिरहेका छैनौं ।’
जनक मावि बलहीको अवस्था पनि उस्तै छ । यस विद्यालयका गणित तथा विज्ञान शिक्षक विजयकुमार महतोले र अर्का प्रावि शिक्षक वीरेन्द्र साहले कम्प्युटर कक्षा लिन्छन् । उनीहरू आफैंले भने कम्प्युटर पढेका छैनन् । अंग्रेजी राम्रो भएकाले आफूहरूले कम्प्युटर पढाएका दुवैले बताए । उनीहरू भन्छन्, ‘हामी पुस्तकमा रहेको सैद्धान्तिक पढाउँछौं, प्रयोगात्मक पाठ आए त्यसलाई छाडेर अगाडि बढ्छौं ।’
विद्यालयका प्रधानाध्यापक मनोजकुमार झाले विद्यालयमा विषयगत शिक्षक नभएकाले र आवश्यक कम्प्युटर नभएकाले विद्यार्थीहरूलाई आवश्यक ज्ञान दिन नसकिएको बताए । उनले आफ्नो विद्यालयमा एक थान कम्प्युटर र एक थान ल्यापटप भए पनि त्यसले प्रशासनिक काम मात्र गर्ने गरेको बताए । ‘आवश्यक कम्प्युटर पनि छैन, त्यसमाथि विद्यालयमा विद्युतीकरण पनि हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले पनि यहाँ कम्प्युटर पढाउन समस्या भएको हो ।’
जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयका शाखा अधिकृत देवनन्दन चौधरीले सरकारले विद्यालय शिक्षामा नै विद्यार्थीलाई कम्प्युटरमा दक्ष बनाउने नीति लिएको भए पनि त्यसअनुसारको शिक्षक दरबन्दी र आवश्यक सामग्री उपलब्ध नगराउँदा कम्प्युटर शिक्षा प्रभावकारी हुन सकेको छैन । ‘सरकारले २०५६ सालदेखि कम्प्युटर शिक्षा ल्याए पनि त्यसको राम्रो व्यवस्थापन गर्न सकिरहेको छैन,’ उनले भने ‘त्यसैले यो शिक्षा पनि उही बिरालोको घाँटीमा घण्ट झुन्ड्याएजस्तो भएको छ, कम्प्युटर पढाइ भएको छ, उपलब्धि हुन सकेको छैन ।’
उनका अनुसार तीन–तीन वर्षसम्म कम्प्युटर शिक्षा पढ्दा एक जना विद्यार्थी कम्तीमा अफिस प्याकेज सहज रूपले चलाउन सक्ने हुनुपर्ने हो तर त्यस्तो हुन सकिरहेको छैन ।
प्रकाशित : कार्तिक १०, २०७५ १०:०४