३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अपराध रोक्न स्थानीय तह सक्रिय

भरत जर्घामगर

सिरहा — अपराध रोकथाम, सामाजिक विकृति विसंगतिविरुद्ध जनचेतना फैलाउन र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीले सिरहाका स्थानीय तहसँग संस्थागत साझेदारी गरी अघि बढ्ने अभियान सुरु गरेको छ ।

अपराध रोक्न स्थानीय तह सक्रिय

त्यसका लागि सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठ र जिल्लाका १७ वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरूले समुदाय र प्रहरी साझेदारी समझदारी पत्रमा शनिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेर प्रतिबद्धता जनाएर अभियान सुरु गरेको हो ।

आपराधिक घटनाहरू बेरोजगारी, अशिक्षा, न्यून आयस्रोत, गरिबी, एकल–अभिभावक परिवार, लागूऔषध दुव्र्यसन, मादक पदार्थ सेवन, बढ्दो सहरीकरण, अव्यवस्थित बस्ती, बसाइँसराइका कारण हुने गरेको छ । अस्थिर जनसंख्या लगायतका सामाजिक कारणहरूसँग पनि अन्तर सम्बन्धित हुने भएकाले प्रहरीको एकल प्रयासबाट मात्र असम्भव हुने भएकाले यो अभियान सुरु गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।

‘अपराध रोकथाम तथा सामाजिक सुरक्षा सचेतना अभिवृद्धि गराउने कार्य प्रहरीको एकल प्रयासबाट मात्र प्राय: असम्भव हुन्छ,’ समुदाय र प्रहरी साझेदारी अवधारणा तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रममा एसपी श्रेष्ठले भने, ‘यही तथ्यलाई मनन गर्दै समुदाय–प्रहरी साझेदारीको अवधारणा अनुरूप सम्पूर्ण सरोकारवालाहरूको सामूहिक प्रयासबाट अपराध रोकथाम तथा सामुदायिक सुरक्षा सचेतना अभिवृद्धि गर्ने कार्य अगाडि बढाउने अभियान सुरु गरिएको हो ।’

अभियानलाई जिल्ला, नगर, गाउँपालिका, वडा, विद्यालय र टोलटोलमा समिति गठन गरी अघि बढ्ने उनले जनाए । गठित समितिले सुरक्षा चेतना अभिवृद्धि गर्न आवश्यक क्षेत्र प्राथमिकीकरण गरी नगर, गाउँ र टोलटोलमा साझा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गर्नेछन् भने समुदायको सुरक्षामा स्थानीय सामूहिक सहभागिता बढाउन प्रोत्साहन हुने किसिमका कार्यक्रमहरू गर्ने र सडक बत्ती, सुरक्षा गार्ड, सिसिटिभी लगायत सुरक्षा साधनहरू जडान गरी प्रयोग गर्न प्रेरित गर्नेछन् ।

तराई मधेसको जिल्लामा मेला पर्व अधिक हुने भएकाले मेला, पर्वमा सूचना तथा समन्वय केन्द्र सञ्चालन गर्न समितिले समन्वय गर्नेछ । जिल्ला प्रहरी कार्यालय सिरहाको आर्थिक वर्ष २०७४/७५ को तथ्यांकअनुसार जिल्लामा २२ हत्या, ६ अपहरण, चोरी ४८, डकैती १, जबरजस्ती करणी ३१ आपराधिक घटना भएका छन् । त्यसैगरी यस आर्थिक वर्ष साउन र भदौ दुई महिना अवधिमा ५ हत्या घटना भएका छन् ।

कार्यक्रममा सामुदायिक सुरक्षा सचेतना अपराध रोकथामको सबैभन्दा महत्त्वपूर्ण पक्ष भएकाले अपराध रोकथाम, न्यूनीकरण र समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्नका लागि समुदाय–प्रहरी साझेदारीको माध्यमबाट विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी अभियानलाई अघि बढाउने सिरहाका स्थानीय तहका प्रतिनिधिले औंल्याए ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सुरक्षा विकासको पूर्वसर्त भएको र विकास सुरक्षित समाजको आधार भएकाले यही अन्तरसम्बन्धलाई मनन गर्दै सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरूप स्थानीय तह र स्थानीय प्रहरी एकाइबीच प्रभावकारी समन्वय, सहकार्यबाट स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकीकृत रूपमा अगाडि बढाउन समुदाय–प्रहरी साझेदारी अभियान सफल हुने आशा व्यक्त गरे ।

प्रकाशित : कार्तिक १२, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?