कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लागूऔषध दुर्व्यसनी बढ्दै

दुवर्यसनीको जमात सर्लाही र ललितपुरबाट आउँदा समसी नाका लागूऔषधको ट्रान्जिट प्वाइन्ट बनेको छ
रवीन्द्र उप्रेती

महोत्तरी — महोत्तरीमा लागूऔषध प्रयोगकर्ताको संख्या बढेको छ । लागूअ‍ौषध सेवनका लागि सिन्धुली, सर्लाही र ललितपुरबाट जमात आउँदा समसी नाका लागूऔषधको ट्रान्जिट प्वाइन्ट बनेको छ  ।

लागूऔषध दुर्व्यसनी बढ्दै

उनीहरू बर्दिबास–गौशाला–समसी हुँदै भारतको सीमावर्ती बेला, कन्हमा र परिहार बजार पुगेर लागूऔषध सेवन गर्ने गरेको पाइएको छ ।

अहिले पूर्वपश्चिम राजमार्गको माईस्थानदेखि समसीसम्मको सडक कालोपत्रे भएकाले पनि उनीहरूलाई भारतीय बजार पस्न सुगम भएको छ । कालोपत्रे भएदेखि सिन्धुलीबाट गाडी नै रिजर्भ गरेरसमेत दुव्र्यसनीहरू सीमापारि पुग्ने गरेको पाइएको छ ।

मोटरसाइकल र सार्वजनिक सवारीमा भारतीय बजार पुग्नेको संख्या पनि उल्लेख्य देखिन्छ । छिमेकी मुलुकका बजारमा बढ्दै गएका पहाडी मूलका केटाहरू देखेपछि जो कोहीले उनीहरू दुव्र्यसनी भएको सहजै पहिचान गर्छन् ।

एक स्थानीयका अनुसार १६ देखि २५ वर्ष उमेर समूहका ती युवाहरूले भारतीय बजारमा कुनै उपभोग्य सामान किनेका हुँदैनन् । नेपालीहरू मुख्यत: उपभोग्य सामान खरिद गर्नका लागि भारतीय बजार पस्छन् । तर ती युवाहरू भने रित्तै हात भारत पस्छन् र रित्तै हात फर्केको देखिन्छन् ।

भारतीय बजारबाट फर्केका उनीहरूको हावभाव भने फरक देखिएपछि लागूअ‍ौषध सेवन गरेको सहजै बुझिन्छ । ‘त्यति टाढाबाट दिनहुँजसो काम न काजको किन जानुपर्‍यो भारतीय बजार ?’ समसीका एक स्थानीयले प्रतिप्रश्न गरे ‘लागूऔषध नखाएको भए फर्कदा लट्ठ परेको बोली लरवरिएको र शरीर हल्लिएको किन हुन्छ ?’

प्रहरीलेसमेत केही समययता सिन्धुलीलगायतका स्थानबाट आएर भारतीय बजार पस्ने दुव्र्यसनीको संख्या बढ्दै गएको पुष्टि गरेको छ । यसरी सेवन गरेर फर्केकाहरू सडकमा लडेको , मोटरसाइकल हराएको, खर्च अभावले विचल्लीमा परेको जस्ता समस्या फेला पर्ने गरेको प्रहरीको भनाइ छ ।

चार वर्षअघि कन्हमा बजारबाटै लागूऔषध सेवन गरेर फर्केका सिन्धुलीकै एक युवाको मृत्यु भएको थियो । यो घटनाले लागूऔषधको जालो तराईदेखि पहाडी भेगसम्म समस्याका रूपमा बढ्दै गएको रहस्य खोलेको थियो । भारतीय बजारबाट फर्केका ती युवाहरूलाई शंका लागी तलासी लिँदा केही नपाइएपछि छाड्ने गरेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार पहिले उनीहरू लागूऔषध बोकेरै ल्याउथे । पक्राउ पर्न थालेपछि धेरैजसोले ‘सेवन गर्ने तर बोकेर नल्याउने’ नयाँ रणनीति अपनाउन थालेको भट्टले बताए ।

‘शंका लागेर तलासी लियो केही फेला पर्दैन,’ भट्टले बताए ‘प्रमाणै नपाइएपछि हामीले के गर्ने ?’ कारवाहीबाट जोगिन बोकेर नल्याउने भएपछि सेवन गर्नकै लागि दैनिक भारत पस्ने हुँदा भारतीय बजारमा उनीहरूको भीड बढेको सुरक्षाकर्मीको अनुमान छ । प्रहरी उपरीक्षक ईश्वर कार्कीले लागूअ‍ौषध सेवन र ओसारपसारमा कडाइ गरिएको दाबी गर्दै आएका छन् ।

यसबीच प्रहरीले लागूऔषधसहित यसको ओसारपसारमा संलग्नलाई समेत नियन्त्रणमा लिई कारवाही गरेको कार्कीले जनाए । प्रहरी नायव निरीक्षक रामलाल यादवको कमाण्डमा खटिगएको प्रहरी गस्तीले समसी ६ बाट ठूलो परिमाणको लागूऔषधसहित आइतबार अपरान्ह ओसारपसारमा संलग्न समसी २ पर्सा टोलका सफिक रहमानलाई नियन्त्रणमा लिएको जनाए ।

रहमानको साथबाट ५ प्रकारका १ हजार २ सय ६० थान लागूऔषध बरामद गरेको थियो । लगतै यादवकै कमाण्डले सोही ठाउँबाट १ सय ५ थान लागूऔषधसहित ओसारपसारमा संलग्न ३ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ललितपुर ४ बागडोलका ३५ वर्षीय राजेन्द्र थापा, बर्दिबास २ गौरीडाँडाका २३ वर्षीय सागर तामाङ र उनकै घरमा डेरा गरी बस्ने बारा निजगढ ५ का २१ वर्षे राजेन्द्र मगर छन् ।

प्रकाशित : कार्तिक १३, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?