३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हत्या आरोपमा चार पक्राउ

पक्राउ पर्नेमा राजविराज–६ का मुन्नीदेवी साह, शंकर मेहतर, सुरज मेहतर र चनरदेवी मेहतर छन्
अवधेशकुमार झा

राजविराज — टीकाको दिन हत्या गरिएकी राजविराज–६ की आशादेवी देवको हत्यामा संलग्न आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा चार पक्राउ

जिल्ला प्रहरी कार्यालय सप्तरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा आशादेवीको हत्यामा संलग्नलाई सार्वजनिक गरियो ।

पक्राउ पर्नेमा राजविराज–६ का मुन्नीदेवी साह, शंकर मेहतर, सुरज मेहतर र चनरदेवी मेहतर छन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले पक्राउ परेकामध्ये शंकर र सुरज हत्यामा प्रत्यक्ष संलग्न भएको बताए । उनले आशादेवीको हत्या रीसइबीका कारण गरेको बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीसँग टाँसिएकै घरमा बस्दै आएकी आशादेवीको इँटा प्रहार गरी हत्या गरिएको थियो ।

राजविराज–६ स्थित जिल्ला प्रहरी कार्यालयको दक्षिणी पर्खालसित टाँसिएर रहेको डेढ तले पक्की घरमा एकल महिला आशादेवी देब बस्दै आएकी थिइन् । विजयादशमीको टीकाको दिन उत्तरी भागमा प्रहरीहरू टीका लगाउन ब्यस्त रहेका बेला अचानक खवर आयो,छेउमा महिलाको हत्या भएको छ भनेर । जिल्ला प्रहरीका प्रमुखसहित प्रहरी अधिकृतहरू छेउकै घरमा पुग्दा आशादेवीको हत्या गरिएको अवस्थामा उनको शव घरभित्र देखेका थिए ।

सप्तरीका एसपी बिष्टका अनुसार टाउकोमा इँटाले हानेर आशादेवीको हत्या गरिएको थियो । ‘टाउकोमा इँटाले हानेर हत्या भएको देखिन्छ,’ एसपी बिष्टले भने, ‘थप कुरा अनुसन्धान पूरा भएपछि मात्र खुल्छ ।’ आशादेवीको हत्या महानवमीकै मध्यरातिको समयमा भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । एसपी बिष्टका अनुसार चारवटा कोठा रहेको आशादेवीको घरका कोठामा प्रयोग गरिएका र प्रयोग नभएका कण्डमहरू बरामद भएको छ ।

‘प्रारम्भिक अनुसन्धानबाट उनको घर देह व्यापारमा प्रयोग भएको देखिन्छ,’ एसपी बिष्टले भने, ‘हत्या गरिएकी आशादेवीको घरमा कण्डम फेला पर्नुले उनको घरमा अन्य ब्यक्तिहरू पनि आएर शारीरिक सम्पर्क गर्ने गरेको देखिएको छ ।’ हत्या गरिएकी आशादेवीले विभिन्न ब्यक्तिलाई ब्याजमा ऋण दिने गरेकी तथा सुन चाँदी बन्धकी राखेर पनि ऋण लगानी गरेको पाइएको प्रहरी अनुसनधानले देखाएको छ । उनको हत्या व्यक्तिगत रीसइबी र आपसी मनमुटावका कारण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी बिष्टले बताए ।

प्रकाशित : कार्तिक १३, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?