किशोरीले थाले संवाद

‘जब महिनाबारीसम्बन्धी संवाद हुन थाल्यो किशोरीहरूको उपस्थिति घट्दै गयो’
शंकर आचार्य

पर्सा — ‘१ महिनायता मेरो टोलका ५ किशोरीहरू बोक्सी लाग्यो भनेर संवाद कार्यक्रममा आउथेनन्, उनीहरू बेलाबेलामा आफैं रुन्थे, मैले बोक्सी भन्ने कुरो हँुदैन भनी सम्झाएर उनीहरूको मनबाट यो भय हटाएपछि अहिले संवाद कार्यक्रममा नियमित सहभागी हुन्छन् र आफ्ना समस्या बारे खुलेर बोल्छन् ।’

किशोरीले थाले संवाद

वीरगन्जमा मंगलबार आयोजित किशोरी सशक्तीकरणका लागि संवाद कार्यक्रमको एनिमेटर्स तालिममा सगरमाथा किशोरी समूहकी एनिमेटर वीरगन्ज ३१ बेल्वाकी सलमुन खातुनले आफ्नो अनुभव यसरी सुनाइन् ।

२ वटा समूहमा ५० किशोरीलाई उनले नियमित विद्यालयसँग जोड्ने मात्र नभई किशोरीहरूको व्यक्तिगत जीवनमा आइपरेका समस्याहरूको समाधानका लागि सक्रिय छिन् ।

बारा जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिरास्थित जागरुक ज्योती किशोरी समूहकी एनिमेटर रुखसाना खातुनले आफ्नो टोलमा संवाद कार्यक्रम चलाउँदा सुरुमा ५० किशोरी नियमित सहभागी थिए ।

तर जब महिनाबारीसम्बन्धी चर्चा संवाद कार्यक्रममा हुन थाल्यो किशोरीहरूको उपस्थिति घट्दै गयो । उनीहरूले लाजले संवादमा आउन छाडे ।

तर तीनैमध्येका ३ किशोरीलाई अनियमित महिनाबारीका कारण शारीरिक समस्या रहेको जानकारी पाएपछि रुखसानाले ती किशोरीहरूलाई अस्पताल लगेर उनीहरूको महिनावारी नियमित बनाउन उपचारमा सहयोग गरिन् । ‘अहिले तीनै किशोरीहरू संवाद कार्यक्रममा नियमित सहभागी हुन थालेका छन्,’ रुखसानाले अनुभव सुनाइन्, ‘अहिले उनीहरू आआफ्ना समस्याबारे खुलेर बोल्छन् ।’

कार्यक्रममा अन्य एनिमेटरहरूले पनि आआफ्नो अनुभव यसरी सुनाए । उनीहरू किशोरीको शिक्षा, स्वास्थ्य, लैंगिक हिंसा, बाल विवाह, दाइजोविरोधी अभियान जीवनोयोगी शिक्षा जस्ता विषयमा संवादसँगै वकालतको पाटोमा पनि सक्रिय छन् ।

संवादले किशोरीहरूको जीवनमा आमूल परिवर्तन आउँदै छ । कार्यक्रमकै कारण अभिभावकको बन्देज वा अन्य कारणले विद्यालय जान छाडेका बालबालिका तथा किशोरीहरू पुन: विद्यालय आउन थालेका छन् ।

यी किशोरीहरू महिला अधिकार र हिंसाका विरुद्ध मात्र नभई बालविवाह र दाइजो प्रथाविरुद्ध पनि कडा रूपमा बोल्न थालेका छन् । युरोपियन युनियनको सहयोगमा चाइल्ड नेपाल र संरक्षण नेपालको सहकार्यमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आयोजनामा वीरगन्ज महानगरका वडा नं २९, ३० र ३१ गरी ३ वडामा यस वर्षको मार्च महिनादेखि सञ्चालित कार्यक्रममा ४ सय किशोरी आबद्ध छन् ।

प्रकाशित : कार्तिक १४, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?