१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दोहोरो नागरिकता लिनेलाई कारबाही माग

नेपाल र भारत दुवै नागरिकताबाट जग्गा खरिदबिक्रीको कारोबार गर्दै आएको आरोप
पवन यादव

सिमरा — नेपाली र भारतीय दुबै नागरिकता लिएर कारोबार गरिरहेका जितेन्द्र ओझालाई कारबाही गरिनुपर्ने माग मंगलबार कलैयामा गरिएको छ ।

दोहोरो नागरिकता लिनेलाई कारबाही माग

बाराको इनर्वासिरा–९ हाल जितपुरसिमरा उपमहागरपालिका वडा २० बस्ने शंकर महतो र भारतको बिहार राज्य जिल्ला सारन छपरा सहाजीपुर थाना कोल्हुवा ग्राम पञ्चायत निवासी अजय ओझासमेतले कलैयास्थित देवकीलाल धर्मशालामा पत्रकार सम्मेलन गरी जितेन्द्रलाई कारवाहीको माग गरेका हुन् ।

जितेन्द्रले पटना जिल्ला बोरिङरोड थाना बुद्ध कोलोनी स्थायी ठेगाना जनाई भारतीय पहिचानपत्र (नागरिकता) र बाराको ईनर्वासिरा ९ हाल जितपुरसिमरा उपमहागरपालिका वडा २० स्थायी ठेगाना देखाई नेपाली नागरिकता लिएको उनीहरूले दाबी गरेका छन् ।

भारतीय नागरिक कन्हैयालाल प्रसाद ओझाको छोरा जितेन्द्रले भारतमा र नेपालमा जितेन्द्र ओझाको नामले नागरिकता लिएको उनीहरूले खुलासा गरे । उनीहरूले ओझाको नागरिकता खारेज गर्न समेत माग गरेका छन् । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय बाराबाट गाउँगाउँमा खटिएको नागरिकता वितरण टोलीले ओझालाई ईनर्वासिरा ९ कै बासिन्दा भनेर २०६३ साल माघ १४ गते नागरिकता नं. ३३३०७५/३५८ उल्लेख भएको नागरिकता प्रदान गरेको थियो । उनी नेपाल र भारत दुवै नागरिकताबाट जग्गा खरिद बिक्रीको कारोबार गर्दै आएको अजय ओझाले आरोप लगाए ।

भारतको बिहार राज्य पटना जिल्ला बोरिङ्गरोड थाना बुद्ध कोलोनी निवासी रहेका जितेन्द्रले सोही ठाउँको गृह नम्बर १२७ तथा भारतीय निर्वाचनको कोलहुवा मतदान कन्द्रको क्रम संख्या नम्बर ५६२ को ११५/१८/२१८७८ नम्बरको निर्वाचन परिचयपत्र समेतको लिएको उनले बताए ।

नेपाल र भारतबाट दुवै देशबाट दोहोरो नागरिकता लिएका जितेन्द्रको नागरिकता खारेज गरी कारवाही गर्न उजुरीकर्ता शंकर महतोले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरे । नेपालको वर्तमान संविधानबमोजिम नेपाली नागरिकता खारेज हुने कानुनी व्यवस्था भए पनि लिखित उजुरी दिंदा पनि जिल्ला प्रशासन कार्यालयले कुनै सुनुवाइ नगरेको उनले आरोप लगाए । जिल्ला प्रशासन कार्यालयमा २०७३ असार ८ गते २००८ दर्ता नं. कायम गरी निवेदन दिंदा पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।

‘नागरिकता खारेज गर्न निवेदन दिएकै कारण आफू असुरक्षित बनेको छु,’ उनले भने, ‘मेरो घरमै पुगेर भारतीय नागरिक ओझाले परिवारलाई धम्क्याएका छन् ।’ शंकरलाई जे पनि हुन सक्छ भन्दै ओझाले परिवारलाई धम्की दिएको उनले आरोप लगाए ।

हिजो सोमबार बेलुका करिब साढे ५ बजेको समयमा होन्डा युनिक रातो रंगको मोटरसाइकलमा जितेन्द्र मेरो घरमा पुगी मेरो परिवार तथा बालबच्चालाई समेत धम्की दिएर आएको हुँदा आफ्नो ज्यानको समेत खतरा रहेको उनले जिकिर गरे ।

प्रकाशित : कार्तिक १५, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?