उखु किसानले पाएनन् अनुदान

सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ ८८ पैसा अनुदानका रूपमा उपलब्ध गराउने निर्णय गरेको थियो
कोष लेखा नियन्त्रण कार्यालय महोत्तरीमा उखु कृषकका लागि २४ करोड १५ लाख २३ हजार रकम आएको छ
सन्तोष सिंह

धनुषा — चिनी उद्योगले उखुको भुक्तानीमा ढिलासुस्ती गरिरहेका बेला सरकारले दिने अनुदानको भुक्तानीमा किसानले झन्झट पाएका छन्  ।

उखु किसानले पाएनन् अनुदान

सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ ८८ पैसा अनुदानका रूपमा उपलब्ध गराउने मन्त्रिपरिषदबाट निर्णय गरेको थियो । तर उखु किसानले अनुदानको रकम पाउनसकेका छैनन् ।


सरकारले उपलबध गराउने ६५ रुपैयाँ जिल्लाको कोष लेखा तथा नियन्त्रक कार्यालयमा आए पनि किसानले पाउन सकेको छैन । एक वर्षअघि बेचेको उखुको भुक्तानीका लागि सरकारले जग्गाको लालपुर्जा, ठेक्काको सम्झौता वा स्तानीय तहको सिफारिस माग गरेपछि किसानले अनुदानको पैसा पाउन झन्झट थपिएको छ ।


महोत्तरी एभरेस्ट चिनी उद्योगले गत वर्ष ४२ लाख ५९ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । उद्योगले अझै भुक्तानी नगरेको किसान महासंघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताए । सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदानका लागि लालपुर्जाको फोटोकपी माग गरी झन्झट थपेको कुशवाहाले बताए । भुक्तानी सहज बनाउन ज्ञापनपत्र बुझाएको उनले बताए ।


सरकारले उपलब्ध गराउने ६५ रुपैयाँ ८८ पैसा प्रतिक्विन्टल उखुको भुक्तानीका लागि कोष लेखा नियन्त्रण कार्यालय महोत्तरीमा उखु कृषकका लागि २४ करोड १५ लाख २३ हजार रकम आएको छ । उखस कृषक १५ हजार ६ सय ११ छन् ।


तर चिनी उद्योगले किसानलाई भुक्तानीका लागि कृषको लालपुर्जा, ठेक्का सम्झौता र स्थानीय तहको सिफारिस नबुझाउँदा किसानको भुक्तानी हुन सकेको छैन । किसानलाई भुक्तानीका लागि उद्योगसँग कागजात मागेको कोष लेखा नियन्त्रक कार्यालयका प्रमुख युवराज रायले बताए ।


चिनी उद्योगले उखुको भुक्तानी किसानको बैंक खातामा जम्मा गर्दै आएको छ । सोही बैंक खातामा सरकारको अनुदान जम्म गर्न जग्गाका लालपुर्जा अनिर्वाय गरेपछि अनुदानको भुक्तानी पेचिलो बनेको छ । कृषि तथा पशु मन्त्रलायले ६५ रुपैयाँ ८८ पैसा उखुको अनुदान भुक्तानीका लागि जग्गाको लालपुर्जा, ठेक्काको सम्झौता वा स्थानीय तहको सिफारिस अनिवार्य गरेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भु यादवले बताए ।


किसानबाट सास्तोमा उखु खरिद गरी उद्योगलाई महँगोमा बेच्ने विचौलिया र दलाललाई निरुत्साहित गर्न लालपुर्जा वा सिफारिस अनिवार्य गर्दा किसानमा समस्यामा परेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले स्वीकारे । किसानको समस्याहरू सहित उखु किसान संघले बुझाएको ज्ञापन पत्र सम्बन्धित मन्त्रलायमा पठाइएको उनले बताए ।


चिनी उद्योगीले प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा भुक्तानी दिएको छैन । क्विन्टल ६५ रुपैयाँ २८ पैसा सरकारी अनुदानसमेत किसान पाउन सकेको छैन । मन्त्रिपरिषद् बैठकले २०७५ वैशाख ४ किसानलाई प्रतिक्विन्टल उखुको चिनी उद्योगीबाट ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारी अनुदानबापत ६५ रुपैयाँ २८ पैसा उपलब्ध गराउने निर्णय गरेको थियो ।


नयाँ उखु काट्ने बेला भइसक्दा पनि एक वर्ष पुरानै उखुको भुक्तानी नपाएका किसानलाई चिनी उद्योग र सरकार दुवैतर्फबाट समस्या भएको छ । उद्योगीले भुक्तानी नगर्दा समस्यामा परेका किसानलाई सरकारले समेत लामो समयदेखि अनुदान रकम उपलब्ध गराएको छैन । दसैं बितिसकेको र दीपावली एवं छठ पर्व नजिकिए पनि उखुको पैसा नपाउँदा किसानहरू समस्यामा छन् ।


इन्दु शंकर चिनी उद्योग र अन्नपूर्ण गरी दुई चिनी उद्योग भएको सर्लाहीमा अनुदानको रकम आउन सकेको छैन । दुई चिनी उद्योगबाट विवरण संकलन हुन नसक्दा अनुदानको रकम प्राप्त हुन नसकेको कोष लेखा तथा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख जगत प्रसाद थपलियाले बताए । सर्लाहीमा करिब २७ करोड रकमको अनुमान गरिएको भए पनि विवरण आउन नसक्दा रकम आउन सकेको छैन, उनले भने ।


भुक्तानी नपाउँदा उखु किसानका लागि चाडपर्व खल्लो हुने अवस्था आएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउँछन्  । दसैं अगाडि नै सरकारले दिने भनेको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान भुक्तानी हुन सकेको छैन । मुलुकभरिका १२ वटा चिनी उद्योगबाट गएको सिजनमा २ करोड ६ लाख ८६ हजार ७ सय ८० क्विन्टल उखु क्रसिङ भएको र ४/५ लाख क्विन्टल उखु भारतबाट ल्याइएको उखुको कटाउँदा किसानले सरकारबाट पाउने अनुदानको मात्र १ अर्ब २८ करोडभन्दा बढी रकम रोकिएको कृषकहरूको गुनासो छ ।


मुख्य चाडबाडको मुखमा उखुको पैसा नपाउँदा किसानलाई पर्व कसरी मनाउने भन्ने चिन्ता रहेको नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले बताए । उनले चिनी उद्योगीबाट वर्षौंदेखि दु:ख पाइरहेका उखु किसानले यस वर्ष सरकारबाट समेत उपेक्षित हुनुपरेको गुनासो गरे । उप्रेतीले नगदे बालीका रूपमा उखु खेती गरेका किसान २ वर्षसम्म भुक्तानी नपाउँदा आर्थिक र सामाजिक भारबाट पीडित भएको बताए ।


सख्खर बनाउँदै
महोत्तरी, गौशाला नगरपालिका–११ कालिपुरका उखु कृषक रामहृदय महतो गत वर्ष चिनी उोगलाई बेचेको उखुको पैसा अझै पाउन सकेको छैन । खेतको उखु फेरि काट्ने बेला भइसक्दा गत वर्षकै भुक्तानी चिनी उद्योगमा अल्झिएको छ । चिनी उद्योगबाट उखुको भुक्तानी लिन झमेला हुन थालेपछि गत वर्ष चिनी उद्योगलाई बेचेको उखु रामहृदयले यस वर्ष सख्खर बनाएर बेच्दै छन् ।


सरकारले तोकेको प्रतिक्वीन्टल ५ सय ३१ रुपैयाँ ३० पाउन वर्ष दिन लाग्छ, रामहृदयले भने, ‘सख्खर बनाएर बेच्दा नगदै पैसा आउँछ ।’ सख्खर बनाउन झन्झिटिलो र लामो समय लाग्ने भए पनि उखु काटेर तेस्रो बाली खेतमा उब्जिने भएपछि रामहृदयले खुट्टी उखु काट्न थालेको छु, उनले भने ।


महोतरीको एभरेस्ट सुगरमा उखु बेचेका किसान अझै भुक्तानी पाउन सकेको छैन । नगदे बाली लगाएर चिनी उद्योगलाई उखु बेच्दा ऋणको भारी बोक्नु परेको कालिपुरकै अर्का उखु कृषक भोगेन्द्र महतो बताउँछन् ।


माफिया, सरकारको उदासिनता र उद्योगीको मनोपोलीले गर्दा नगदे बाली उखु किसानका लागि उधारो बाली भएको महतोले बताए । ‘उखु खेतीको पहिचान ऋणी खेतीमा रुपान्तरण भएको छ ,’ उनले भने, ‘किसानले वर्ष दिनसम्म उधारो र कर्जा लिएर खेती गरी उद्योगले एक वर्षपछि मात्रै भुक्तानी दिँदा किसान २ वर्षसम्म ऋणकै भरमा दिन बिताउनु परेको छ ।’ उद्योगले भुक्तानीमा समस्या गरेका कारण किसान उखेलेर सख्खर बनाउन बाध्य भएका छन् ।

प्रकाशित : कार्तिक १६, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?