१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

निस्फिक्री घुम्छन् ‘अभियुक्त’

‘मुद्दामा सुनुवाइका क्रममा विपक्षीले अटेरी गरी अदालतमा उपस्थित नभएको देखिन्छ, जिल्ला अदालतको सुनुवाइका क्रममा प्रतिउत्तर नलगाउने विपक्षीले पुनरावेदन गर्न मिल्दैन’
पवन यादव

सिमरा — मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले कलैया अस्पतालका चिकित्सकको कार जलाएको घटनामा संलग्न रहेको ठहर गर्दै बारा जिल्ला अदालतले एक पूर्व सभासदसहित बाराका मधेसी दलका ३ जना नेता/कार्यकर्तालाई जेल सजाय सुनायो  ।

निस्फिक्री घुम्छन् ‘अभियुक्त’

सजाय हुनेमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पूर्व सभासद कलैया उपमहानगरपालिका १ का प्रमोद गुप्ता, तराई मधेस लोकतान्त्रिक पार्टी बाराका प्रवक्ता एवम् पार्टी निकट शिक्षक संघका जिल्ला अध्यक्ष समेत रहेका बारा बडकी फुलवरिया ४ का अरुण कुमार सिंह, संघीय समाजवादी फोरमको भ्रातृ संगठन मधेस रक्षा दलका जिल्ला अध्यक्ष समेत रहेका कलैया उपमहानगरपालिका २ का सचितानन्द यादव छन् । अदालतले उनीहरूलाई जनही ६ महिना कैद सजाय र ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा जरिवाना गरेको छ ।


सवारी साधनमा आगजनी मुद्दामा बारा जिल्ला अदालतको ३ नं. इजलासका तत्कालीन जिल्ला न्यायाधीश केशव प्रसाद अधिकारीको इजलासले मुद्दाको अन्तिम सुनुवाइ गर्दै २०७४ माघ २५ गते तीनै जनालाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको बारा जिल्ला अदालतका श्रेस्तेदार (उपसचिव) कोश्लेश्वर ज्ञवालीले जानकारी दिए ।


तीनै जनाले नेतृत्व गरेको आन्दोलनकारीहरूको हुलले कलैया अस्पतालका तत्कालीन प्रमुख (मेसु) शैलेश कुमार झाको नाममा रहेको २९ लाख ५० हजार मूल्य पर्ने स १ च ८७९ नम्बरको निजी कारमा अगजनी गरी क्षति पुर्‍याएको थियो ।


कलैया अस्पताल परिसरमा पार्किङ गरिएको उक्त सवारीमा मधेस आन्दोलनमा हुलले २०७३ भदौको तेस्रो सातामा आगजनी गरेको थियो । निजी सवारीमा आगजनी गरेको भन्दै अस्पतालका मेसु झाले तीनै जनालाई विपक्षी बनाई दोषीलाई कारवाही र आगजनीबाट भएको क्षतिको क्षतिपूर्ति भराइपाउँm भन्दै प्रहरीमा २०७३ भदौं २१ गते जाहेरी दिएका थिए ।


उक्त मुद्दाको सुनावाइका क्रममा अदालतले तिनै जनालाई समन काट्दै अदालतमा उपस्थित हुन आदेश गरेको थियो । तर विपक्षीहरूले अदालतमा उपस्थित नभएको मिसिलबाट देखिएको श्रेस्तेदार ज्ञवालीले बताए ।


‘मुद्दामा सुनुवाइका क्रममा विपक्षीले अटेरी गरी अदालतमा उपस्थित नभएको देखिन्छ,’ उनले भने, ‘जिल्ला अदालतको सुनुवाइका क्रममा प्रतिउत्तर नलगाउने विपक्षीले पुनरावेदन गर्न मिल्दैन ।’ प्रतिउत्तर नलगाउने विपक्षीको हकमा जिल्ला अदालतले ठहर गरेको फैसला नै अन्तिम फैसला हुने कानुनी व्यवस्था छ । तीनै जनालाई यही फैसलाअनुसार कैद सजाय र जरिवाना भर्नुपर्ने जिकिर उनले गरे ।


‘उहाँहरूलाई माथिलो निकाय जानुपर्ने ठाउँ नै छैन,’ उनले भने, ‘अदालतमा अनुपस्थित भएर माथिलो निकायमा जाने बाटो नै बन्द गरिसक्नु भएको छ ।’ अदालतको फैसलालाई कार्यान्वयन गराउन लगत कसेर उहाँहरूबाट कैद सजाय र जरिवाना भराउन प्रक्रिया सुरु भएको उनले जानकारी दिए । मुद्दा जस्तोसुकै भए पनि उहाँहरू अदालतमा उपस्थित भएर प्रतिउत्तर लगाउनु पथ्र्यो । प्रतिउत्तर नलगाएकै कारण उहाँहरू सजायको भागिदार हुनु भएको उनले जिकिर गरे ।


तत्कालीन अवस्थामा प्रहरी प्रशासनसँग भएको व्यक्तिगत रीस इबीका कारण राजनितीक मुद्दालाई व्यक्तिगत मुद्दा बनाइएको आरोप संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पूर्वसभासद कलैया उपमहानगरपालिकाका प्रमोद गुप्ताले लगाए । ‘सबैलाई थाहा छ मधेसमा नाकाबन्दी भएको घटना राजनीति हो,’ उनले भने, ‘राजनीतिक मुद्दालाई व्यक्तिगत बनाउन मिल्छ ?’ आफूहरूलाई नियतवस फसाउन सबैको मिलेमतोमा अदालतबाट यस्तो फैसला भएको उनले गुनासो गरे । मेसु झाले कलैया भरत चोकमा प्रहरीले गोली हानी मारेको मधेसी सहिद कलैया ८ निवासी हिफाजत अन्सारीको शव परीक्षण रिपोर्टमा गलत विवरण तयार गरेपछि आक्रोशित भीडले मेसुको सवारीमा आगजनी गरेको उनले जानकारी दिए ।


‘हिफाजतको छातीमा प्रहरीले ताकेर गोली हानेको थियो,’ उनले भने, ‘तर अस्पतालका चिकित्सकले प्रहरीको बचाउ गर्दै पछाडिबाट गोली लागेको झूटो रिपोर्ट तयार गरेका थिए ।’ यो सूचना बाहिर आएपछि अनियन्त्रत भीडले चिकित्सक झाको सवारीमा आगजनी गरेको उनले जानकारी दिए ।


अहिलेसम्म अदालतमा उपस्थित हुन आफूकहाँ कुनै पत्र नआएको दाबी नेता गुप्ताले गरे । पुख्र्यौली गाउँ बाराको तेतरियाबाट २०६२ माघ ३० मा बसाइँसराइ गरेर आफू कलैया ५ मा स्थायी बासिन्दाका रूपमा बस्दै आएको उनले बताए ।


‘अदालतबाट मेरो घरसम्म आउन पैदल ५ मिनेट पनि लाग्दैन,’ उनले भने, ‘तर उपस्थित हुन अहिलेसम्म पत्र आएको छैन ।’ यो राजनीतिक मुद्दा भएकाले हामीले पनि गम्भीर रूपमा लिएका छैनौं । यो मुद्दा खारेज भएर जाने हो । आन्दोलनको नेतृत्व गरेको मधेसी दलको केन्द्रीय नेताले यो मुद्दा खारेज गराउन चासो लिन पथ्र्यो । तर अहिलेसम्म कसैले चासो नलिएको उनले गुनासो गरे ।

प्रकाशित : कार्तिक १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?